बनेपा/बनेपा नगरपालिकाको कृषि शाखाबाट कौसी खेती तालिम प्रदान पछि कौसीमा गर्न सकिने तरकारी खेतीका लागी कम्पोष्ट विन वितरण गरेको छ ।
कम्पोष्ट विन वितरण गर्दै नगर प्रमुख लक्ष्मी नरसिं बादेले भान्साबाट निस्कने कुहिने फोहोरको समेत ब्यबस्थापन हुने र आफुलाई चाहिने तरकारी उत्पादन गर्न सकिने बताउनु भयो । नगरपालिकाले विशेष गरी शहरी क्षेत्र भएका वडाहरु ५, ६, ७, ८, ९ र १० नम्बर वडामा तालिमको ब्यबस्थापन गरी आय आर्जनमा समेत सहयोग पुग्ने उद्देश्यले उक्त तालिम प्रदान गरिएको नगर प्रमुख बादेले बताउनु भयो । तालिम लिने २ सय कृषकहरुलाई कम्पोष्ट विन वितरण गरिएको बादेले बताउनु भयो । उप प्रमुख रेखा सापकोटा दाहालले तालिम अति महत्व भएकाले तालिममा सिकेको कुरालाई ब्यबहारमा उतार्न आग्रह गर्नु भएको थियो । नगरपालिकाले दिएको तालिमले थोरै भए पनि आर्थिक भार कम हुने, स्वच्छ तरकारी उत्पादन हुने, भान्सामा निस्कने कुहिने फोहोरको उचित ब्यबस्थापन हुने उपप्रमुख सापकोटाले बताउनु भयो । नगरका १४ वटै वडामा नगरपालिकाले विभिन्न किसिमका सीपमुलक तालिमहरु प्रदान गरी नगरवासीहरुलाई आत्मनिर्भर बनाउने काम गरेको सापकोटाले बताउनु भयो ।
नगरपालिकाले भौतिक विकास सँगै नगरबासीहरुलाई खुसी र सुखी बनाउन लागिएको र नगर भित्र रहेका आमा बाबुबिहीन बालबालिकालाई मासिक ३ हजार सहित संरक्षण, निःशुल्क आँखाको उपचार, १८ वर्ष मुनिका अपाङ्गता भएका बालबालिकाको निशुल्क उपचार, कृषकहरुलाई कृषि औजार वितरण सँगै तालिम प्रदान, गोठ सुधार, सिपमुलक तालिम प्रदान, स्वास्थ्य चौकी निर्माण गर्दै आएको उपप्रमुख सापकोटाले बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्यले नगरपालिकाको आर्थिक वर्ष ०७७÷७८ को कार्यक्रम अनुसार उक्त कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
कृषि शाखा प्रमुख मुकुन्द केसीले २ सय जनालाई तालिम प्रदान गरिएको र तालिम प्रदान पश्चात कौसी खेतीका लागी मल बनाउनका लागी विन र तरकारीको विउ प्रदान गरिएको बताउनु भयो । कृषि शाखाले समय समयमा कृषि सम्बन्धी तालिम प्रदान गर्दै आएको, तरकारीको विउ वितरण, प्लाष्टिक टनेल, पिठो पिस्ने मेशिन लगायतका कृषि औजारहरु वितरण गर्दै आएको बताउनु भयो । कार्यक्रममा कृषि शाखाका प्राविधिक बच्चु कार्की, कमला हुमागाई लगायतको सहभागिता रहेको थियो ।









