2026 August 25/ 01:54: 22am

    बनेपा/रेयुकाई मासुनागाँ आँखा अस्पतालको आयोजना तथा लायन्स क्लब ईन्टरनेश्नल काठमाडौको सहयोगमा धुलिखेल नगरपालिका भित्र रहेका ६७ जना स्वास्थ्य स्वयसेवीहरुलाई मधुमेहबाट आँखामा हुने अन्धोपना लाग्न नदिने सम्बन्धि तालिम प्रदान गरिएको छ ।
    तालिमको उद्घाटन स्वास्थ्य प्रमुख डा.पुरुषोतम सेढाईले गर्नु भएको थियो । सेढाईले स्वयंसेविकाहरुको समाजमा ठुलो भूमिका रहेको र अझ दुर्गम ठाउँमा त धेरै जनाको ज्यान बचाउन सफल भएको बताउनु भयो । कोरोनाका समयमा, विभिन्न खोप अभियानमा, भिटामिन खुवाने देखी स्वास्थ्यका विभिन्न कार्यक्रममका उहाँहरुको ठुलो भुमिका रहेको डा. सेढाईले बताउनु भयो । तालिम पश्चात स्वयम्सेवीकाहरुलाई अहिले बढ्दै गईरहेका दीर्घ रोग मधुमेहका बिरामीहरुलाई आँखामा हुने अन्धोपना सम्बन्धि सचेतना दिन सहयोग पुग्ने विश्वास गर्नुभयो । कार्यक्रममा धुलिखेल नगरपालिका स्वास्थ्य शाखा प्रमुख सञ्जिव केसी, अस्पतालका प्रमुख हिरामणी शर्मा, प्रशिक्षक बिमल पौड्याल, चेष्टा साप्ताहिकका सह–सम्पादक लक्ष्मण तिमल्सिना लगायतले तालिमको उद्देश्यका बारेमा मन्तब्य राख्नु भएको थियो । 
कार्यक्रममा अस्पतालका प्रमुख हिरामणी शर्माले अस्पतालले कोरोना हुनु भन्दा अगाडि वर्षको ७० वटा शिविर गर्दै आएको त्यसलाई अब निरन्तरता गरिने र प्रत्येक पालिकामा समेत शिविर संचालन गर्दै आएको बताउनु भयो । अस्पतालको नमोबुद्ध नगरपालिकाको भकुण्डेमा, सिन्धुपाल्चोकको खाडीचौरमा सेवा केन्द्र र सिन्धुलीको ढल्के बगरमा शाखा अस्पताल सञ्चालन गरेको शर्माले बताउनु भयो । नाफामूलक भन्दा पनि सेवामुखी भएकाले अस्पताललाई विभिन्न संघ संस्थाको सहयोगमा विरामीहरुलाई गुणस्तरीय सेवा दिन सकिएको अस्पतालका प्रमुख हिरामणी शर्माले जानकारी दिनु भयो ।