2026 August 22/ 04:27: 00pm

    बनेपा/आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले, नेपाली काँग्रेस लगायतका दलहरु आक्रामक योजनामा जुटेका छन् । एमालेले वडा अधिबेशन, पालिका अधिबेशन र जिल्ला अधिबेशनसँगै पालिका स्तरिय प्रशिक्षण र भातृ संगठनहरुको अधिबेशन, भेला र पुर्नगठन गरिरहेको छ । डाँडापारीको अभियान सम्पन्न गरी एमाले कोशिपारी अभियानमा जुटेको छ भने पालिकाहरुमा टोल कमिटी गरिरहेको छ । काँग्रेसले आईतबार देखि एक महिने अभियान शुरु गरेको घोषणा गरेको छ ।
    एमाले अध्यक्ष अशोक ब्याञ्जुका अनुसार जिल्लाको बेथान्चोक, खानिखोला, महाभारत, रोशी, तेमाल, नमोबुद्ध र पनौती नगरपालिकामा प्रशिक्षण सकिएको छ । चौरीदेउरालीमा चैत्र ५ र ६ गते, भुम्लु गाउँपालिकामा ५ र ६ गते, पाँचखाल र मण्डनदेपुरमा चैत्र ७ र ८ गते, बनेपा र धुलिखेलमा चैत्र ९ र १० गते प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । प्रशिक्षण कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री, काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटा, केन्द्रीय सदस्यहरु, बागमती प्रदेशका पदाधिकारीहरु, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, उपाध्यक्ष चन्द्र लामा, सचिव राजन भुर्तेल, उप सचिवद्धय राजकुमार सापकोटा र रिता ढकाल, पालिकाका इन्चार्जहरु, जिल्ला कमिटी सदस्यहरु, जनप्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको छ । प्रशिक्षणमा एमालेले वडा स्तरबाट सर्वसम्वत उम्मेदवारहरुको नामावली तयार गरी निर्णय गर्न निर्देशन दिएको छ । विगत कामको समिक्षा गर्दै जनताका बीचमा गरिएका प्रतिवद्धताहरुको समिक्षा गर्न र आगामी दिनका योजना निर्माण गर्न निर्देशन दिएको छ । एमालेमा विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्नेहरुको संख्या पनि थपिएको छ । एमालेले यो अभियानलाई प्रथामिकतामा राखेको बताएको छ ।
    त्यस्तै नेपाली काँग्रेस काभ्रेले पनि आईतबार देखि जिल्लाभर चुनावी अभियान शुरु गरेको छ । कांग्रेस प्रवक्ता प्रकाशरण महतले अभियानको बनेपामा शुरुवात गरेका छन् ।