धेरै घटना, थोरै प्रगति
धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा २०७८ सालमा विविध घटनाहरु भए । विश्वभरी फैलिएको कोभिड महामारीका कारण जिल्लमाा अक्सिजनको अभाव, समुदाय स्तरमा संक्रमण, अस्पतालमा शैयाको अभाव हुन पुग्यो । शुरुमा कोभिड विरुद्धको खोप नागरिकलाई उपलब्ध गराउन हम्मेहम्मे भयो । वर्षको अन्त्य तिर खोप लगाउने मान्छे खोजेर पनि पाउन सकिएन । चैत्र मसान्तसम्म जिल्लामा करिब ३ सय थान मुद्दा दर्ता भएका छन् भने १ सय ५५ जनाको निधन भएको छ । २ सय २० भन्दा धेरै पक्राउ परेका छन् । केहि फरार छन् । फरार मध्ये केहि पक्राउ गरेका छन् ।
‘बालिका बलात्कार तथा हत्या, लागु औषध प्रयोग तथा ओसार पसार, ब्यक्ति हत्या, चोरी, लुटपाट जस्ता अपराध भएका छन्’–प्रहरी प्रमुख एसपी चक्रराज जोशीले भन्नुभयो–‘जर्बजस्ति करणीका घटनाको संख्या थपिएका छन् । त्यो भन्दा धेरै आत्महत्याका घटना भएका छन् ।’ ८ बर्षिया बालिका देखि ७६ बर्षिय जेष्ठ नागरिकले समेत आत्महत्या गरेका छन् । आत्महत्या न्युनिकरणका प्रयास भए पनि शिक्षित वर्गबाटै आत्महत्या भएका छन् । महिला हिंसाका घटनामा पनि बढोत्तरी भएका छन् । हिंसाकै कारण महिलाहरु आत्महत्यामा उन्मुख भएका घटना दर्ता भएका छन् । आत्महत्या दुरुत्साहनमा दर्ता भएका केहि मुद्दामा अभियुक्तले सफाई पाएका छन् भने केहिमा पुर्पक्ष गएका छन् । श्रीमान्ले श्रीमती र बच्चालाई घर भित्रै मारेर तीन दिन पछि पक्राउ परेका घटना पनि दर्ता भएका छन् ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार गोविन्द घिमिरेले अदालतमा मुद्दा दर्ताको संख्या बढेको बताउनु भयो । एक वर्षको अवधीमा काभ्रेपलाञ्चोक जिल्लामा झण्डै १ हजार ५ सय थान मुद्दा दर्ता भएका छन् । धेरै मुद्दा सम्बन्ध विच्छेदका छन् । सम्बन्ध विच्छेदका मुद्दा बर्षमा ४ सय वटा भन्दा धेरै छन् । यो वर्ष उक्त संख्या बढेर ६ सय पुगेको छ । दोश्रोमा जर्बजस्ति करणीका मुद्दा दर्ता भएका छन् । करणी र उद्योगमा दर्ता भएका मुद्दाहरुको संख्या धेरै छन् । तेश्रोमा अंशबण्डा सम्बन्धी मुद्दाका कारण अदालतमा चाप बढेको छ । अदालतले लक्ष्य अनुसार काम गर्न प्रयास गरे पनि कोभिड महामारी तथा जनशक्ति अभावले सम्भव नभएको श्रेस्तेदार घिमिरेले बताउनु भयो ।
कोभिडका कारण दोश्रो चरणको संक्रमणमा जस्तो तेश्रो चरणमा कसैले पनि ज्यान गुमाउनु परेन । खोपको प्रभावका कारण नागरिकहरुमा आएको सचेतना र सुरक्षित उपायका कारण संक्रमण भए पनि संकट नपरेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोतम सेढाईले बताउनु भयो । कोभिड पछि करिब एक लाख बालबालिकाहरुलाई टाईफाईड विरुद्धको खोप शुरु गरिएको छ । कोभिड विरुद्धको अभियानमा सफलता मिल्दै गएको सेढाईले बताउनु भयो । स्वास्थ्य प्रति नागरिकको सचेतनाका कारण धेरै रोगबाट जिल्लालाई बचाउन सक्ने उहाँको अनुभव छ ।
