कोलाँती, भुम्लु/जनता माध्यमिक विद्यालय कोलाँती भुम्लुमा अध्ययन गर्ने कक्षा ६ देखि ११ सम्मका बालबालिकाहरुको पहिलो कक्षा छुट्ने गरेको छ । अधिकांश बालबालिकाहरु विद्यालय आउने समयमा पानी बोक्न ब्यस्त हुने गरेका छन् । पानीको मुहान टाढा भएकाले उक्त क्षेत्रमा घर घर धारा ल्याउने प्रयास अझै सफल भएको छैन ।
पानीकै कारण बालबालिकाहरुको कक्षा छुट्ने गरेको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद गुरागाईले बताउनु भयो । ‘विद्यालय क्षेत्रका बालबालिकाहरु पानी बोक्न ब्यस्त हुन्छन’–प्रधानाध्यापक गुरागाईले भन्नुभयो–‘विहानभरी पानी बोकेर विद्यालय आउँदा धेरै बालबालिकाहरु भोकै हुने गरेका छन् ।’ थकाई र भोकका कारण विद्यालय आएका बालबालिकाहरुले पनि राम्रोसँग अध्ययन गर्न सक्दैनन् । विद्यालयले दिने दिवा खाजा कक्षा ५ सम्मका लागि मात्रै भएकाले उनिहरुको समस्या समाधान गर्न विद्यालय लाचार बन्नु परेको अध्यक्ष क्रान्ति लामाले बताउनु भयो । दलित, पहरी तथा अन्य समुदायका बालबालिकाहरु विद्यालय आउनु अघि विहानभरी पानी बोक्नुपर्ने अवस्था छ । बालबालिकाहरुले आधा देखि एक घण्टासम्मबाट पानी ल्याउने गरेका छन् । विद्यालयमा पनि पानी नभएकै कारण बालबालिकाहरु शौच गर्न जान सकेका छैनन् । बालबालिकाहरुलाई शौच जानुपर्ने डरले खाना खान पाउने विद्यार्थीहरुले पनि अड्कलेर खाने गरेका छन् ।
विद्यालयमा खानेपानी, भौतिक पूर्वाधारसँगै शिक्षक दरबन्दी अपुग रहेको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष क्रान्ति लामाले बताउनु भयो । ‘धेरै सुधार भएको छ’–उहाँले भन्नुभयो–‘सुधारका लागि स्थानीय सरकारले गरेको प्रयास सह्रानिय छ ।’ पालिकाले बालबालिकाहरुका लागि शैक्षिक सामाग्री निशुल्क उपलब्ध गराउँदै आएको अध्यक्ष गुमानध्वज कुँवरले बताउनु भयो । पानी नभएकै कारण आय आर्जन हुन नसकेको अभिभावक लक्ष्मी नेपालीले बताउनु भयो । ‘विहानभरी पानी बोक्यो, बस्तुभाउलाई पनि पु¥याउन सकिदैन, मान्छेले खान, नुहाउन, लुगा धुन पनि संकट छ’–लक्ष्मी नेपालीले भन्नुभयो–‘आकाशबाट परेको पानी संकलन गरेर वर्षातको समयमा खेति गर्ने बाहेक अरु केहि उब्जनी हुँदैन ।’ भाँडा माझेको पानी तरकारीमा लगाउँदा सागहरु लगाउन खोजे पनि सम्भव नभएको उहाँको दुखेसो छ । पानीकै कारण बसाई सर्न बाध्य हुनु परेको स्थानीयहरुले बताए । आम्दानीको श्रोत केहि नभएकाले गरिबी बढेको, गरिबीका कारण आत्महत्या गर्ने क्रम रोक्न नसकिएको, बालबालिकाहरुलाई नियमित पठनपाठनमा सहभागि गराउन नसकिएको जस्ता समस्या भोग्नु परेको उहाँले बताउनु भयो ।
कक्षा ११ अध्ययन गर्ने सञ्जिता नेपालीको घर विद्यालय सँगै छ । विद्यालयमा प्यास लाग्दा साथीहरु आफ्नो घरमा पानी खान आउने गरेको उहाँले बताउनु भयो । एक घर एक धारा भन्ने वडाको अभियान शुरु भए पनि सम्पन्न हुन नसक्दा पानीको चरम संकट ब्यहोर्नु परेको अभिभावक र विद्यार्थीहरुले बताएका छन् । माझी टोल घर भएकी ११ बर्षिया उत्तरा ढलकोटीले पानी ल्याएर विद्यालय आउनु पर्दा पहिलो कक्षा सधै छुट्ने गरेको बताउनु भयो । ‘विहान एक गाग्रो पानी ल्याएर विद्यालय आउँदा ११ बज्छ’–ढलकोटीले भन्नुभयो–‘पानीकै कारण खाना खान पनि भ्याईदैन । सधै पहिलो पिरियड अध्ययन गर्न पाईदैन ।’ अभिभावक राजकुमारी ढलकोटीले विद्यालयमा पानी नभएका कारण आफ्नो घरमा दैनिक ४÷५ जना बालबालिका पानी माग्न आउने गरेको बताउनु भयो । विद्यालयले समेत बालबालिकाहरुका लागि पानी जुटाउन सकेको छैन ।
वडा अध्यक्ष भरतबहादुर शिवभत्तिले कोलाँती भुम्लुका लागि ८ करोडको खानेपानी आयोजना सञ्चालन भईरहेको बताउनु भयो । भुम्लुखेत खहरे खोला कोलाँती लिफ्टिङ्ग आयोजना मार्फत ४ सय घर धुरीका लागि खानेपानी ब्यवस्थापन गर्न पाईप विस्तार र दुईवटा खानेपानी ट्याङ्की निर्माण गरिसकिएको वडा अध्यक्ष शिवभक्तिले बताउनु भयो । ‘चालु वर्षमा चोक चोकमा पानी आउँछ’–वडा अध्यक्ष शिवभक्तिले भन्नुभयो–‘अर्काे वर्ष घर घर धारा जडान हुनेछन् ।’ २०५६ सालमा ल्याएको खानेपानीको मुहानबाट पानीको ब्यवस्थापन हुन नसके पछि लिफ्टिङ्ग गरिएको थियो । लिफ्टिङ्गका लागि विजुलीको ब्यवस्थापन हुने वित्तिक्कै पानी वितरण हुने अध्यक्ष शिवभक्तिले बताउनु भयो । खानेपानीका लागि स्थानीय उपभोक्ता समितिले कार्य गरिरहेको उहाँले बताउनु भयो । खानेपानीको चरम संकट निम्तिदै गए पछि स्थानीयहरुले बस्तुपाल्न सकेका छैनन् भने कामको सिलसिला देखाउँदै बसाई सर्ने र मजदूरीका लागि राजधानी जाने क्रम बढेको छ ।









