धुलिखेल/आसन्न स्थानीय तहको निर्वाचनका लागि थप सुरक्षाका लागि माग गरिएको म्यादी प्रहरीका लागि आवेदन दिनेहरुको भिड लाग्न थालेको छ । दैनिक ५ सय भन्दा धेरै ब्यक्तिहरुले ४० दिनका लागि जागिर खान आवेदन दिन थालेका छन् ।
देशभर नै म्यादी प्रहरीमा आवेदन दिनेहरुको भिडले बेरोजगारको संख्या अधिक रहेको देखाएको छ । म्यादी प्रहरीमा जान चाहनेहरुको उमेर हद ५४ वर्ष भएकाले पनि धेरै ब्यक्तिहरुले अवसरका लागि आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आसन्न निर्वाचनका लागि १ हजार ४ सय ९५ जना ब्यक्तिलाई नियुक्ति गर्नेछ । यो संख्या बराबरको आवेदन तीन दिनमै पुरा भईसकेको छ । तर पनि समयावधि भित्र आवेदन दिनेहरुको संख्या झण्डै तेब्बर हुने अनुमान गरिएको छ । पहिलो दिन ४ सय ५० को आवेदन दर्ता भएकोमा दोश्रो दिन ६ सय ९ जनाले आवेदन दिएका थिए ।
आवेदन दिनेहरुमा अधिकांश ब्याचलर तहमा अध्ययन गर्ने युवाहरु धेरै छन् । बालबालिकाहरु काखमै बोकेर आवेदन गर्न आउनेहरुको संख्या पनि धेरै छ । पुर्व सुरक्षाकर्मीहरुको आर्कषण भने यो पटक कमै छ । प्राथमिकताका आधारमा उनिहरुले अवसर पाउने भए पनि थोरै अवधीका लागि धेरै जोखिम उठाउन नखोजेको हो कि ? भन्ने अनुमान लगाउन सकिन्छ । प्रहरीले आवेदन दिने अवधी सकिए पछि प्रारम्भिक छनौट प्रकृया शुरु गर्ने बताएको छ । धुलिखेलको रंगशालामा आवेदन दिनेहरुको लाईन हरेक दिन बसिरहेको छ ।









