बनेपा/एमाले काभ्रेले विधान अनुसार टोल कमिटी गठनलाई तिब्र बनाएको छ । अधिबेशन सकिए लगत्तै एमालेले टोल कमिटी गठन र पालिका स्तरको प्रशिक्षण अन्तिम चरणमा पु¥याएको छ । चैत्र १३ गते नमोबुद्ध नगरपालिकामा प्रशिक्षण आयोजना गरिएको छ । चैत्र १४ गते बस्ने जिल्ला कमिटीको बैठकले निर्वाचन तयारी अनुशिक्षण, जिम्मेवारी बाँडफाँड र उम्मेदवार छनौटको मापदण्डका बारेमा निर्णय गर्नेछ ।
‘चैत्र ७ गतेसम्म एमाले काभ्रेले १३ वटा पालिकाका १ सय ३५ वडा कमिटी अन्र्तगत ५ सय ५७ वटा टोल कमिटी गठन गरिसकेको छ’–सचिव राजन भुर्तेलले भन्नुभयो–‘चैत्र १५ सम्म शतप्रतिशत अथार्त ७ सय ५० वटा टोल कमिटी गठनको काम सकिनेछ ।’ २४ हजार संगठित सदस्यहरुलाई पार्टीका कमिटीहरुमा आवद्ध गरेको एमाले काभ्रेले जनाएको छ । टोल कमिटीसँगै एमालेले जनवर्गीय संगठनहरुका अधिबेशन गरिरहेको छ । युवा र महिलाको अधिवेशन तोकिएको छ भने अन्य संगठनका अधिवेशन धमाधम भईरहेका छन् । पालिका स्तरको प्रशिक्षण मंगलबार चैत्र ८ गते बनेपा र धुलिखेलमा सम्पन्न भएको छ । शनिबार चैत्र १२ गते मण्डनदेउपुर र पाँचखालमा आयोजना गरिएको छ । चैत्र १३ गते नमोबुद्धमा आयोजना गरिएको छ ।
पालिका स्तरका प्रशिक्षण कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज पूर्व मन्त्री गोकुल बास्कोटा, केन्द्रीय सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु, जिल्ला कमिटी अध्यक्ष अशोक ब्याञ्जु, उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भुर्तेल, उप सचिवद्वय राजकुमार सापकोटा र रिता ढकाल लगायतले सम्बोधन गरिरहेका छन् । पालिका स्तरका इन्चार्ज, जिल्ला कमिटी सदस्यहरु र जनवर्गिय संगठनका नेताहरुको सहभागिता रहेको छ । एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले जिल्लाका १३ वटै पालिकामा एमालेका उम्मेदवारहरुलाई विजयी गराउने गरी संगठनको कृयाशिलता र प्रशिक्षण भईरहेको बताउनु भयो । विगतको विरासतलाई कायम राख्दै थप पालिकाहरु विजयी गराउने गरी पार्टीका २४ हजार संगठित सदस्यहरु, शुभचिन्तक र जनसमुदायका बीचमा एमालेले सरकारमा रहँदा गरेका असल अभ्यासहरुका बारेमा जानकारी गराएको अध्यक्ष ब्याञ्जुले बताउनु भयो । प्रशिक्षणका क्रममा एमालेमा विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्नेहरुको संख्या थपिएको छ । एमालेले यो अभियानलाई प्राथमिकतामा राखेको बताएको छ ।









