2026 August 22/ 04:27: 03pm

अधिकांश पालिकाहरुले सडक मानवमुक्त बनाउने अभियान शुरु गरेका छैनन । नागरिक बडापत्रलाई अद्यावधिक गरेका छैनन ।

    धुलिखेल/स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुको कार्यअवधी सकिन लागेको छ । स्थानीय तहको निर्वाचन घोषणा भईरहँदा पालिकाहरुमा भएको विकास निर्माण तथा अन्य सेवाका बारेमा विश्लेषण हुन थालेको छ । नागरिकहरुलाई जिल्लामा रहेका १३ वटा पालिकाले कस्तो सेवा प्रवाह गरेका छन् ? अथार्त सुशासनमा स्थानीय सरकारको अवस्था कस्तो छ ? जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले प्रकाशित गरेको स्थानीय सरकारका उपलब्धी अभ्यास र अनुभवमा आर्थिक वर्ष २०७४/२०७५ देखि २०७७/२०७८ सम्मको समीक्षात्मक प्रगतिमा उल्लेख गरिएको छ ।
    सुशासनका लागि जिल्लामा रहेका ६ वटा नगरपालिकाहरुले कार्यालयले प्रवाह गर्नै सेवाहरुको सूची सहितको नागरिक वडापत्रहरु जारी कार्यालय परिसर भित्र सबैले देख्नेगरी टाँस गरेका छन् । सबै पालिकाहरुले आफ्नो पालिकाको आचार संहिता जारी गरेका छन् भने पनौती र पाँचखाल बाहेक अन्य चार नगरपालिकाहरु धुलिखेल, बनेपा, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकामा नगर सूचना केन्द्रहरु स्थापना गरिएका छन् । सबै नगरपालिकाहरुमा कम्प्युटराईज्ड लेखाप्रणाली लागु गरिएको छ । कार्यालय परिसर भित्र सिसिटिभी क्यामेरा जडान भएको छ भने सेवाग्राहीहरुको चापलाई अनुगमन गर्दै सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने प्रयास गरेका छन् । कर्मचारीहरुको नियमितता र समय ब्यवस्थापनका लागि विद्युत्तिय हाजिरी जडान गरी संचालनमा ल्याएका छन् । कोभिड १९ को संक्रमणमा विद्युत्तिय हाजिरी संचालनमा नल्याए पनि अहिले पुनः पालिकाहरुले त्यसलाई प्रयोगमा ल्याएका छन् । धुलिखेल बालमैत्री पालिका घोषणा भएको छ भने बनेपा र पनौतीमा प्रयासमा छन् । पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुरले अभियान नै शुरु गरेका छैनन ।     पूर्ण साक्षर पालिका घोषणा, पूर्ण साक्षर वडा घोषणा, ओडिएफ पालिका र वडा घोाषणा भने सबै पालिकामा भएको छ । सडक सहयोगापेक्षी मानवमुक्त पालिका घोषणा नमोबुद्ध र मण्डनदेउपुरले गरेका छन् । धुलिखेल, बनेपा, पनौती र पाँचखालमा मानविय चाप धेरै भएकाले अन्यत्रबाट पनि सडकमा मानवहरु आईरहने भएकाले पालिकाहरुले घोषणा गरेका छैनन । धुलिखेलमा रहेको मानव सेवालाई पालिकाहरुले सहयोग गरिरहेका छन् । मानव सेवा समाजले सडक मानवहरुको उद्धार गरिरहेको छ ।
    नगरपालिकाहरुको भन्दा गाउँपालिकाको अवस्था दयनिय छ । तेमाल र चौरीदेउराली गाउँपालिकाले नागरिक बडापत्र जारी तथा अद्यावधीक गरेका छन् । भुम्लु, रोशी तथा खानिखोला गाउँपालिकाले आफ्नो आचार संहिता बनाई जारी गरेका छन् । बाँकी पालिकाहरुले आचार संहिता समेत बनाएका छैनन । रोशी र चौरीदेउराली गाउँपालिकामा गाउँ सूचना केन्द्र स्थापना भएको छ भने ७ वटा पालिकाहरुमा कम्प्युटराईज्ड लेखा प्रणाली शुरु भएको छ । भुम्लु र महाभारत गाउँपालिकामा सिसिटिभी क्यामेरा जडान भएका छन् । सबै पालिकाहरुले विद्युत्तिय हाजिरी जडान गरेका छन् । जिल्लाका कुनै पनि गाउँपालिकाहरुले बालमैत्री सूचकहरु पुरा गरी बालमैत्री पालिका घोषणा गरेका छैनन । पूर्ण साक्षर पालिका, वडा घोषणा भएको छ भने ओडिएफ वडा र पालिका घोषणा भएको छ । सडक सहयोगापेक्षी मानवमुक्त पालिका कुनै पनि गाउँपालिका घोषणा हुन सकेका छैनन ।