यो वर्ष झुक्याएर नागरिकता लिनेहरुलाई प्रशासनले कडाई गरेको छ । ‘विगत वर्षहरुमा पनि नागरिकताका समस्या थिए होलान तर यो पटक कडाई गरिएकाले धेरै कुरा खुलेको छ’–सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताउनु भयो–‘नक्कली विवरण पेश गरी नागरिकता लिनेहरु धमाधम पक्राउ परेका छन् ।’ प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्लाको शान्ति सुरक्षा कायम राख्दै नागरिकहरुलाई सहज सेवा प्रदान गर्न हरेक कार्यलयमा सुचना अधिकारीलाई अझै ब्यवस्थित गराउने अभियानका साथ जिल्ला सुधारका लागि रोडम्याप सार्वजनिक गर्नु भएको छ । उहाँ जिल्लामा पहिलो महिला प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत हुनुहुन्छ । तालिका बनाएर शुरु गरिएका धेरै योजनाहरु पूरा भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो । नागरिकता वितरणमा सहज तथा सहि ब्यक्तिलाई उपलब्ध गराउने अभियान त्यहि सुधारको पहिलो एजेण्डा थियो ।
स्थानीय तहको निर्वाचन घोषणा भएकाले राजनीति दलहरुले शक्ति प्रर्दशन गरिरहेका छन् । उम्मेदवार छनौट तथा दल अदल भएका छन् । जनप्रतिनिधिहरुले नै पार्टी परिवर्तन गर्ने क्रम २०७८ मा भयो । नेकपा एमाले फुटेर नेकपा एस भएकाले सांसदहरु अलग भए । नगर प्रमुख अलग भए । केहि वडाअध्यक्षहरु पनि अलग भए । तर एमालेले माओवादी र राप्रपाबाट निर्वाचित जनप्रतिनिधि प्रवेश गरायो । काँग्रेसले पनि एमालेबाट निर्वाचित वडा अध्यक्षलाई पार्टी प्रवेश गरायो । स्थानीय तहको निर्वाचनमा ३० दलर ३ लाख ३ हजार ५ सय ६० मतदाताले भाग लिदै छन् । यहि वर्ष जनगणना समेत भएकाले जनगणनामा बसाई सराई धेरै भएको, ब्यक्ति शहरमा बस्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । जन्मदर घटेकाले जिल्लाको जनसंख्या १५ हजार ८ सय ५८ ले घटेको छ । जिल्लाको कुल जनसंख्या ३ लाख ६६ हजार ८ सय ७९ रहेको छ ।
स्थानीय तहहरुले पाँच वर्षमा केहि उपलब्धी हासिल गरेका छन् । केहि बदनाम भएका छन् । धुलिखेल अन्र्तराष्ट्रिय स्तरमा गरिबी न्युनिकरण, कार्वन उत्र्सजन तथा दिगो विकास लक्ष्यका चारवटा मुख्य आधारभुत आवश्यकता पुरा गर्ने नगरका रुपमा घोषणा भएको छ भने बालमैत्री नगरका रुपमा समेत चिनिएको छ । अन्य केहि पालिकाहरुमा सुधार देखिएको भए पनि उल्लेख्य काम देखिन सकेन । ब्यापारिक नगरी बनेपामा १६ सय सिँढीले आन्तरिक र बाह्य धार्मिक पर्यटकहरुका लागि सहज बनायो । जिल्लामा संघ र प्रदेश सँगै स्थानीय सरकारले गौरवका आयोजना शुरु गरेका छन् । जिल्लालाई स्थल, सुरुङ्ग र जलमार्ग हुँदै विकासको यात्रालाई अघि बढाउन बजेट विनियोजन भएको छ ।
भुकम्पले थिलथिलो भएका घरहरुको पुनर्निर्माणका लागि विनियोजन भएको रकम अझै प्राप्त गर्न भुकम्प पीडितहरुले सकेका छैनन । दुर्घटनामा केहिले ज्यान गुमाएका छन् । हत्या, आत्महत्या र दुर्घटनाका कारण ज्यान गुमाउनेहरुको संख्या पनि उल्लेख्य रह्यो ।





