2026 August 22/ 12:24: 20pm

विपद् ब्यवस्थापन र न्यूनिकरणको पूर्व तयारी
    धुलिखेल/नेपाली सेनाको कालीजंग गण धुलिखेलको समन्वयमा नेपाल प्रहरी, शशस्त्र प्रहरी, रेडक्रस काभ्रेले विपद ब्यवस्थापन र न्यूनिकरणको पुर्व तयारी अभ्यास गरेका छन् ।
    धुलिखेलको खेल मैदानमा आयोजित कार्यक्रममा भुकम्प तथा आगलागि नियन्त्रणमा सुरक्षा निकाय तथा स्थानीयहरुको भूमिकाका बारेमा अभ्यास प्रर्दशन गरिएको थियो । धुलिखेलको खेल मैदानमा पाँचवटा घर निर्माण गरिएका थिए । त्यो गाउँको नाम चटयाङ्गपुर हो । चटयाङ्गपुर गाउँमा सर्वसाधारणहरु चिया पसलमा गफिरहेका हुन्छन् । केहि साईकल खेलिरहेका थिए । बालबालिकाहरु खेलिरहेका थिए । घर भित्र मान्छेहरु आफ्नै धन्दामा ब्यस्त थिए । चैत्र बैशाखमा लाग्ने जस्तो टन्टलापुर घाम लागिरहेको थियो । एक्कासी एउटा घरमा आगो लाग्छ । आगो नियन्त्रणका लागि रुवाबासी शुरु हुन्छ । गाउँलेहरु जम्मा हुन्छन् । बालबालिकाहरुको चिच्याहट शुरु हुन्छ । एक पछि अर्काे घरमा आगलागि हुन्छ । हावाहुरीका कारण ब्यक्तिहरु घाईते हुन्छन् । भाँडाकुँडा, लत्ताकपडा र रासन समेत निकाल्न नपाउँदै घर घरानी हुन जान्छ । तत्काल नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी र रेडक्रस लगायतको उद्धार टोली आउँछ । आगो नियन्त्रण तथा उद्धारका लागि खटिएको टोलीले घाईतेहरुलाई थप क्षति हुन नदिन सुरक्षित ढंगबाट अस्पताल पठाउने काम गर्छन । विपद् ब्यवस्थापनका लागि उद्धारका सामाग्री तथा अग्नि नियन्त्रणका लागि गर्नु पर्ने पुर्व अभ्यासमा नेपाली सेनाको टोलीले सहभागिहरुलाई जानकारी गराएको थियो ।
    लगत्तै नेपाली सेना र शशस्त्र प्रहरीले भुकम्प पछि पुरिएका नागरिकहरुको शकुसल उद्धारको अभ्यास गरेका थिए । घरको तीन चार तल्ला माथीबाट सकुशल ब्यक्तिहरुको उद्धारका लागि सेना र शशस्त्रको अभ्यासले नागरिकहरुमा उत्साह जागेको थियो । नेपाल प्रहरीले ग्याँसको सिलिण्डरबाट आगलागि हुँदा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने अभ्यास देखाएको थियो । तत्कालै ग्याँसको पाईप बन्द गर्ने, बीचमा रहेको खाली भागमा एउटा औलाले बन्द गर्ने र अक्सिजन बन्द गर्न चिसो मण्डी अथार्थ अन्य कुनै सामाग्री र बाल्टिनीले छोेपिदिने जस्ता अभ्यास देखाएको थियो । सुरक्षा निकायसँग रहेका विपद ब्यवस्थापनका सामाग्रीहरुको पनि सोहि क्रममा प्रर्दशनी गरिएको थियो । कार्यक्रममा बोल्दै नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले तीन तहकै सरकारको दायित्व भित्र रहेको विपद ब्यवस्थापनलाई वडा तहमा नै हरेक क्षेत्रबाट सक्षम बनाउनु पर्ने बताउनु भयो । भुकम्प, पहिरो, आगलागी जस्ता विपदबाट बच्न स्थानीय तहमै तालिम प्राप्त जनशक्ति र सामाग्री उपलब्ध गराउनु पर्नेमा जोड दिनु भयो । त्यहि अभियानका क्रममा स्थानीय सरकारले विपद ब्यवस्थापन समिति वडा तहमै गठन गरी विपद कोष समेत स्थापना गरिसकेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । विपदमा सबै क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको अध्यक्ष ब्याञ्जुको भनाई थियो ।
    प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विपद ब्यवस्थापन न्यूनिकरण पुर्व तयारी अभ्यास स्थानीय तहसम्म लैजान आवश्यक रहेको बताउनु भयो । तीन तहका सरकारको जिम्मेवारीमा रहेको विपद ब्यवस्थापनलाई सामाग्री र जनशक्तिले पूर्ण बनाउनु पर्ने बताउनु भयो । सुरक्षा निकायले गरिरहेको पुर्व तयारी तथा विपद्को उद्धार र ब्यवस्थापनमा सरोकारवाला निकायहरु सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो । पुर्व तयारी अभ्यासका क्रममा धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, नेपाली सेना कालीजंग गणका गणपति कर्णेल मिलन थापा, प्रहरी प्रमुख एसपी चक्रराज जोशी, शशस्त्र प्रहरीका एसपी सुरेन्द्र बसढाथोकी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख एसपी नगेन्द्र दाहाल, वडा अध्यक्षहरु, कार्यालय प्रमुखहरु, विद्यार्थीहरु, रेडक्रसकर्मीहरुको सहभागिता रहेको थियो ।