चौरीदेउराली/स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा स्थानीय सत्ताको दुरुपयोग गर्दै नेकपा माओवादी केन्द्रबाट निर्वाचित चौरीदेउराली गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतमले गाउँपालिका र पार्टीको कार्यक्रम एउटै मञ्चमा एकै पटक गरेका छन् । स्थानीय चुनावलाई प्रभावित गर्ने उद्देश्यले गाउँपालिकाको आयोजनामा पार्टीको कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागीहरुले पार्टीका नारा घन्काउँदै पार्टीकै गितमा नृत्य र झाँकी प्रस्तुत गरेका थिए । ‘यो पार्टी र गाउँपालिकाको संयुक्त परिचालन पछि आयोजित कार्यक्रम हो, फेरी पनि भन्छु माओवादीलाई भोट दिनुस्’– वडा नम्वर ७ का अध्यक्ष विरबल लामाले भन्नुभयो–‘पार्टीले सबै कमिटी परिचालन गरी स्थानीयहरु सहभागी गराएको हो ।’ चौरीदेउराली गाउँपालिका भित्र विद्रोही माओवादी र राज्यपक्षबाट विभिन्न समयमा ३५ जनाले ज्यान गुमाएको गाउँपालिका अध्यक्ष दिनानाथ गौतमले बताउनु भयो । शहिद सबैका भएकाले एउटै मञ्चबाट कार्यक्रम गरिनु नयाँ नभएको उहाँले बताउनु भयो । गाउँपालिकाका कार्यक्रममा नेकपा माओवादीका लोगो अंकित ब्यानर, तोरण र झण्डा कार्यक्रम स्थलमा प्रयोग गरिएको थियो । वडा अध्यक्ष विनोद घिसिङ्गले गाउँपालिका र पार्टीको संयुक्त कार्यक्रम भएकाले एकै पटक जनपरिचालन गरिएको बताउनु भयो ।
गाउँपालिकाले कार्यक्रम आयोजना गरिरहेको मञ्चमै नेकपा माओवादीले पार्टी प्रवेशको ब्यानर राखेर विभिन्न पार्टीमा कृयाशिलहरुलाई पार्टी प्रवेश गराएको थियो । चौरीदेउराली गाउँपालिकाले आयोजना गरेको सहिद तथा वेपत्ता पारिएका परिवारका सदस्यहरुको सम्मान र नवनिर्मित सहिद शालिक अनावरण कार्यक्रममा नेकपा माओवादी केन्द्रले पार्टी प्रवेश तथा ¥याली आयोजना गरेको थियो । कार्यक्रममा माओवादी नेता तथा युवा तथा खेलकूद मन्त्री महेश्वर गहतराजले विभिन्न पार्टी परित्याग गरेका कार्यकर्ताहरुलाई माओवादीमा प्रवेश गराएका थिए । मञ्चमा सहभागी बक्ताहरुले नेकपा माओवादीलाई आगामी निर्वाचनमा भोट मागे पछि अर्का बक्ता लोकबहादुर गौतमले भोट माग्ने कार्यक्रम नभएको बताएका थिए ।
गाउँपालिकाले विभिन्न वडाबाट कार्यक्रममा सहभागी हुन गाडीहरु रिजर्भ गरेको थियो । रिजर्भ गाडीमा सबै माओवादी कार्यकर्ताहरु झण्डा बोकेर सहभागी भएका थिए । उक्त खर्च समेत गाउँपालिकाले ब्यहोरेको छ । कार्यक्रममा माओवादीका नेताहरु रत्न ढकाल, गंगा बहादुर तामाङ, सूर्यमान दोङ, तेज बहादुर मिजार, रुकु चौलागाई, रेणुका चौलागाई लगायतका दर्जनौ नेताहरु सहभागी थिए ।









