पैसा कहिले आउँछ सरकार ?
जिल्लाका १३ पालिकामा निर्माण सम्पन्न भएका १ हजार ८ सय ७६ घर परिवारको तेश्रो र ६ सय २९ घर परिवारको दोश्रो किस्ता बापत्को रकम ११ महिना देखि रोकिएको छ ।
मोतीराम तिमल्सिना
धुलिखेल
केपी ओली नेतृत्वको सरकारले पुनर्निर्माणको कार्य सम्पन्न गर्दै सरकारलाई हस्तान्तरण गर्ने कार्ययोजना अनुसार गठबन्धन मार्फत परमादेशबाट बनेको सरकारले जिल्लाका भुकम्प पीडितहरुले निर्माण गरेको आवासको पैसा दिएको छैन । पटक–पटक सरकारलाई पैसाको ताकेता गर्दा सुनेको नसुन्यै गरेको जिल्ला स्थित कार्यालयले जानकारी दिएको छ ।
आवास निर्माण गरेर रकम नपाउने लाभग्राहिहरु १ हजार ८ सय ७६ जना तेश्रो किस्ताका पीडित छन् भने ६ सय २९ जना दोश्रो किस्ताका छन् । सरकारले रकम दिन्छु घर निर्माण गर्नु भन्ने निर्देशन पछि पुनर्निर्माण गरेका पीडितहरु पैसा नपाए पछि पीडामा परेका छन् । ‘सरकारले रकम दिन्छु घर बनाउ भन्यो’–तेमाल गाउँपालिका पाँचका गणबहादुर दोर्जेले भन्नुभयो–‘पहिले घर बनाउन सकिएन, अहिले ऋण गरेर सरकारले पैसो दिन्छु भनेकाले घर बनायौं पैसा दिएन ।’ उनि जस्ता तेमालका दोश्रो किस्ताका ६० जना र तेश्रो किस्ताका १ सय ८० जना छन् । सरकारले भुकम्प पीडितहरुलाई दिनुपर्ने पैसा अझै निकासा नभएको जिल्ला स्थित आवास तथा पुनर्निर्माण ईकाईले जानकारी दिएको छ ।
जिल्लाको बनेपा नगरपालिकामा दोश्रो किस्ता प्राप्त गर्न बाँकी ३० घर धुरी छन् भने तेश्रो किस्ता लिन १ सय ७ घर धुरी बाँकी छन् । त्यस्तै पनौती नगरपालिकामा ९० घर परिवारको दोश्रो किस्ता र २ सय ५ घर परिवारको तेश्रो किस्ता बापत्को रकम भुक्तानी हुन बाँकी छ । धुलिखेल नगरपालिकामा ३२ जना दोश्रो र ४५ जना तेश्रो किस्ता लिनबाट बञ्चित भएका छन् । पाँचखाल नगरपालिकामा १ सय १० दोश्रो र २ सय ४३ जनाको तेश्रो किस्ता लिन बाँकी छ । नमोबुद्ध नगरपालिमा ८० जनाको दोश्रो किस्ता र २ सय १० जनाको तेश्रो किस्ता बाँकी छ । मण्डनदेउपुर नगरपालिकामा ४० जनाको दोश्रो र १ सय ७० जनाको तेश्रो किस्ता बाँकी छ । बेथान्चोक गाउँपालिकामा ८० जनाको दोश्रो र १ सय ३१ जनाको तेश्रो किस्ता बाँकी छ । महाभारत गाउँपालिकामा ७ जनाको दोश्रो र १५ जनाको तेश्रो किस्ता बाँकी छ । सबैभन्दा कम सोहि गाउँपालिकामा हो । त्यस्तै खानीखोला गाउँपालिकामा २० जानको दोश्रो र ३० जनाको तेश्रो किस्ता बाँकी छ । तेमालमा ६० दोश्रो र १ सय ८० जनाको तेश्रो किस्ता बाँकी छ । रोशी गाउँपालिकाको ४० जनाको दोश्रो र १ सय ८० जनाको तेश्रो किस्ता बाँकी छ । भुम्लु गाउँपालिकामा १० जनाको दोश्रो र ५० जनाको तेश्रो किस्ता बाँकी छ । चौरीदेउराली गाउँपालिकामा ३० जनाको दोश्रो र १ सय ५० जनाको तेश्रो किस्ता रकम बाँकी छ । जिल्लामा ६ सय २९ घर परिवारको दोश्रो र १ हजार ८ सय ७६ घर परिवारको तेश्रो किस्ता रकम भुत्तानी गर्न बाँकी छ ।
जिल्लाको क्षति र पुनर्निर्माण
भुकम्पले ध्वस्त बनाएका ७८ हजार ९ सय ५ घर धुरी मध्ये ६० हजार १ सय २ परिवारले तेश्रो किस्ता बापतको रकम प्राप्त गरेका छन् । दोश्रो किस्ता लिनेहरुको संख्या ६६ हजार ८ सय ८ रहेको छ । ७९ हजार २ सय ८८ घर परिवारले पहिलो किस्ता लिएका थिए । पहिलो किस्ता लिनेहरु मध्ये ४ हजार २ सय ७३ घर परिवारले रेट्रोफिटिङ्गका लागि सम्झौता गरी रकम लिएका थिए भने ७५ हजार १५ घर परिवारले पुनर्निर्माणको लागि रकम लिएका थिए । घर पुनर्निर्माणमा समावेश गरी पाउँ भनि ९८ हजार १९ जनाले पुनर्निर्माण प्राधिकरणमा आवेदन दिएका थिए । २०७८ वैशाख