2026 August 22/ 04:27: 11pm

– एमालेले खोल्यो खाता
– युवा र महिला मैत्री, एकताबद्ध एमाले
– गठबन्धनमा किचलो, बागीलाई मनाउने प्रयास
– महिला उम्मेदवार विरोधी गठबन्धन
– रघुवर र कुन्साङले कुटे कार्यकर्ता
– पालिकामा पुनःउम्मेदवार

    धुलिखेल/बैशाख ३० गते हुने मतदानका लागि विभिन्न दल तथा उम्मेदवारहरुले जिल्लाका १३ वटै स्थानीय तहमा उम्मेदवारी दिएका छन् । उम्मेदवार उपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गर्ने तयारीमा जुटिरहेको निर्वाचन आयोगले निर्वाचनका लागि अन्य तयारी अन्तिम चरणमा पुगेको बताएको छ । कर्मचारी छनौट, तालिम, सामाग्री ब्यवस्थापनको कार्यको धमाधम भईरहेको जिल्ला निर्वाचन कार्यालय काभ्रेका जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिनुभयो ।
    ‘उम्मेदवारी दर्ता सँगै उम्मेदवारहरुका बारेमा जाँजबुझ गर्ने, अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम तालिका अनुसार भईरहेको छ’–मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले भन्नुभयो–‘दल र उम्मेदवारलाई निर्वाचन आचार संहिता पालना गर्न अनुरोध गरेका छौं ।’ १३ वटै पालिकाका निर्वाचन अधिकृतहरुले उम्मेदवारी दर्ता लगायतका कार्यक्रमहरु शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएका छन् । निर्वाचन कार्यतालिका अनुसार बैशाख ११ र १२ गते दर्ता भएको उम्मेदवारी विरुद्ध १३ गते उजुरी दिने तालिका थियो । केहि पालिकाका केहि उम्मेदवार बाहेक अन्यत्र उजुरी परेन । हिजो बुधबार र आज विहिबार उजुरी उपर जाँचबुझ गर्ने समयावधी छ । बैशाख १५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते शुक्रबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । बैशाख १७ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह वितरण गर्ने कार्यक्रम रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

एमालेले खोल्यो खाता
    एमालेका तीन प्रतिनिधि सर्वसम्मत चुनिएका छन् । धुलिखेल ६ मा पार्वती विक, खानीखोला १ मा मसली विक र खानीखोला २ मा भगवती विक निर्विरोध भएका हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले बनेपा ८ मा पहिलो पटक एक्लै खाता खोलेको थियो । उक्त वडामा अहिले काँग्रेसबाट पनि उम्मेदवारी दर्ता भएको छ ।

घरदैलो अभियानमा उम्मेदवार
    उम्मेदवारी दर्ता गरेका १३ वटा पालिकाका २ हजार ७ सय ७३ जना उम्मेदवारहरु मध्ये अधिकांश घर दैलो अभियानमा जुटेका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेश राईका अनुसार अध्यक्ष तथा प्रमुख, उपाध्यक्ष तथा उपप्रमुख, वडा अध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरि पनौती नगरपालिकाकामा २ सय ६८, बनेपा नगरपालिकामा ३ सय १६, पाँचखाल नगरपालिकामा २ सय ४१, धुलिखेल नगरपालिकामा २ सय ३७, नमोबुद्ध नगरपालिकामा २ सय २८ र मण्डनदेउपुर नगरपालिकामा २ सय ७६ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै  भुम्लु गाउँपालिकामा १ सय ९३, चौरीदेराली गाउँपालिकामा १ सय ९३, महाभारत गाउँपालिकामा १ सय २६, खानीखोला गाउँपालिकामा १ सय ११, रोशी गाउँपालिकामा २ सय ३५, तेमाल गाउँपालिकामा २ सय ४ र बेथानचोक गाउँपालिकामा १ सय ४५ जना गरि कुल २ हजार ७ सय ७३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
    नेकपा एमालेले जिल्लाका १३ वटै पालिकामा घर दैलो अभियान स्थानीय कमिटीहरुले तय गरेर शुरु गरेको बताएको छ । एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जु दोश्रो पटक धुलिखेल नगरपालिकामा प्रमुख पदमा उम्मेदवार हुनुहुन्छ । उहाँ नेपाल नगरपालिका संघको अध्यक्ष र अन्तर्राष्ट्रिय संघमा पनि अध्यक्ष हुनुहुन्छ । सबै उम्मेदवार घर दैलोमा सहभागी हुनु भएको उप–सचिव राजकुमार सापकोटाले जानकारी दिनुभयो । नेपालमै नमूना नगरपालिकाका रुपमा चिनिएको धुलिखेललाई अझै अन्तराष्ट्रिय क्षेत्रमा चिनाउँदै समृद्ध धुलिखेलका लागि अध्यक्ष ब्याञ्जुलाई पुनः उम्मेदवारी दिने पार्टीले निर्णय गरेको पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले बताउनु भयो । पाँच वर्षको अवधीमा शुन्य कार्बन उत्सर्जनको क्षेत्रमा धुलिखेलले विश्वका १५ शहरमा पार्न सफल भएको छ भने गुणस्तरीय खानेपानी, पार्कहरुको शहर, गरिबी न्यूनिकरण भएको शहर, बालमैत्री शहर, स्नातक सम्मको शिक्षा निःशुल्क भएको शहरका रुपमा समेत स्थापित गरेको छ । दिगो विकासका लागि पुरा गर्नुपर्ने लक्ष्यहरु मध्ये ४ वटा लक्ष्य धुलिखेलले पुरा गरिसकेको छ भने स्वस्थ शहरको अभियान नेपालमै पहिलो पटक शुरु गरेको छ । ‘महत्वपूर्ण योजनाका साथ धुलिखेलको समृद्धतालाई अझै अन्तर्राष्ट्रियकरण गरी नागरिकहरुको आय आर्जन बृद्धि गर्न थप पहल हुनेछ’–नगर प्रमुख उम्मेदवार अशोक ब्याञ्जुले भन्नुभयो–‘हिजोको केहि क्रमागत योजनाहरुको निरन्तरता र थप नयाँ योजनाहरुले धुलिखेलको समृद्धतालाई अगाडी बढाउने छौं ।’
    धुलिखेलमा उपप्रमुख युवा नेता कानून ब्यवसायी लालतारा अधिकारीले प्राप्त गर्नु भएको छ । पनौतीमा भिम न्यौपाने र गिता बञ्जारा पुरानै पदमा दोहोरिनु भएको छ । उहाँहरुलाई पार्टीले क्रमशः प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । बनेपामा युवा नेता रत्नकुश रञ्जित र कानून ब्यवसायी सामाजिक ब्यक्तित्व विमला सापकोटालाई टिकट दिने निर्णय गरेको छ । यसअघि प्रमुख र उपप्रमुख हुनु भएका लक्ष्मीनरसिं बादे र रेखा सापकोटा दाहालले पुनः उम्मेदवार हुने इच्छा राख्नु भएन । पाँचखालमा युवा नेताहरु कञ्चन अधिकारी र सुर्यमाया दनुवारलाई टिकट दिएको छ । दनुवार पत्रकारितामा कृयाशिल हुनुका साथै र सामाजिक अभियन्ता