– प्रविधि र नागरिकमैत्री बन्ने अठोट
धुलिखेल/नेपालको जग्गा प्रशासनमा पोता रजिष्ट्रेशनको रुपमा पहिलो लिखत पारित भएको एक सय वर्षको इतिहासलाई सम्झँदै देशभरका मालपोत कार्यालयहरुले आधुनिक, प्रविधि र नागरिक मैत्री सेवा प्रदान गर्ने अब्बल कार्यालयको रुपमा परिचित हुने अठोट गरेका छन् । मालपोत कार्यालय काभ्रेपलाञ्चोकलाई २०३५ साल बैशाख १ गते देखि जिल्लाभर कार्यक्षेत्र रहने गरी मालपोत ऐन २०३४ अनुसार कार्य गर्ने जिम्मेवारी प्रदान गरेको थियो ।
‘मालपोत र नापी कार्यालयले जिल्ला भित्र रहेका नीजि, सार्वजनिक र सरकारी सबै जग्गाको ब्यवस्थापन तथा संरक्षण र सुरक्षा गर्नु पर्छ’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘मालपोत कार्यालयमा काम गर्ने केहि कर्मचारीको स्वार्थका कारण सबै कर्मचारी र कार्यालयको सेवा त्यस्तै हो कि ? भन्ने विगतमा भए पनि अहिले त्यस्तो छैन र हुनु पनि हुँदैन ।’ मालपोत कार्यालयको सेवालाई प्रभावकारी बनाउन कार्यालय एक्लैको प्रयासले सम्भव नभएको बताउँदै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सरोकारवाला निकाय र सेवाग्राहि आफै पनि जिम्मेवार हुनु पर्ने बताउनु भयो । सेवालाई अझै प्रविधिमैत्री बनाउन गुणस्तरमा ध्यान दिन अनुरोध गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले राष्ट्रिय परिचयपत्र अनिवार्य हुने गरी सरकारले लिखत पारित गर्ने ब्यवस्था गर्दै गरेको बताउनु भयो ।
मालपोत कार्यालय काभ्रेपलाञ्चोकले आयोजना गरेको लिखत पारितको शतबार्षिकीको अवसरमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै मालपोत कार्यालय काभ्रेका प्रमुख मालपोत अधिकृत नविन किशोर अधिकारीले एकद्धार प्रणालीको सफल कार्यान्वयनका लागि भवनको पुर्नसंरचना, डिजिटल टोकन प्रणाली, सबै स्थानीय तहमा भूसेवा केन्द्र संचालन, एक कर्मचारी एक कम्प्युटर विधी, स्थानीय तहका कर्मचारीलाई जग्गा प्रशासन सम्वन्धी अभिमुखिकरण लगायतका कार्यहरु शुरु गरिने बताउनु भयो । दक्ष जनशक्ति र प्रविधिमैत्री कर्मचारीको ब्यवस्थापनका लागि प्रयास भएको बताउँदै प्रमुख अधिकारीले भन्नुभयो–‘भूमिसुधार अन्र्तगत तामेली÷अभिलेखहरु पुराना र झुत्रा भएकाले खोजी गर्न समस्या भएको, बजेट अभावमा मोठ श्रेस्ता ब्यवस्थापनमा समस्या भएको, भौतिक पुर्वाधारको कमी भएको, नेटवर्क र सर्भर ढिलो भई कार्यमा बाधा हुने गरेको लगायतका समस्या छन् ।’ स्थानीय तह र संचारकर्मीहरु मार्फत नागरिकहरुलाई अझै सेवामैत्री बनाउन पहल कदमी गर्ने र सुचना सम्प्रेषणमा सहजता अपनाउने गरी कार्य शुरु गरिएको प्रमुख मालपोत अधिकृत नविन किशोर अधिकारीले बताउनु भयो ।
कार्यक्रममा नापी कार्यालय काभ्रेका प्रमुख राम विनय सिंह यादवले घाम लाग्दा मात्रै काम गर्नु पर्ने अवस्थाबाट डिजिटल युगमा प्रवेश गरेको बताउनु भयो । नमोबुद्ध नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राजन पौडेलले स्थानीय तहको प्रमुख राजश्वको श्रोत मालपोत कार्यालयलाई ब्यवस्थित बनाउन स्थानीय सरकार तयार रहेको बताउनु भयो । नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले मालपोत कार्यालयको सुधारिँदो अवस्थालाई अझै प्रभावकारी बनाउँदै लैजानु पर्ने बताउनु भयो । नेपाल लेखापढी कानुन ब्यवसायी एशोसिएसन काभ्रेका अध्यक्ष रोशन श्रेष्ठले श्रेस्ताहरुको भरपर्दाे ब्यवस्थापन हुनु आवश्यक रहेको बताउनु भयो । मालपोत अधिकृत गंगाप्रसाद पोखरेल, कम्प्युटर अपरेटर रामभक्त हुमागाईले जग्गा प्रशासनमा भुसेवाको पछिल्लो ब्यवस्थापनका बारेमा जानकारी गराउनु भएको थियो ।
राजश्व दोब्बर
मालपोत कार्यालय काभ्रेपलाञ्चोकले चालु वर्षको ७ महिनामै लक्ष्य भन्दा धेरै राजश्व असुली गरेको छ फागुन मसान्तसम्म १ अर्ब ७२ करोड ४६ लाख ६ हजार रुपैया संकलन गरेको छ । २० हजार ८ सय ४१ लिखत पास गरेको मालपोतले ६ हजार ५३ वटा लिखतमा ९ करोड ३८ लाख ३ हजार ९ सय ५५ छुट दिएको छ । संकलित राजश्व पुँजीगत लाभकर बापत ८० करोड ६ लाख ९२ हजार ८ सय ७८, अग्रिम आयकर ३ करोड २० लाख ६२ हजार ८ सय ७५, अन्य राजश्व १ लाख ४१ हजार ७ सय रकम संघ सरकारको खातामा जम्मा भएको छ भने रजिस्ट्रेसन शुल्क बापत संकलित राजश्व ९० करोड १३ लाख ९३ हजार संकलन भएको छ । उक्त रकम ४० प्रतिशत प्रदेश सरकारको खातामा जम्मा हुन्छ भने ६० प्रतिशत स्थानीय खातामा जम्मा हुनेछ । अघिल्लो वर्ष ग्रामीण क्षेत्रमा १ हजार ६ सय ४७ वटा लिखत र शहरी क्षेत्रमा ३ हजार ४ सय १८ वटा गरी ३६ हजार २ सय ६५ वटा लिखत पास भएका थिए । अघिल्लो आर्थिक वर्षको अन्त्यमा जिल्लामा १ अर्ब २२ करोड ६१ लाख १३ हजार राजश्व संकलन गरेको थियो । जसमध्ये लाभकर ४६ करोड २० लाख ५ हजार, अग्रिम आयकर २ करोड १८ लाख र रजिष्ट्रेशन दस्तुर बापत ७४ करोड १७ लाख रकम जम्मा भएको थियो ।









