2026 August 22/ 04:26: 59pm

एमालेमा टुङ्गिदै उम्मेदवार, अलमलमा गठबन्धन
    बनेपा/आज विहीबार देशभरका स्थानीय तहमा निर्वाचन अधिकृतका कार्यालयहरु खोलिँदै छन् । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको नियुक्ति, तालिम पश्चात कार्यालय स्थापना गर्न लागिएको हो । आजबाट नै कार्यालयमा निर्वाचन सम्बन्धी गतिविधिहरु संचालन हुनेछन् ।
    नेपालको इतिहासमा पहिलो पटक दुई दिन उम्मेदवारी दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ । तालिका भित्र उम्मेदवार सर्वसम्मत भएकाहरु निर्वाचन प्रचार प्रसारमा जुटेका छन् भने अन्य उम्मेदवारी प्रस्तावको निर्णयको पर्खाईमा छन् । यतिबेला सबैभन्दा सहज नेकपा एमालेलाई देखिएको छ । एमाले भित्रको एउटा समुह बाहिरिएकाले पनि कार्यकर्ता ब्यवस्थापनमा सहज देखिएको हो । काभ्रेको चौरीदेउरालीमा जितराम लामा र बबिता खरेललाई क्रमशः अध्यक्ष र उपाध्यक्षमा सर्वसम्मत बनाएको एमालेले खानीखोला गाउँपालिकामा पनि कृष्ण खुलाल र रुकमणी गुरुङ्गलाई सर्वसम्मत अध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको छ । उनिहरु दुबै जना यसअघि विजयी जनप्रतिनिधि हुन् । अन्य पालिकामा पनि एमालेले सर्वसम्मतको प्रयासलाई अबलम्बन गरेको छ । एमालेले १० गते भित्रमा सबै वडा र पालिकाको उम्मेदवारी टुङ्गो लगाउने निर्णय गरेको छ । 
    एउटै दल भित्र दर्जनांै उम्मेदवारका आकांक्षी भईरहँदा गठबन्धन भित्रको भागबन्डा र नेता कार्यकर्ताको ब्यवस्थापन पेचिलो बन्दै गएको छ । आईतबार बसेको गठबन्धनका दलहरुको बैठकले २० वटा पालिकाको दावी प्रदेश समितिमा पठाउने निर्णय गरेको छ । जसमा नेपाली काँग्रेसले ९ वटा, नेकपा माओवादी केन्द्रले ६ वटा र समाजवादीले ५ वटा पालिकामा दावी गरेको छ । आफुले गरेको दावीबाट पछि नहटे पछि प्रदेश समितिमा पठाउने निर्णय गरेको हो । अब गठबन्धनका दलहरुले माथिबाट आउने आदेशको शिरोपर्य गर्नेछन् । यसअघि काँग्रेसले रोशी, तेमाल, बेथान्चोक र पाँचखालमा विजयी हासिल गरेको थियो भने माओवादीले चौरी र महाभारतमा विजयी हासिल गरेको थियो । एमाले एक्लैले जिल्लाका ७ वटा पालिका र जिल्ला समन्वय समितिमा एकलौटी विजयी हासिल गरेको थियो । 
    माओवादीले आफुले जितेका सहित थप चारवटामा दावी गरेको छ । नमोबुद्ध, तेमाल र खानीखोलामा उसको मुख्य दाबी छ । समाजवादीले एमालेले विजयी गरेको मण्डन, पनौती लगायतका केहि पालिकाहरुमा दाबी गरेको छ । गठबन्धन बीच सहमति जुट्न नसके पछि माओवादी केन्द्र र नेपाली काँग्रेसले अलग अलग उम्मेदवारहरुको सूची संकलन गरिरहेका छन् । यद्यपि केन्द्रको सर्कुलर अनुसार यसअघि माओवादी केन्द्रले विजयी गरेका चौरीदेउराली र महाभारत गाउँपालिका बाहेक अर्काे एउटा थप स्थानीय तह दिने तहमा काँग्रेसले प्रस्ताव गरेको छ भने एमालेको भोटबाट जितेर नेकपा समाजवादीमा गएका मण्डनदेउपुर नगरपालिका समाजवादीले पाउने शर्तमा थप एउटा पालिका दिन काँग्रेस तयार भएको छ । काँग्रेसले माओवादी केन्द्रलाई तीनवटा र समाजवादीलाई दुईवटा दिएर आफुलाई आठवटा पालिका राख्ने योजना बनाएको छ ।

