तेमाल कमजोर, बनेपा दोश्रो
धुलिखेल/देशभर रहेका ६ सय ९८ स्थानीय तह मध्ये धुलिखेल पहिलो भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनको समिक्षात्मक तथ्याङ्क सार्वजनिक गर्दै नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धुलिखेल नगरपालिका पहिलो भएको घोषणा गरेको हो ।
नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७८ चैत्र ११ गते विज्ञप्ति जारी गर्दै स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको हाल सम्मको अवस्थाको समिक्षात्मक तथ्यांक सार्वजनिक गरेको हो । जस अनुसार आर्थिक वर्ष २०७७÷०७८ को समग्र अवस्थाको बारेमा स्वमूल्याङ्कन गरी ६ सय ९८ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । काभ्रेपलान्चोक जिल्लाका सबै स्थानीय तहहरुले स्वमूल्याङ्कन गरी नतिजा सार्वजनिक गरेका छन् । काभ्रेपलान्चोक जिल्लाका स्थानीय तहहरुमध्ये धुलिखेल ८५.२५ प्राप्ताङ्क सहित शिर्ष स्थानमा रहेको हो । बनेपा नगरपालिका ८३.५ अंक सहित दोस्रो र पाँचखाल नगरपालिका ७८.७५ अंक सहित तेस्रो स्थानमा छ । तेमाल गाउँपालिका ४१.५ ल्याएर जिल्लाकै कमजोर पालिकाका रुपमा देखिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पूर्व सूचना अनुसार स्वमूल्याङ्कन नतिजा अनलाइन प्रणालीमा प्रविष्टि गर्ने कार्य २०७८ चैत्र १० गतेबाट बन्द गरी हालसम्म नतिजा सार्वजनिक गर्ने स्थानीय तहको गुणस्तर परीक्षणका लागि प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको समन्वयमा प्रदेश सुशासन केन्द्र मार्फत सहजकर्ताहरु परिचालन गर्ने कार्य शुरु गरिएको जनाएको छ । संघीय शासन प्रणालीको अवलम्बनसँगै सेवा प्रवाह तथा स्थानीय विकास निर्माणका कामहरु नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तहको जिम्मेवारीमा रहेका छन् । स्थानीय तह स्थापनाको करिब पाँच वर्ष व्यतित भइसकेको छ । स्थानीय तहको कार्य प्रकृया र उपलब्धिहरुको बारेमा लेखाजोखा गरी सबल र दूर्बल पक्षहरुको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन आवधिक समीक्षाको लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाहरुको बीचमा तुलनायोग्य सूचकहरु तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन निर्वाचित जनप्रतिनिधिको नेतृत्वमा स्थानीय तह सञ्चालनमा आएपछि भएका असल अभ्यासहरुलाई संस्थागत गरी प्रवद्र्धधन गर्न र कमजोरीहरुबाट पाठ सिकेर आगामी दिनमा नागरिक केन्द्रीत सरकारको अवधारणामा सहयोग गर्ने गरी मन्त्रालयबाट २०७७ मसिंर ३ मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ स्वीकृत भई कार्यान्वयनमा ल्याएको हो ।
कार्यविधिमा स्थानीय तहको संस्थागत प्रवन्ध संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवम् आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वय गरी दशवटा विषय क्षेत्रमा एक सय वटा सूचक राखी सबै स्थानीय तहको वार्षिक रुपमा मूल्याङ्कन गर्ने व्यवस्था कार्यविधिमा रहेको छ । सबै विषय क्षेत्रका सूचकलाई समग्र स्थिति, प्रकृयागत स्थिति र परिमाणात्मक स्थिति गरी तीन अवस्थामा वर्गीकरण गरी प्रत्येक सूचकको लागि एक अङ्कभार राखी कुल एकसय अङ्कमा मूल्याङ्कन हुने व्यवस्था कार्यविधिमा रहेको छ । स्वमूल्यांकनलाई सहयोग हुने गरी कार्यविधि बमोजिम प्रतिवेदन गर्ने तथा सार्वजनिकरण गर्न मिल्ने गरी विद्युतीय पोर्टलको व्यवस्था उक्त मन्त्रालयबाट मिलाईएको छ ।