मसान्त भित्र निर्माण सम्पन्न भएका घरहरुको अन्तिम किस्ताका लागि वडा कार्यालयमा निवेदन गरिसकेका पीडितहरुको भुक्तानी भएको थियो । त्यसपछि रोकिएको भुक्तानी अझै भएको छैन । निषेधाज्ञाका कारण निर्माण सम्पन्न भएका केहि घरहरुको रकम भुक्तानीका लागि वडा मार्फत सिपाmरिस हुन नसकेको हो । २०७७ चैत्र मसान्तसम्म ५७ हजार ५ सय ९५ जनाले तेश्रो किस्ता भुक्तानी लिएका थिए । बैशाख एक महिनामा प्राधिकरणले २ हजार ५ सय ७ जनालाई रकम भुक्तानी गरेको थियो । जेठ महिना देखि भुक्तानी भएको छैन । स्थानीय सरकारको सेवा लामो समय देखि बन्द रहेकाले समायावधि भित्र काम हुन सकेन । पुनर्निर्माणको हिसाबले जिल्लमा ७६.१७ प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको छ । ७८.९० प्रतिशत दोश्रो किस्ता र ९३.५८ प्रतिशत पहिलो किस्ता लिएका घरधुरीहरुको औसत प्रतिशत तुलनात्मक रुपमा राम्रो रहेको विज्ञहरुले बताएका छन् । भुकम्प गएको ५ वर्षसम्म पुनर्निर्माण आवश्यक नठान्ने लाभग्राहिहरुको नामावली हटाउँदै पुनर्निर्माणको कार्य सम्पन्न गर्ने अभियानमा प्राधिकरण पुगेको थियो । जिल्लाको हकमा आवाससँगै क्षति भएका सडक र पुल पनि निर्माण भएका छन् ।
जिल्लामा १३ वटा स्थानीय तह छन् । धुलिखेल, बनेपा, पाँचखाल, पनौती, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाका रुपमा छन् भने तेमाल, चौरीदेउराली, भुम्लु, रोशी, बेथानचोक, महाभारत र खानीखोला गाउँपालिका छन् । विद्यालय तथा आवास निर्माणमा विकटता र सुगमताका आधारमा पनि निर्माणको कार्य अघि बढ्यो । विद्यालय पुनर्निर्माणमा दाताहरुका कारण सुगममा पनि निर्माणको कार्य ढिलाई हुन पुग्यो । भुकम्प पछिको निर्माणमा समुदाय पनि सक्रिय भएको छ । विद्यालय निर्माणमा विद्यालय ब्यवस्थापन समितिहरु मार्फत १ सय ९८ वटा विद्यालय भवन निर्माण भएको छ । एडिबीको ऋण र नेपाल सरकारको सहयोगमा ठेक्का प्रकियाबाट ३८ वटा विद्यालय भवन पुनर्निर्माण भएका छन् । विभिन्न गैरसरकारी संस्थाबाट ८९ वटा विद्यालय भवन पुनर्निर्माण भए । जसमा १ हजार ९ सय २३ वटा कक्षा कोठा पुनर्निर्माण भएका छन् । विद्यालय ब्यवस्थापन समिति मार्फत जिल्लामा २३ वटा शौचालय निर्माण गरिएको छ । भुकम्पले क्षति भएका सबै विद्यालयहरुमा आवश्यकताका आधारमा कुनै न कुनै कार्यक्रम पुगेको जिल्ला परियोजना इकाई (शिक्षा) ले जानकारी दिएको छ ।
इन्जिनियर श्रेया झाका अनुसार जिल्लाका अधिकांश विद्यालयहरु पुनर्निर्माणबाट लाभान्वित भएका छन् । विद्यालय ब्यवस्थापन समितिबाट निर्माण शुरु भएका थप ७१ वटा विद्यालय भवन, एडिवीको ऋण र नेपाल सरकारको सहयोगमा ठेक्का प्रकियाबाट निर्माण हुने ९ वटा विद्यालय भवन, भारतीय सरकारको अनुदान सहयोगमा निर्माण हुने १२ वटा विद्यालय भवन निर्माणाधिन अवस्थामा छन् । ८ वटा विद्यालयमा एडिबीको ऋण र नेपाल सरकारको सहयोगमा डिआरएसपी कार्यक्रम अन्तर्गत रेट्रोफिट कार्यक्रम सञ्चालनमा रहेको ईन्जिनियर झाले बताउनु भयो । जिल्लाका १ सय २१ वटा विद्यालयमा विद्यालय ब्यवस्थापन समिति मार्फत शौचालय निर्माणको कार्य भएको थियो । ८८ वटा विद्यालयमा खानेपानी सुविधाका लागि संरचना निर्माण भईरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि ५ वर्षबाट हाल एक वर्ष थप भई पौष मसान्तमा सकिएको छ । ५ वर्षको अन्तरालमा विद्यालय पुनर्निर्माणको करिब ९०% प्रतिशत कार्य सम्पन्न भैसकेको छ । बाँकी १०% प्रतिशतको काम पूर्ण रुपमा सम्पन्न गर्न अझै केहि समय समय लाग्ने सम्भावना छ ।









