– जोगाउन धौ–धौ
धुलिखेल/मालपोत कार्यालय काभ्रेपलाञ्चोकले स्थान अभावका कारण श्रेस्ताहरु ब्यवस्थित गर्न सकेको छैन । श्रेस्ताहरु जिर्ण हुँदै गए पछि त्यसको ब्यवस्थापनका लागि प्रयास गरेको भए पनि मालपोत कार्यालय काभ्रेपलाञ्चोकले स्थान अभाव देखाउँदै श्रेस्ता ब्यवस्थित गर्न नसकेको हो ।
‘स्थान अभाव छ, श्रेस्ता जोगाउनै मुस्किल भयो’–मालपोत कार्यालय काभ्रेका प्रमुख मालपोत अधिकृत नविन किशोर अधिकारीले भन्नुभयो–‘१९८५ साल देखिका श्रेस्ताहरुलाई जोगाउन कठिन भएको छ । नागरिकको सम्पतिको संरक्षणका साथै सार्वजनिक, सरकारी, ऐलानी, पर्ति, बुट्यान, भिर पाखो भनि उल्लेख भएका जमिनहरुको श्रेस्ता समेत जोगाउन गाह्रो भयो ।’ मालपोत कार्यालयमा फेला परेका १९८५ सालका श्रेस्ताहरुको संरक्षण मृगको छाला भएको कभर राखेर गरिएको छ । त्यसभित्र लेखिएका नेपाली कागजका अक्षर पनि प्रस्ट छन् । ‘पुरानो भवन हुँदा ट्याङ्का, सन्दुस र काठका दराजमा सुरक्षित गरिएको थियो’–कार्यालय सहयोगी श्रीहरी महतले भन्नुभयो–‘नयाँ भवन बनेसँगै ¥याकमा राख्ने योजना बन्यो, अहिले लथालिङ्ग छ । पुरानो श्रेस्ता खोज्न आउँदा भगवान भरोसा भन्नु परेको छ ।’
मालपोत कार्यालय काभ्रे अनलाईन प्रविधिमा गएको छ । १९८५ सालमा शुरु भएको श्रेस्ता मानो, मुरी, विजनका आधारमा हुने गरेको थियो । २००४ सालमा त्यसलाई विस्थापित गर्दै नयाँ ब्यवस्था शुरु गरियो । लगातार २०२९ सालसम्म त्यहि ऐन अनुसार जग्गा खरिद विक्री हुने गरेको थियो । २०३१ सालबाट लगत कायम भए पछि जग्गाको नापि भएको छ । २०३५ साल असारसम्म कायम लगतका आधारमा २०३६ बैशाख २ गतेबाट कित्ताबाट लिखत तयार गरिएको थियो । ‘१९८५ साल देखि शुरु भएको जग्गाको श्रेस्ता २०७५÷०७६ सम्म अनलाईन प्रविधिमा छैन’–कार्यालय सहयोगी महतले भन्नुभयो–‘कुनै श्रेस्ता च्यातिएर वा अन्य कारण फेला परेन भने संकट निम्तिन सक्नेछ ।’ मालपोत कार्यालयमा लामो समय सेवा गर्ने मध्येका एक हुन् श्रीहरी महत । २०४५ बैशाख देखि निरन्तर काम गरेकाले श्रीहरी महतलाई बाहेक अन्य कर्मचारीहरुलाई मालपोतको श्रेस्ता संरक्षणका बारेमा त्यति ज्ञान छैन । ‘लगातार ३३ वर्ष देखि एउटै कार्यालयमा एउटै जिम्मेवारीमा रहेकाले जिल्लाका अधिकांश श्रेस्ताका बारेमा जानकारी छ’–महतले भन्नुभयो–‘स्थान ब्यवस्थापन गर्न सकियो भने सबै श्रेस्ता संरक्षण गर्न सकिन्छ । पुरानो श्रेस्ता खोज्न आउँदा नभेटिएला कि भनेर त्रास नै त्रास हुने गरेको छ ।’
पहिले जग्गा भोगबन्दीका आधारमा लिने दिने गरिएको थियो । अहिले दृष्टिबन्धक गरिने चलन छ । मालपोत कार्यालयको सेवा १ सय वर्ष पुरा गरेको अवसरमा देशभरका मालपोत कार्यालयले विभिन्न कार्यक्रम गरेका छन् । धेरै राजश्व संकलन गर्ने कार्यालय मालपोतले जिल्लाका सबै नागरिकहरुको सम्पतिको संरक्षण गर्नुपर्ने दायित्व छ । अरुको सम्पत्तिको संरक्षण गर्नुपर्ने मालपोत आफै असुरक्षित महसुस गरिरहेको छ । २०३२ सालमा नापी भएको ऐलानी, पर्ति, बुट्यान, भिर पाखोलाई २०५० सालमा मालपोत कार्यालयले सरकारको नाममा लालपुर्जा बनाए पछि अहिले सर्वसाधारणले दुःख पाउन थालेका छन् । ब्यक्तिको आफ्नो नामको जग्गा समेत दोहोरो श्रेस्ता कायम गरी सरकारले सरकारी बनाए पछि सर्वसाधारण हैरानीमा परेका छन् । पछिल्ला केहि दिनमा ७÷८ जना जग्गा धनीहरु सरकारको २०५० सालको निर्णय विरुद्ध सर्वाेच्च गएका छन् । उनिहरुले निरन्तर सरकारलाई तिरो बुझाई रहेका थिए । जग्गा अंशबण्डा गर्ने क्रममा अर्थात किनबेच गर्ने क्रममा मात्रै आफ्नो नाममा २०३२ सालमा पुर्जा बनेको जग्गा सरकारले अर्काे पुर्जा बनाई सकेको जानकारी पाएका थिए ।









