गाईको गर्भ परिक्षण, कुकुरलाई रेविज विरुद्धको खोप
धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर १२ शंखुमा एक दिने पशु स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरमा १ सय ५० कृषकका गाई, भैसी, बाख्रा, बंगुर, कुखुरा, हाँस, कुकुरको परिक्षण गरिएको छ ।
धुलिखेल नगरपालिकाको पशुपंक्षी शाखाको आयोजना तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको समन्वयमा आयोजित शिविरबाट पशुपालक कृषकहरुले लाभ लिएका थिए । शिविरमा पशुपंक्षीमा लाग्ने रोगका बारेमा जानकारी गराईएको थियो भने रोग लागे पछिको उपचार सँगै रोग लाग्नै नदिन कृषकहरुले पशुपक्षीको खानपान र रहसहन, नियमित परिक्षणर हेरचाहमा ध्यान दिन अनुरोध गरिएको थियो । शिविरमा १ सय ५० जना कृषकहरुका ३ सय ९४ पशुको गोबर परिक्षण गरिएको थियो । शिविरमा गाई र भैंसी ३ सय ९९, बाख्रा ४ सय ९७, बंगुर ३३ वटा, कुखुरा तथा हाँस १ सय वटालाई नाम्ले जुका विरुद्धको औषधी वितरण गरिएको थियो । त्यस्तै ५५ वटा कुकुरलाई रेविज विरुद्धको खोप लगाईएको छ । सोहि अवसरमा ३३ वटा कुकुर बन्ध्याकरण गरिएको थियो । १३ वटा गाईको गर्भ परिक्षण गरिएको छ ।
शिविरको उद्घाटन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख राजकुमार हुमागाईले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै हुमागाईले पशुपंक्षीहरुलाई स्वस्थ राख्न सके कृषकहरुको धन सञ्चित मात्रै नभई ब्यक्तिहरुको स्वास्थ्यमा समेत प्रभाव पार्ने बताउनु भयो । पशुपक्षीहरुलाई स्वस्थ राख्न उनिहरुको नियमित स्वास्थ्य परिक्षणआवश्यक रहेको हुमागाईले बताउनु भयो । कार्यक्रममा वडा नम्वर १२ का अध्यक्ष हर्कबहादुर तामाङले सबै कृषकहरुलाई सेवा पुग्ने गरी शिविरको आयोजना गरिएको बताउनु भयो । एक दिने शिविरमा समेट्न नसकिएका कृषकहरुका लागि घर घर सेवा उपलब्ध गराउने विषयमा पनि छलफल भएको वडा अध्यक्ष तामाङले बताउनु भयो । नगरपालिकाले धुलिखेलका हरेक वडामा रहेका पशुपक्षीहरुलाई नियमित खोप र परिक्षण कार्यक्रम संचालन गरेको नगरपालिकाका पशुपंक्षी शाखाका प्रमुख पुरुषोतम हुमागाईले बताउनु भयो । शिविरमा डा। नितेश कार्की, डा।अमृतकुमार देउजा लगायतका अन्य प्राविधिक कर्मचारीहरुको सहभागिता रहेको थियो ।