हुन् । पाँचखालमा यसअघि एमालेले झिनो मतले पराजय ब्यहोरेको थियो । मण्डन देउपुर नगरपालिकामा विदुर प्रसाद सापकोटा र सरिता ढकाललाई टिकट दिएको छ । सापकोटा यसअघि २०५४ सालको स्थानीय निकायको निर्वाचनमा जैसिथोक गाविसका अध्यक्ष हुन् । ढकाल देउपुर क्षेत्रमा राम्रो पकड भएकी नेता हुन् । मण्डन देउपुर नगरपालिकामा एमालेले विजयी हासिल गरेको थियो । नमोबुद्ध नगरपालिकामा एमाले जिल्ला सचिव राजन भुर्तेल प्रमुख र विद्यार्थी नेता सम्झना तामाङले उपप्रमुखको टिकट पाएका छन् ।
    बेथान्चोक गाउँपालिकामा कानून ब्यवसायी एवं २०५४ सालमा गाविस अध्यक्ष पदका उम्मेदवार कमल तिमल्सिना र सरला लामिछानेलाई अध्यक्ष र उपाध्यक्ष पदको टिकट दिएको छ । रोशी गाउँपालिकामा कानुन ब्यवसायी एवं युवा नेता देवसागर लामा र यसअघि उपाध्यक्ष पदमा उम्मेदवार भई झिनो मतले पराजय ब्यहोरेकी सामाजिक ब्यक्तित्व बबिता बोहोरालाई टिकट दिएको छ । तेमालमा यसअघि पार्टीका जिल्ला सचिव भएका इन्द्र तामाङ र सम्तेन लामालाई टिकट दिएको छ । भुम्लुमा जिल्ला समन्वय समितिका प्रवक्ता समेत रहेका ब्यवसायी युवा नेता प्रेम लामा र कल्पना श्रेष्ठलाई टिकट दिएको छ । चौरीदेउराली गाउँपालिकामा सामाजिक संस्थाका अन्तर्राष्ट्रिय स्तरका नेता जितराम लामा र बबिता खरेललाई टिकट दिएको छ । खानीखोला गाउँपालिकामा शेखर लामा र रुकमणी गुरुङ्गलाई टिकट दिएको छ । गुरुङ्ग यसअघि गाउँपालिकाको उपाध्यक्ष हुन् । महाभारत गाउँपालिकामा पूर्णबहादुर वाईवा र शान्ति तितुङ्ग मगरलाई टिकट दिएको छ । दुबै जना पूर्व माओवादीबाट एमालेमा प्रवेश गरेका हुन् । एमाले उप–सचिव राजकुमार सापकोटाले युवा, महिला र समावेशी रुपमा उम्मेदवार छनौट गरेको एकताबद्ध भएको बताउनु भयो ।

गठबन्धनमा महिला आउट
    नेपाली काँग्रेसले १३ वटा मध्ये ७ वटा पालिकामा प्रमुख र ६ वटा पालिकामा दोश्रो तहको नेतृत्व पाएको छ । बनेपा, पनौती, पाँचखाल र नमोबुद्धको प्रमुख काँग्रेसले पाएको छ भने धुलिखेल र मण्डन देउपुर नगरपालिकामा समाजबादीले पाएको छ । माओवादीले नगरपालिकामा अवसर पाएन । त्यस्तै काँग्रेसले बेथान्चोक, रोशी र तेमालमा अध्यक्ष पदमा उम्मेदवारी दिएको छ भने माओवादीले भुम्लु, महाभारत, चौरीदेउराली र खानीखोलाका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएको छ । यसअघि काँग्रेसले ४ वटा, माओवादीले दुईवटा र एमालेले ७ वटा पालिकामा विजय हासिल गरेको थियो । जिल्लामा रहेको समाजवादीले कुनै गाउँ पालिकामा प्रमुख पदको उम्मेदवार बन्ने अवसर प्राप्त गरेन ।
