– अखाद्य बस्तु विक्री
नमोबुद्ध/विपी राजमार्गका अधिकांश होटल पसलहरु अटेरी देखिएका छन् । पटक पटक अनुगमन गर्दा पनि सुधार नगरे पछि अनुगमन टोलीले होटल संचालकहरुलाई जरिवाना गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारको नेतृत्वमा विपी राजमार्गका दर्जनौ होटलहरुमा सोमबार अनुगमन भएको थियो । अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी प्रमुख एसपी चक्रराज जोशी लगायतको सहभागिता रहेको थियो ।
‘विपी राजमार्गमा रहेका विभिन्न होटल तथा पसलहरुमा अनुगमन गर्दा मुल्य सूची नराखिएको, मनलाग्दी शुल्क लिएको, म्याद नाघेका सामानहरु राखेको तथा ग्राहकहरुलाई स्वस्थ भन्दा अस्वस्थकर खाना खुवाएको फेला प¥यो’– सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले भन्नुभयो–‘६ महिना अघि राजमार्गमा यिनै होटल पसलहरुमा अनुगमन गर्दा यस्तै विवरण फेला परेकाले अन्तिम पटक मौका दिईएको थियो । पटक पटकको अनुगमनमा पनि सुधार नगरे पछि जरिवना तोकिएको हो ।’ होटलहरुमा अखाद्य सामानहरु विक्री गरेको फेला परेको घरेलु तथा साना उद्योग कार्यालय काभ्रेका प्रमुख रामप्रसाद कुस्माले बताउनु भयो । ‘राजमार्ग हुँदै आउने सवारी साधनका यात्रुहरुलाई छिटो दिने नाममा बासी र अखाद्य खानेकुरा उपलब्ध गराउने गरेको देखियो’–प्रमुख कुस्माले भन्नुभयो–‘म्याद नाघेका अखाद्य बस्तुहरु सोहि स्थानमा नै नस्ट गरी सचेत सहित जरिवना गरिएको छ ।’ अनुगमनका क्रममा उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमती प्रदेश हेटौटाका अधिकृत खड्क कार्की, उद्योग बाणिज्य संघका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको थियो ।
अनुगमन गरिएका मध्ये होटल दर्ता नगरी संचालन गरेका सुरेश घोरसाईने, मुल्य सूची नराखी अखाद्य बस्तु विक्री गरेको मनकामना रेस्टुरेन्ट एण्ड लज, संगिता भोजनालय, सुबास भट्टराई, नमस्ते सुस्मिता खाजा घर लगायतलाई ५÷५ हजार जरिवना गरेको छ । धुलिखेल ११ मा ८ वटा होटल अनुगमन गरिएको थियो भने नमोबुद्ध नगरपालिकामा १३ वटा होटल र एउटा किराना पसल अनुगमन गरिएको थियो । अनुगमनका क्रममा ४७ हजार मुल्य बराबरको सामान नष्ट गरिएको थियो ।









