जिल्ला अदालतमा पाँच थान कम्प्युटर
धुलिखेल/रोटरी क्लव अफ काभ्रे भ्यालीले जिल्ला अदालत काभ्रेपलाञ्चोकलाई पाँचवटा डेस्कटप कम्प्युटर उपलब्ध गराएको छ । सेवाग्रहिहरुको सेवामा सहजता प्रदान गर्ने उदेश्यले कम्प्युटर हस्तान्तरण गरिएको रोटरी क्लव अफ काभ्रे भ्यालीका संस्थापक अध्यक्ष अनुप श्रेष्ठले बताउनु भयो ।
‘सामाजिक संघ संस्थासँग समन्वय गर्ने संस्थाको योजना अनुरुप जिल्ला अदालत काभ्रेपलाञ्चोकलाई कम्प्युटर उपलब्ध गराएका हौं’–अध्यक्ष अनुपकुमार श्रेष्ठले भन्नुभयो–‘अदालतसँगै जिल्ला कारागार कार्यालयलाई पनि केहि थान कम्प्युटर उपलब्ध गराउने तयारी गरेका छौं । यस अघि दाङ जिल्लामा रहेको कारागार र काभ्रेपलाञ्चोक जिल्लामा रहेको नेपाल पत्रकार महासंघलाई पनि केहि थान कम्प्युटर उपलब्ध गराएका थियौं ।’ सेवा लिनेहरुलाई कम्प्युटरका कारण थप सहजता प्रदान होस् भन्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराईएको श्रेष्ठले बताउनु भयो ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला न्यायाधिश मोहनराज भट्टराई, जिल्ला न्यायाधिश महेन्द्रराज काफ्ले, श्रेस्तेदार गोविन्द घिमिरेलाई क्लवका अध्यक्ष अनुप श्रेष्ठ सहितको टोलीले पाँच थान कम्प्युटर हस्तान्तरण गरेको थियो । उपलब्ध भएका कम्प्युटरहरुबाट सेवाग्राहीहरुलाई सहज हुने श्रेस्तेदार गोविन्द घिमिरेले बताउनु भयो । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उप–सचिव श्रेस्तेदार कायम भए पछि प्रशासनिक र भौतिक सुधार भएको छ । भदौ महिना देखि एउटा इजलास खाली हुँदा मुद्दाको चाप भने थपिएको श्रेस्तेदार घिमिरेले बताउनु भयो ।
आठ महिनामा ११३६ मुद्दा दर्ता
जिल्ला अदालत काभ्रेपलाञ्चोकमा मुद्दाको चाप बढेको छ । २०७८ भदौ देखि एउटा इजलाश खाली छ । दुईवटा इजलाशबाट भईरहेको न्याय सम्पादनमा मुद्दाहरुको चाप बढेको हो । कोरोना भाईरस तथा अन्य कारणले अदालतमा दुई वर्ष भन्दा धेरै अवधीका मुद्दाहरुको अवस्था पनि त्यस्तै रहेको अदालतले बताएको छ । ‘कोभिडको महामारी, मुद्दामा अंग पुग्ने प्रमाणहरु जुटन नसक्नु तथा जनशक्तिको अभावका कारण केहि मुद्दाहरु समयमै फछर्याैट हुन सकेका छैनन्’– श्रेस्तेदार उप सचिव गोविन्दप्रसाद घिमिरेले भन्नुभयो–‘महामारीका बीचमा पनि नागरिकहरुलाई सेवा दिन अदालत निरन्तर कृयाशिल छ ।’ मुद्दा फछ्र्याैट समयमै हुन नसक्नु अदालतको मात्रै कारण नहुने श्रेस्तेदार घिमिरेले बताउनु भयो । आसन्न २०७९ बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनले पनि मुद्दाको फैसलामा केहि प्रभाव पार्नेछ । जिल्ला न्यायाधिश मुख्य निर्वाचन अधिकृत रहने ब्यवस्थाका कारण अदालतको काम कारवाहीमा प्रभाव पर्नेछ । २०७८ साउन देखि फागुन मसान्तसम्म १ हजार १ सय ३६ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्ष दर्ता भई फैसला हुन बाँकी रहेका हजार २ सय २२ थान समेत गरी चालु वर्षका लागि २ हजार ३ सय ५८ थान मुद्दा रहेको अदालतका श्रेस्तेदार घिमिरेले जानकारी दिनुभयो ।
पुनरावेदनमा दर्ता भएका अघिल्लो वर्षको जिम्मेवारी सरि आएका ६ वटा, नयाँ दर्ता ६ वटा गरी १२ थान मुद्दामा २ वटा फैसला भएको छ । १० वटा मुद्दा पुनरावेदनमा फैसला हुन बाँकी छ । २ वर्ष अवधीका दुईवटा छन् । रिटमा अघिल्लो वर्षका ८ वटा जिम्मेवारी सरि आएका थिए भने चालु वर्षमा ११ वटा दर्ता गरी १९ वटा भएका थिए । जसमा ७ वटा फैसला भएका छन् । सबै मुद्दा रिट अन्र्तगतका निषेधाज्ञाका हुन् । १२ वटा निषेधाज्ञाका मुद्दा अझै फैसला हुन बाँकी छ । चालु वर्षमा दुई जना न्यायाधिशले ८ सय ३० वटा मुद्दा फैसला गरेका छन् ।
संचारकर्मीहरुसँग अन्र्तक्रिया
जिल्लाका संचारकर्मीहरुसँग जिल्ला अदालत काभ्रेपलाञ्चोकले अन्र्तक्रिया गरेको छ । जिल्ला न्यायाधीश मोहनराज भट्टराई, जिल्ला न्यायाधिश महेन्द्रराज काफ्ले, श्रेस्तेदार गोविन्द घिमिरे लगायतले अदालतले प्रदान गरेको सेवाका बारेमा जानकारी गराउनु भएको थियो । यसअघि जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकमा सरोकारवाला निकाय बीचको समन्वयका बारेमा चर्चा गरिएको थियो ।