    नेपाली काँग्रेसले उठाउँदै आएको समावेशी नारा पानीको फोका जस्तै भएको छ । १३ सिटमा काँग्रेसले कोहि महिला उम्मेदवार पाउन सकेन । लोकतन्त्र र समावेशीको नारा घन्काउने नेपाली काँग्रेस र नेकपा समाजवादीले कुनै पनि पालिकामा प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदमा महिलाहरुलाई उम्मेदवारी दर्ता गर्न दिएन । माओवादीले भने चौरीमा अध्यक्ष रुकु चौलागाई र बेथान्चोकमा तारा तिमल्सिनालाई उम्मेदवार बनाए पनि बेथान्चोकमा अध्यक्ष र उपाध्यक्ष पदमा सिफारिस एउटै ब्यक्तिलाई गरिएको भन्दै बागि उम्मेदवारी दर्ता गरिएको छ । कतिसम्म भने नेपाली काँग्रेस र नेकपा समाजवादीले बनेपामा दुबै उम्मेदवार पुरुष बनाए । त्यो पनि एउटै वडाबाट प्रमुख र उपप्रमुख । बनेपा ७ बाट एउटै समुदायबाट उम्मेदवार बनाए पछि बजार बाहिरका काँग्रेस र समाजवादीका साथै अन्य समुदायको प्रतिनिधित्व गर्ने कार्यकर्ताहरु रुष्ट भएका छन् । टिकटकै लागि समाजवादीका नेताहरु बीच सडकमै कुटाकुट भएको थियो । पनौतीमा समाजवादीका नेता मिरा पौडेललाई उपप्रमुख पदमा उम्मेदवारी दिने सहमति गरे पनि अन्तिममा पुरुष छविलाल हुमागाईलाई टिकट दिएर काँग्रेस नेता शिव हुमागाईले खेलेको आरोप लागेको छ । समाजवादी र काँग्रेस दुबै पनौतीमा हुमागाईले चलाईरहेको नेताहरुले बताएका छन् । एमाले उम्मेदवार भिम न्यौपाने बलियो भएका कारण माओवादी समेतलाई साथमा लिएर काँग्रेस नेता हुमागाईले अन्तिम धक्का दिने प्रयास गरेका छन् । संगठन बलियो भएको एमालेका लागि उनले सोचेजस्तो सजिलो नभएकाले एमाले कार्यकर्ताहरु ढुक्क छन् ।

पालिकामा पुनःउम्मेदवार
    धुलिखेलमा एमाले अध्यक्ष अशोक ब्याञ्जु, पनौतीमा भिम न्यौपाने र उपप्रमुख गिता बञ्जारा, खानिखोलामा उपाध्यक्ष रुकमणी गुरुङ्ग बाहेक एमालेले अरु जनप्रतिनिधिलाई दोहोरिने अवसर दिएन । नेपाली काँग्रेसले पाँचखालका प्रमुख महेश खरेललाई बाहेक अन्य प्रतिनिधिलाई दोहोरिने अवसर दिएन । माओवादीले पनि महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बालाई बाहेक अरुलाई दोहोरिन दिएन । प्रमुख र उपप्रमुख पदमा ६ जना मात्रै दोहोरिएका छन् । वडा अध्यक्षहरु धेरै दोहोरिएका छन् ।

रघुवर र कुन्साङले कुटे कार्यकर्ता
    नेकपा समाजवादीका नेता बनेपा नगरपालिका उपप्रमुख पदका उम्मेदवार रघुवर चौ प्रधानले वडा अध्यक्ष पदका उम्मेदवार सचितानन्द केसीलाई रेडक्रस कार्यालय अगाडि सडकमै कुटेका छन् । केसीले पनि चौ प्रधानलाई मुख छाडेर चड्कन लगाए पछि रमिता देखिएको थियो । भेषराज शाहलाई उपप्रमुख बनाउने विषयमा झगडा भए पछि चौ प्रधानले चड्कन हानेका थिए । पछि प्रधानकै नाममा सहमति जुटेको थियो । काभ्रे क्याम्पसमा लफडा गरेका केसी र रेडक्रसमा रहँदा अकुत सम्पति आर्जन गरेको अभियोग लागेका चौ प्रधानलाई काभ्रे क्याम्पसका प्रमुख एवं हाल नेपाली काँग्रेस बनेपाका उम्मेदवार शान्तिरत्न शाक्यका स्वघोषित प्रवक्ता केजी बयदार चर्काे समर्थनमा उत्रेका छन् । क्याम्पसका अध्यक्ष लम्बोदर कायस्थ र केजी बयदारलाई पदबाट राजिनामा दिएर राजनीति गर्न विद्यार्थीहरुले खुल्ला चुनौती दिएका छन् । निर्वाचन पछि बयदारसँग हिसाब किताब हुने चेतावनी विद्यार्थीले दिएका छन् ।
