2026 August 22/ 04:27: 15pm

धमाधम शिविर, नागरिक लाभान्वित
    बनेपा/बनेपामा रहेको कम्युनिटी वेलनेस सेन्टर र बनेपा डाईग्नोस्टिक ल्याबोरेटरी एण्ड रिसर्च सेन्टर बनेपाले विभिन्न संस्थाहरुसँगको समन्वयमा विभिन्न क्षेत्रमा निशुल्क स्वास्थ्य शिविरलाई प्राथमिकतामा राखी नागरिकहरुलाई सेवा प्रदान गरिरहेको छ । 
    पनौतीमा पनौती पर्यटन विकास केन्द्र, पनौती सोसाईटी ग्रुपको संयोजनमा कम्युनिटी वेलनेस सेन्टर र बनेपा डाईग्नोस्टिक ल्याबोरेटरी एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा चैत्र २८ देखि बैशाख १ गतेसम्म तीन दिने प्राथमिक स्वास्थ्य शिविर आयोजना गरिएको थियो । पहिलो दिन १ सय ७० जनाले सेवा लिएका थिए भने दोश्रो दिन ६७ जना गरी २ सय ३७ जनाले सेवा लिएका थिए । तेश्रो दिन पनि एक सय भन्दा धेरैले सेवा लिएको प्रवन्ध निर्देशक दिपेश ताम्राकारले जानकारी दिनु भयो । निशुल्क सुगर परिक्षण, प्रेसर तथा अन्य स्वास्थ्यका बारेमा प्राथमिक स्वास्थ्य सेवामा जानकारी गराईएको थियो । 
    बैशाख ३ गते शनिबार काभ्रे नित्य चण्डेश्वरमा विहान ९ बजे देखि साधारण दाँत परिक्षण देखि दाँतमा देखिएका अन्य समस्याहरुको बारेमा शिविरको आयोजना गरिएको छ । निशुल्क फिजियोथेरापी सेवा, ल्याव तथा आँखा जाँचका साथै रक्तचाप परिक्षण, मुटुको धडकन, श्वासप्रश्वास परिक्षण गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी धुलिखेल ९ शाखा, काभ्रे भन्ज्याङ युवा क्लव लगायतका विभिन्न संघ संस्थाहरुले उक्त शिविरको आयोजना र ब्यवस्थापन गरेका थिए । कम्युनिटी वेलनेस सेन्टर र बनेपा डाईग्नोस्टिक ल्याबोरेटरी एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोग रहेको प्रवन्ध निर्देशक दिपेश ताम्राकारले बताउनु भयो । 
    २०७८ चैत्र २० गते विन्ध्यबासिनी बचत तथा ऋण सहकारी संस्थासँगको आयोजनामा सुप्रिम डेन्टल केयर प्राली, रुबी आई केयर एण्ड अप्टिकल सेन्टरको प्राविधिक सहयोगमा ६५ औ सहकारी दिवसको अवसर पारी निशुल्क शिविर आयोजना गरेको थियो । सोहि शिविरमा २ सय ३ जनाले सेवा लिनु भएको थियो । जसमा ८४ जना पुरुष र १ सय १९ जना महिला थिए । ग्रेस ल्याण्ड विद्यालय साँगाका कक्षा ९ र १० मा अध्ययनरत ६६ विद्यार्थीहरुले पनि सेवा लिएका थिए । बनेपा डाईग्नोस्टिक ल्यावका प्रवन्ध निर्देशक दिपेश ताम्राकारका अनुसार घुँडा, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या भएका, ग्यास्ट्रिक, पिसाव सम्वन्धी समस्या भएका ब्यक्तिहरुले सेवा लिएका थिए । १ सय १७ जनाले सुगर परिक्षण गरएका थिए भने पाँच जनाको विग्रेको दाँत निकालिएको थियो । आँखा परिक्षणको क्रममा सामान्य अवस्थामा पनि आँखा चिलाउने र सुख्खा हुने समस्याहरु देखिएको थियो । जिरी अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. देवेन्द्र गौतमले शिविरमा सहभागि भएका औषधी आवश्यक हुने विरामीहरुलाई निशुल्क औषधी उपलब्ध गराउनु भएको थियो ।