2026 August 22/ 04:27: 13pm

    धुलिखेल/स्थानीय तहको निर्वाचनका लागि आवेदन माग गरिएका म्यादी प्रहरीको तालिम बुधबारबाट सकिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले आवेदन दिएका ३ हजार १ सय ७३ जना मध्ये १ हजार १ सय ११ जना छनौट गरी तालिम प्रदान गरेको थियो । 
    चैत्र २८ गते देखि शुरु गरिएको १० दिने तालिम अवधीमा भएका तनाव तथा थकाई विर्सेर निर्वाचनमा खटिन प्रहरीले सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । ‘योग्यता, क्षमता र विगतको अनुभवका आधारमा छनौट गरिएका ब्यक्तिहरु तालिममा सफल भएका छन्’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘सक्षम र योग्य भएर नेपाल प्रहरीको दाहिने हात बनेर निर्वाचन सफल बनाउन, अमर्यादित ब्यवहार नगर्न, गोपनियता कायम राखी निर्वाचनलाई मर्यादित, भयरहित वातावरणमा सम्पन्न गर्ने नेपाली प्रहरीको योजनामा समन्वय गर्न निर्देशन दिन्छु ।’ ब्यक्ति भित्र भएका अद्भुत क्षमतालाई तालिम अवधीमा पनि प्रस्फुटन गर्ने वातावरण तयार गरी तालिमको समापनमा सबैलाई खुशी साथ कार्यक्षेत्रमा खटाउने प्रहरी कार्यालयको निर्णयमा सबै म्यादी प्रहरी रमाएका थिए । सांस्कृतिक कार्यक्रममा सबै म्यादी प्रहरी छमछमी नाचेका थिए । सिमसिम पानीका बाबजुत तालिम सकिएको खुशियालीमा उनिहरु नाचेका थिए । 
    ‘तालिम भर अनुशासित भएर सैदान्तिक, ब्यवहारीक र कवाज (प्रयोगात्मक) प्रशिक्षणमा सहभागि भएकोमा धन्यवाद दिन्छु’–प्रहरी प्रमुख एसपी चक्रराज जोशीले भन्नुभयो–‘निर्वाचन पूर्व, निर्वाचन अवधी र निर्वाचन सम्पन्न भए पछि पुरा गर्नु पर्ने जिम्मेवारीका बारेमा तालिम अवधीमा सिकाईएको प्रशिक्षण ब्यवहारमा निश्पक्षका साथ कार्यान्वयन गर्न अनुरोध गर्दछु ।’ सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले जिल्ला सुरक्षा समितिले तयार गरेको स्थानीय तह निर्वाचन सुरक्षा रणनीति २०७९ अनुसार म्यादी प्रहरीलाई दिएको जिम्मेवारी इमान्दारीताका साथ पुरा गर्न अनुरोध गर्नु भयो । पाँचखालमा २ सय ८१, बनेपामा ३ सय २५, पनौतीमा २ सय १३, भकुण्डेमा २ सय १३, धुलिखेलमा ५ सय ८ जनालाई तालिम दिईएको प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले जानकारी दिनुभयो । सरकारले तोकेको मापदण्ड अनुसार निर्वाचनमा आवश्यक पर्ने भिड नियन्त्रण, मतदाता, मतदान स्थलको सुरक्षा, मतपेटिका, मतगणना स्थलको सुरक्षाको बारेमा जानकारी गराईएको डिएस्पी खतिवडाले जानकारी दिनुभयो । 
    म्यादी प्रहरीका लागि सबै भन्दा धेरै पनौतीबाट २ सय २१ जनाले आवेदन दिएका थिए । धुलिखेलबाट १ सय ८९, पाँचखालबाट १ सय ५४, बनेपा १ सय ४७, बेथान्चोक १ सय १६, नमोबुद्ध १ सय १२, मण्डन १ सय ११, चौरीदेउराली ५८, खानिखोलामा ६४, रोशी ७७, भुम्लु ५९, महाभारत ६०, तेमाल २९ र अन्य जिल्लाका २ सय ४ जना थिए । तालिममा सहभागि प्रशंशा चौलागाई र शुशिलकुमार कार्कीले तालिमले अनुशासित हुन सिकाएको बताए । ‘अहंमता भुलेर अनुशासन, संगठन र अनुशासित हुने अवसर प्रदान ग¥यो’– शुशिलकुमार कार्कीले भन्नुभयो–‘प्रहरी देखि त्रसित हुने वातावरण मात्रै हटेन प्रहरीले महिलामैत्री ब्यवहार गरेकोमा खुशी छौं ।’ 

सेना बाहेक ३०९३ सुरक्षाकर्मी
    स्थानीय तहको निर्वाचनका लागि जिल्लाका १३ वटा पालिकामा तोकिएका १ सय ८९ वटा मतदान स्थल र ३ सय ८१ मतदान केन्द्रका लागि ३ हजार ९३ जना सुरक्षाकर्मी खटिने भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले म्यादी प्रहरी १ हजार ६ सय ११, जनपथ प्रहरी ९ सय ७९, शसस्त्र ४ सय ३ जना गरी ३ हजार ९३ जना खटिएका छन् । नेपाली सेनाको नियमित गस्ति रहनेछ । जिल्ला सुरक्षा समितिले जिल्लाका विभिन्न भागलाई अति संवेदनशिल, संवेदनशिल र सामान्य अवस्थाको बर्गिकरण गरेको छ ।