    उता काँग्रेसबाट नमोबुद्ध नगरपालिकामा प्रमुख पदका उम्मेदवार कुन्साङ लामाले कार्यकर्ता रोशन पाण्डेलाई कुटेका छन् । कुटेरै राज गर्ने योजनामा रहेका लामालाई मत दिन उनकै कार्यकर्ता डराईरहेका छन् । सोहि पालिकामा भक्तपुरको गोठाटारमा बालकलाई गोली हानी हत्या गर्ने नेकपा माओवादी केन्द्रका रत्न लामा उपप्रमुख पदका उम्मेदवार भएका छन् । गठबन्धनबाट उठाईएका प्रमुख र उपप्रमुख दुवैका कारण मतदाताहरुले त्रसित हुने वातावरण सिर्जना भएको भन्दै असन्तुष्टि ब्यक्त गर्न थालेका छन् ।

महिलाले गर्दैछन् प्रतिस्पर्धा
    जिल्लामा केहि महिलाहरुले अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । नेकपा माओवादी केन्द्रबाट रुकु चौलागाई, चौरीदेउराली गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिएकी छिन् भने एमालेबाट निर्मला तामाङले बनेपा १४ को अध्यक्ष पदमा उम्मेदवारी दिएकी छिन् । धुलिखेल नगरपालिका वडा नम्वर ८ बाट गिता तामाङले उम्मेदवारी दिएकी छिन् । मण्डनदेउपुर नगरपालिका वडा नम्वर ९ मा अम्बिका हमालले उम्मेदवारी दिएकी छिन् बनेपा ८ मा वडा अध्यक्ष पदमा काँग्रेसले शुभलक्ष्मी मानन्धरलाई उम्मेदवार बनाएको छ । स्वतन्त्र र केहि साना दलहरुबाट महिलाहरुले उम्मेदवारी दिएका छन् ।
   गठबन्धनमा खटपट
    नेकपा एमालेका उम्मेदवारसँग एक्ला एक्लै लड्ने साहस नभएका सत्ता निकट दलहरुको गठवन्धनका कारण आफ्नै घर भित्र आगो लागेको छ । सल्किएको आगोलाई निभाउने प्रयास भए पनि मन मिल्न सकेको छैन । त्यसको असर कार्यकर्ताहरुले निर्वाचनमा देखाउने घोषणा गरेका छन् । सशस्त्र युद्धमा माओवादीबाट लखेटिएका कार्यकर्ताहरुले समेत माओवादीलाई भोट हाल्न उर्दि गरे पछि, ३ सय जनमत नभएको पार्टीका नेतालाई प्रमुख र उपप्रमुख दिए पछि असन्तुष्ट बनेका कार्यकर्ताहरुले नेतृत्वलाई खुल्ला चुनौती दिएको छ ।
    बनेपामा टिकट निश्चित भएर आयोगबाट राजिनामा दिएर आएका काँग्रेस नेता प्रचण्डमान प्रधानको टिकट अन्तिममा खोसियो । महामन्त्री समेत रहेका कञ्चन बादेले गोजिको ब्यक्ति भन्दै शान्तिरत्न शाक्यलाई टिकट दिए पछि यस अघि राम जोशीलाई हराउन लागेका शाक्य निकटका नेता कार्यकर्ता उत्साहित भएका छन् । जोशीलाई यो पटक पनि घात भएको भन्दै इमान्दार कार्यकर्ता रुस्ट भएका छन् । सरस्वती बैद्य जसले काँग्रेस बचाउने अभियानमा सक्रिय भएकी थिईन् । महिलालाई टिकट नदिएपछि उनको पनि आक्रोश छ । धुलिखेलमा नेपाली काँग्रेसका सभापति विदुर बस्नेतले स्वतन्त्रबाट प्रमुख पदमा उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेस वडा नम्वर १२ का माधव श्रेष्ठ सहितले संयुक्त रुपमा पार्टी परित्याग गरेको बताएका छन् । बस्नेतको उम्मेदवारी फिर्ता लिन लगाउन काँग्रेस नेताहरुले चेतावनी दिएका छन् । ५ सय भोट भएको समाजवादीलाई प्रमुख दिएको भन्दै काँग्रेस भित्र बढेको असन्तुष्टि साम्य भएको छैन । साम्य हुने अवस्था पनि छैन । सामुहिक राजिनामा दिएको काँग्रेसका धुलिखेलका पदाधिकारीहरुले राजिनामा फिर्ता लिएका छैनन् । भुम्लुमा पनि त्यस्तै असन्तोष देखिएको छ ।
