धुलिखेल/नेपाली नागरिक भएको प्रमाणित गर्न र प्रमाणित भएका ब्यक्तिहरुले नेपाली नागरिकता लिन षड्यन्त्रपूर्ण अपराधहरु गरिरहेको खुलासा भएको छ । नागरिकता बनाउन आउनेहरुको शंकास्पद गतिविधिहरुका आधारमा गरिएको अनुसन्धानमा त्यस्ता केहि घटनाहरुको पर्दाफास भएको हो ।
‘नागरिकता लिन आउनेहरुलाई शंका लागेर सोधपुक्ष गर्ने क्रममा झुट्टा विवरण पेश गरी नागरिकता बनाउन खोजेको देखियो’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘नागरिकता उपलब्ध गराउन सहज प्रकृया अपनाउँदा अपनाउँदै असहज ब्यवहार र शंकास्पद गतिविधि गरे पछि शुरु गरिएको सुक्ष्म अनुसन्धानबाट झुट्टा विवरण पेश गरी नागरिकता लिन खोज्नेहरु पक्राउ परेका हुन् ।’ एक महिनाको बीचमा झुट्टा विवरण पेश गरी नागरिकता लिन खोज्नेहरु तीन जना पक्राउ परेका छन् भने केहिलाई अनुसन्धान शुरु गरिएको छ । स्थानीय तहबाट सिफारिस सहित आएका ब्यक्तिहरुले झुट्टा विवरण पेश गरेको प्रशासनले जानकारी दिएको छ । वडा अध्यक्षको सिफारिस विना नागरिकताको नयाँ र पुरानो दुबै सिफारिस हुन सक्दैन । वडा अध्यक्षहरु आफ्नै गाउँमा नबस्ने भएकाले पनि यस्ता समस्याहरु देखिएका हुन् । चौरीदेउराली गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष राजकुमार गौतमले कानुन विपरित अर्काे विवाह गरेकी श्रीमतीलाई समेत नागरिकताको सिफारि गरिदिनु भएको छ । पहिला विवाह भएकी श्रीमती र दोश्रो पटक विवाह गरिएकी श्रीमतीलाई एकै पटक नागरिकता बनाउन सिफारिस गर्ने वडा अध्यक्ष गौतम माथी अनुसन्धान शुरु भएको छ । प्रशासनले पहिलो विवाह भएकी श्रीमतीको नागरिकता बनाएर पठाएको छ भने अर्काे नागरिकता बनाएको छैन ।
काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाउँपालिका घर भएका एक व्यक्तिले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट २०७७ चैत्र १२ गते नेपाली नागरिकता प्राप्त गरी विदेश जाने प्रलोभनमा परी आफ्नै दाईलाई बुवा उल्लेख गरी किर्ते नक्कली जन्मदर्ता बनाई नावालक भाईलाई काका भनि सनाखत गराई पुनः २०७८ पुष २५ गते झुठ्ठा बिवरण पेश गरी दोहोरो नागरिकता प्राप्त गरेका थिए । उनले प्राप्त गरेको पछिल्लो नेपाली नागरिकता जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले २०७८
फागुन १३ गतेको निर्णयले रद्द गरी प्रतिवादी र कानूनको विवादमा परेका बालक गरी २ जनालाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट कानून बमोजिम नियन्त्रणमा लिई नेपाली नागरिकता ऐन २०६३ बमोजिम झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिएको कसूरमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एसपी चक्रराज जोशीले बताउनु भयो ।
त्यस्तै काभ्रेपलाञ्चोक जिल्ला साविक धुलिखेल नगरपालिका वडा नम्वर ५ हाल धुलिखेल नगरपालिका वडा नम्वर ६ बस्ने बर्ष ३८ का सुभास कुमार श्रेष्ठले २०४९ पुष २९ गते जिल्ला प्रशासन कार्यालय धनुषाबाट नेपाली नागरिकता प्राप्त गरेका थिए । सोहि नागरिकताका आधारमा श्रेष्ठले कतार एयरलाईन्समा जागिर खाई छाडेका थिए । पुनः सोही एयरलाईन्समा जागिर खान खोज्दा निजले दिएको आवेदनमा उमेर बढी भएका कारण जागिर नपाउने देखिए पछि २०७१ बैशाख २० गते पुनः जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट बास्तबिक विवरण ढाँटी झुठ्ठा विवरण पेश गरी दोहोरो नागरिकता प्राप्त गरेका थिए । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले २०७८ फागुन १३ गते दोश्रो पटक प्राप्त गरेको नेपाली नागरिकता प्रमाण पत्र रद्द गरी कानून बमोजिम नियन्त्रणमा लिई नेपाली नागरिकता ऐन २०६३ बमोजिम झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिएको कसूरमा अनुसन्धान गरिरहेको छ ।
यसअघि रोशी गाउँपालिकामा पनि नक्कली अभिभावक बनेर नागरिकता लिन खोज्ने दुई जना पक्राउ परेका थिए । नमोबुद्ध नगरपालिकाका घर भई शिखरआम्बोटे माईती भएकी एक महिलाले दोहोरो नागरिकता बनाएर विदेश गएकी छिन् । बनेपामा एक परिवारले अमेरिका पठाउने शर्तमा झुटा विवरण पेश गरी नागरिकता बनाई दिएका छन् । केहि वर्ष अघि भारतिय नागरिक नेपालकै भएको झुटा विवरण पेश गरी नागरिकता उपलब्ध गराईएको थियो । नागरिकतामा भएको झेलको खेल अनुसन्धानबाट बाहिरिएको छ । झुटा विवरण पेश गर्ने साहस वडा अध्यक्षहरुको सिफारिसबाट मिलेको देखिएको छ । अनुसन्धानले वडा अध्यक्षहरुको समेत संलग्नता देखिएको अवस्थामा कारवाही हुने प्रहरीले बताएको छ । बनेपा नगरपालिका वडा नम्वर ६ का वडा सचिव केहि महिना अघि हिरासतमा बसेका थिए ।