एमालेको तयारी    

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं जिल्ला ईन्चार्ज पूर्व मन्त्री गोकुल बास्कोटाले बनेपामा शनिबार सयौं युवाहरुलाई एमालेमा प्रवेश गराउनु भएको छ । युवा संघ बनेपा नगर कमिटीको आयोजनामा आयोजित कार्यक्रममा बनेपा नगर भित्रका सयांै युवाहरु एमाले प्रवेश गरेका हुन् । यसअघि एमालेमै रही समाजवादीमा कृयाशिल युवा संघका केन्द्रीय सचिवालय सदस्य सञ्जिव दाहाल, अनेरास्ववियुका उपाध्यक्ष दिनेश बजगाई लगायतका ब्यक्तिहरु एमालेमै फर्किएका छन् । कार्यक्रममा बोल्दै पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले सत्तामा रहि गठबन्धन गरेका दलहरुलाई स्याल हुईयाँको संज्ञा दिनु भयो । ‘एमाले सिंह हो, सिंहको अघि स्यालहरुको जति सुकै गठबन्धन भए पनि सम्भव छैन’–बास्कोटाले भन्नुभयो–‘ देशभक्ति पार्टी नेकपा एमाले हो । देशद्रोहि पार्टी गठबन्धनमा रहेका सबै दल हुन् । माधव नेपालको समाजवादी नामको पार्टी काभ्रेपलाञ्चोक जिल्लाको विकास विरोधी पार्टी हो । जसले बनेपाको नाँगीडाडामा बन्न लागेको एयरपोर्ट संसदीय समितिका नाममा स्थगित गराउने काम गरेका छन् ।’ बास्कोटाले एमालेसँग एक्लै लड्न तागत नभएकाहरुले टालाटुली बटुली जोडेर गठबन्धन गरिरहेको बताउनु भयो । बास्कोटाले पछिल्लो समय निर्वाचन केन्द्रिय अभियानमा मात्रै एक हजार भन्दा धेरै ब्यक्तिहरुलाई एमाले प्रवेश गराउनु भएको छ । पौष २३ गते सम्पन्न जिल्ला अधिबेशनमा राप्रपा काभ्रेका जिल्ला अध्यक्ष टुल्कु लामा सहितको सिंगो पदाधिकारी र कार्य समिति, तीन जना वडाअध्यक्षहरु एमालेमा प्रवेश गराउनु भएको थियो । 
    कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य कुमार तिमल्सिना, नेकपा एस पार्टीबाट एमाले फर्किएका युवा संघ केन्द्रीय सचिवालय सदस्य सञ्जिव दाहाल, अनेमसंघ जिल्ला अध्यक्ष विमला सापकोटा, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, नेकपा एमाले बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जित, युवा संघ काभ्रेका अध्यक्ष सागर रायमाझी, नगर अध्यक्ष रत्न श्रेष्ठ लगायतले एमाले विकासको संवाहक भएको बताउनुभएको थियो । 

गठबन्धनमा जुटेन सहमति
    जिल्लामा रहेका गठबन्धनमा रहेका चारवटा दलको बैठक आईतबारसम्म औपचारिक रुपमा चार पटक बस्यो । बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र जसपाका नेताहरु सहभागी थिए । बैठकको शुरुवातमै जिल्लाका १३ वटा पालिकाको भागबन्डाका विषयमा छलफल भयो । नेपाली काँग्रेसका तर्फबाट जिल्ला सभापति तिर्थ लामाले नेकपा माओवादी केन्दलाई तीनवटा र नेकपा एस समाजबादीलाई दुईवटा पालिका दिने बताएका थिए । माओवादी केन्द्रले आफुलाई काँग्रेसले डोमिनेट गरेको महसुस गरी सहभागी नेताहरु बैठक छाडेर हिडेका थिए । नेकपा एसले मण्डन लगायत पनौती नगरपालिकामा दाबी गरेको छ । एउटा गाउँपालिका पनि आफुले पाउनु पर्ने दावी गरेको छ । नेकपा माओवादी केन्द्रले भने दुई नगरपालिका र तीनवटा गाउँपालिका आफुले पाउनु पर्ने दाबी गरेको छ । काँग्रेस आफुलाई ८ वटा राखेर बाँकी पालिका मात्रै दिने मनस्थितिमा छ । संख्यामै सहमति जुटन नसके पछि गठबन्धनको बैठक अनिश्चित बनेको छ । उता माओवादी केन्द्र र नेपाली काँग्रेसले धमाधम भित्रभित्रै वडा अध्यक्षका उम्मेदवारहरुको नामावली तयार गरी माथिल्लो समितिमा पठाउने निर्णय गरेका छन् ।