    खानीखोलामा नेपाली काँग्रेसका गोपाल दर्लामीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । खानीखोलामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रलाई अध्यक्ष पदमा समर्थन गर्ने निर्णय गरेको थियो । माओवादीका इन्द्रबहादुर थिङ्गले अध्यक्षमा उम्मेदवारी दिएका छन् भने माओवादीबाट स्वतन्त्रमा इन्द्रबहादुर थिङ्गकै श्रीमती मिना पाख्रिनले अध्यक्ष पदमा उम्मेदवारी दिएकी थिईन् । माओवादी केन्द्रका कुमार तिमल्सिनाले बेथान्चोकमा बागि उम्मेदावारी उपाध्यक्ष पदमा दर्ता गराए । बेथान्चोकमा नेपाली काँग्रेसका विनोद तिमल्सिना, गणेशप्रसाद तिमल्सिना लगायतले सक्रिय राजनीति त्यागेको घोषणा गरेका छन् । गठबन्धनमा रहेको काँग्रेसले प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी २६ वटा पद मध्ये १३ वटामा भाग पाएको छ । ७ वटा तहमा प्रमुख तथा अध्यक्ष र ६ वटा तहमा उपप्रमुख तथा उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको छ । माओवादी केन्द्रले बनेपा, पनौती, मण्डन देउपुर र धुलिखेलमा उम्मेदवारी नै दर्ता गर्न पाएन । उसको जनमत शुन्य देखियो । चारवटा तहमा अध्यक्ष पदमा उम्मेदवारी दिएको माओवादीले  ५ वटा तहमा उपाध्यक्ष तथा उपप्रमुख पदमा उम्मेदवारी दिएको छ । भर्खरै जन्मिएको समाजबादीले दुईवटामा प्रमुख र दुईवटामा उपप्रमुखको उम्मेदवारी दिएको छ त्यो पनि पुरुष मात्रै । महिला नेतृ मिरा पौडेल शिक्षकबाट राजिनामा दिएर उपप्रमुख उठ्ने तयारीमा रहेकी थिईन् । छवि हुमागाईलाई उपप्रमुख बनाए पछि महिला दास मात्रै भएको भन्दै फेसबुकमा असन्तुष्टि पोखेकी छिन् ।

सक्रिय पत्रकार बने उम्मेदवार
    नेपाल पत्रकार महासंघ काभ्रेकी सदस्य एवं केन्द्रीय पार्षद् सुर्यमाया दनुवारले पाँचखाल नगरपालिकाको उपप्रमुख बन्ने अवसर पाएकी छिन् । नेकपा एमालेबाट उनी उम्मेदवार बनेकी हुन् । त्यस्तै महासंघका पूर्व सह–सचिव मधुसुदन तिमल्सिना नेपाली काँग्रेसको तर्फबाट बेथान्चोक १ मा वडा अध्यक्षका उम्मेदवार बनेका छन् भने मण्डन १ मा माओवादी केन्द्रबाट रामप्रसाद ढकालले उम्मेदवारी दर्ता गर्नु भएको छ । भुम्लु ६ मा क्रान्ति लामाले नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । महासंघका सदस्य भएका दनुवार र तिमल्सिना दुबैले राजिनामा दिनु पर्ने छ । नभए स्वतः सदस्यबाट हट्ने महासंघ केन्द्रीय समितिले परिपत्र गरेको छ ।