2026 August 23/ 02:56: 18pm

    बनेपा/जिल्लाको ब्यापारीक नगरी बनेपा नगरपालिका वडा नम्वर १० जनालागल स्थित थापागाउँको शिरमा संकट मोचन गणेश, गोरखकाली मन्दिर, ६४ शिव लिङ्ग, नारायण, कुशेश्वर, सप्तऋी लगायतको प्राण प्रतिष्ठा गरिएको छ । धार्मिक विधी अनुसार स्थापना गरिएका उक्त देविदेवताका मन्दिरको निर्माणका लागि स्थानीय, वडा कार्यालय र नगरपालिकाको सहयोग रहेको थियो ।
    ‘मन्दिर तथा धार्मिक स्थलहरुको निर्माण तथा संरक्षणले सुसंस्कृत समाजको निर्माणमा सहयोग पु¥याउँछ’–पुर्व मन्त्री एवं संघीय सांसद गोकुल बास्कोटाले भन्नुभयो–‘धार्मिक आश्था रहेका ब्यक्तिहरुको आगमनले धार्मिक पर्यटन मार्फत सोहि क्षेत्रको विकास र समृद्धीको यात्रा तय गर्नेछ ।’ मन्दिर हुँदै जाने सडक तथा मन्दिर क्षेत्र आसपास रहेका धार्मिक क्षेत्रको संरक्षण, प्रर्वद्धन र प्रचारप्रसारका लागि स्थानीय तथा स्थानीय सरकारको सक्रियता आवश्यक रहेको पुर्व मन्त्री बास्कोटाले बताउनु भयो । बनेपा नगरपालिका भित्र रहेका धार्मिक क्षेत्रहरुलाई धार्मिक पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न संघ र स्थानीय सरकार मार्फत प्रयास भएको बास्कोटाले बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले बनेपा नगरपालिका क्षेत्र भित्र रहेका महत्वपूर्ण धार्मिक क्षेत्रहरुको संग्रहित ऐतिहासिक दस्तावेज सहित पर्यटकहरुलाई उपलब्ध गराउन सकिने सूचना पुस्तिका ब्यस्थापन गर्नु पर्ने बताउनु भयो । बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादेले बनेपाको ऐतिहासिक चण्डेश्वरी मन्दिरबाट गोसाईस्थानसम्म १६ सय सिंढी निर्माण, बासुकी पार्क, नालाको उग्रचण्डी भगवती तथा विभिन्न स्थानका मन्दिरहरुको संरक्षण र प्रर्वद्धनका लागि आवश्यक बजेट ब्यवस्थापन गरिएको बताउनु भयो । यस्ता धार्मिक स्थलहरुको विकासले समुदायका लागि थप सहजता हुने नगर प्रमुख बादेले बताउनु भयो । नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य सदस्य सुरकृष्ण बैद्य, वडा अध्यक्ष चन्द्रबहादुर खड्का लगायतले स्थानीय सरकारले गरेको विकास स्थायी प्रकृतिको भएको बताउनु भयो ।
    कार्यक्रममा मन्दिर ब्यवस्थापन तथा पुनर्निर्माण समितिका अध्यक्ष आत्मराम थापाले २०६७ सालमा निर्माण शुरु गरिएको गोरखकाली मन्दिर २०७२ को भुकम्पले क्षति पु¥याए पछि २०७६ साउन ९ गतेबाट पुनर्निर्माण शुरु गरिएको बताउनु भयो । पुनर्निर्माण सकिएको मन्दिरको मंगलबार प्राणप्रतिस्ठा गरिएको हो ।

चन्दाबाट निर्माण भयो मन्दिर
    बनेपा नगरपालिका वडा नम्वर १० को थापागाउँमा रहेको उक्त मन्दिर स्थानीयहरुको सक्रियतामा २०६७ सालबाट निर्माण शुरु भएको हो । निर्माण सकिएर नियमित पुजाआजा शुरु भएको गोरखकाली मन्दिरमा स्थानीय मुकुन्दराज देउजाले गोरखामा जस्तै गरी नियमित विहान र बेलुका नित्य पूजा गर्दै आउनु भएको छ । ४ रोपनी जमिनमा रहेको उक्त मन्दिर र अन्य संरचना निर्माणका लागि ९१ लाख ७० हजार खर्च भएको छ । ७८ लाख ५८ हजार चन्दा बापत संकलन भएको अध्यक्ष आत्मराम थापाले बताउनु भयो । जसमध्ये आत्मराम थापा एक्लैले ३५ लाख रुपैया सहयोग गर्नु भएको छ भने बनेपा नगरपालिकाले २० लाख सहयोग गरेको छ । अन्य चन्दादाताबाट संकलित रकमले संकट मोचन गणेश, गोरखकाली मन्दिर, ६४ शिव लिङ्ग, नारायण, कुशेश्वर, सप्तऋी, कम्पाउण्ड वाल, पाटी र अन्य संरचना निर्माण गरिएको उपाध्यक्ष शुशिल थापाले बताउनु भयो । सामुदायिक बन तथा सार्वजनिक जमिन २२ रोपनीमा बालउद्यान, जेष्ठ नागरिकहरुका लागि आराम तथा मनोरञ्जन स्थल र अन्य धार्मिक पर्यटनका लागि आवश्यक पूर्वाधारहरु निर्माण गरिने अध्यक्ष थापाले बताउनु भयो ।
    गोरखकाली मन्दिर सधै खुल्ला रहे पनि सर्वसाधारणले पुर्णिमाका दिनमा बाहेक देवीको अनुहार हेर्न पाउँदैनन । पुर्णिमाका दिन हुने भजन किर्तन तथा अन्य कार्यक्रमका दिन मात्रै उहाँको छोपिएको अनुहार खुल्ला हुने पुजारी देउजाले बताउनु भयो । केहि वर्ष अघि उक्त स्थानमा नियमित बाघ आएर बस्ने गरेको देखे पछि स्थानीयहरुले देविको मन्दिर स्थापनाको तयारी गरेका थिए । साविक जिल्ला विकास समिति हुँदै पहल भई निर्माण गरिएको उक्त मन्दिर भुकम्पले क्षति गराए सँगै रोकिएको थियो । पुनः पुनर्निर्माणको कार्य सकिए पछि प्राणप्रतिष्ठा गरिएको हो । कार्यक्रममा उपप्रमुख रेखा सापकोटा दाहाल, बनेपा नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, सदस्यहरु, समाजसेवी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।