मोतीराम तिमल्सिना
धुलिखेल
११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विविध कार्यक्रमका साथ जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय पालिकाका उपप्रमुख तथा सरोकारवाला निकायहरुसँग न्यायिक समितिका कार्यसम्पादन तथा लैङ्गिक हिंसा न्यूनिकरणका लागि अन्तक्र्रिया आयोजना ग¥यो । १३ वटै पालिकामा पालिकास्तरीय तथा जिल्ला स्तरीय सचेतनामूलक कार्यक्रम आयोजना भएका छन् । हरेक कार्यक्रमको उदेश्य एउटै थियो सामाजिक न्याय र लैङ्गिक समानताका लागि दिगो विकासको सुनिश्चितता ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले समग्र नारीहरुको सुरक्षा तथा लैङ्गिक समानताका लागि समाजका सबै पक्ष सक्रिय हुनुपर्ने सन्देश दिनु भएको छ । स्थानीय तहका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरु तथा जनप्रतिनिधि र कर्मचारीहरुको सन्देश पनि त्यहि छ । तर पनि जिल्लामा घरेलु हिंसा, आत्महत्या, जर्बजस्ति करणी, बालविवाह, बालयौन दुराचार, बोक्सीको आरोप जस्ता जघन्य अपराध न्यूनिकरण हुन सकेको छैन । आर्थिक वर्ष २०७७÷०७८ को तथ्याङ्कले पनि अपराध न्यूनीकरण भन्दा बढिरहेको देखाउँछ । आर्थिक वर्ष २०७७÷०७८ मा झुण्डिएर ९३ जनाले ज्यान गुमाउन पुगेका छन् । चालु वर्षको साढे ७ महिना अर्थात फागुन १५ सम्म ५५ जनाले झुण्डिएर आत्महत्या गरिसकेका छन् । विषादी सेवन गरेर मृत्यु हुनेहरुको संख्या अघिल्लो वर्ष ४२ जना थिए भने यो वर्ष १६ जना पुगिसकेका छन् । आत्महत्या गर्नेहरुको संख्या अघिल्लो वर्ष १ सय ३५ जनाले ज्यान गुमाए भने यो वर्ष ७४ जना पुगिसकेका छन् । प्रहरी प्रमुख एसपी चक्रराज जोशीले आत्महत्या न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम संचालन गरिरहेको बताउनु भएको छ । घरेलु हिंसाका कारण आत्महत्या गर्नेहरुको संख्या थपिन थालेको छ । चालु वर्षमा ८ वर्ष, ११ वर्ष र १६ वर्षका बालबालिकाहरुले आत्महत्या गरेका छन् । चालु वर्षमा १४ वर्षमुनिका ४ जना बालबालिकाहरुले आत्महत्या गरेका छन् । १६–२५ उमेरका १९, २६–३५ उमेर समुहका १३, ३६–४५ उमेर समुहका १९, ४६–६० उमेर समुहका १३ र ६० वर्ष माथिका ६ जनाले आत्महत्या गरेका छन् । महिला २९, पुरुष ४१, बालक १ र बालिका ३ जना छन् । बनेपा, पाँचखाल, धुलिखेल, पनौती, मण्डनदेउपुर र कोशीपारी क्षेत्र बढी प्रभावित मानिएको छ । आत्महत्या दुरुत्साहनमा पुरुष २ जना र महिला १ जनालाई मुद्दा दर्ता गरिएको छ ।
जर्बजस्ति करणी अघिल्लो वर्ष २८ वटा भए भने यो वर्ष २० वटा भएका छन् । जर्बजस्ति करणी उद्योग तर्फ अघिल्लो वर्ष ६ वटा र चालु वर्षमा २ वटा छन् । कानूनले बहुविवाह रोकेको भए पनि अघिल्लो वर्ष ५ वटा र चालु वर्षमा २ वटा घटना दर्ता भएका छन् । समझदारीका लागि घटना दर्ता नभएका केहि उदाहरण पनि छन् । बालयौन दुरुपयोगमा अघिल्लो वर्ष ३ वटा र यो वर्ष १ वटा घटना दर्ता भएको छ । अघिल्लो वर्ष बालविवाह तीनवटा भएका थिए । बोक्सीको आरोपमा तीनवटा घटना दर्ता भएका छन् । नागरिकता कसुर सम्बन्धी कसुरमा चालु वर्षमा ३ वटा घटना दर्ता भएका छन् । अघिल्लो वर्ष ४ सय ४२ वटा घटना दर्ता भएको प्रहरी प्रमुख एसपी चक्रराज जोशीले बताउनुभयो । चालु वर्षमा २ सय ४८ वटा घटना दर्ता भएका छन् ।
जिल्लामा घरेलु हिसाका घटनामा बृद्धि भएको छ । आर्थिक वर्ष २०६७÷२०६७ मा घरेलु हिंसाका २१६ वटा उजुरी दर्ता भएका थिए । जसमध्ये १ सय २६ वटा उजुरीमा मिलापत्र भएको छ । मिलापत्र हुन नसकेका १२ वटा उजुरी अदालतमा पुगेका थिए । प्रहरी कार्यालयमा उजुरी दिएर ७८ जना ब्यक्ति सम्पर्कमा आएनन् । कोरोना भाईरसका कारण आर्थिक वर्ष २०७७÷०७८ मा १ सय ७२ वटा मात्रै उजुरी दर्ता भए । जसमध्ये १ सय ३१ वटा घटनामा मिलापत्र भएका छन् । १३ वटा उजुुरी मिलापत्र हुन नसकेका कारण अदालतमा दर्ता भएका छन् भने ३४ वटा उजुरीका ब्यक्तिहरु सम्पर्कमा आएनन् । चालु वर्षको साँढे ७ महिनामा यो संख्या ह्वात्तै बढेको छ । १ सय ७२ वटा उजुरी दर्ता भईसकेका छन् भने १ सय १२ वटामा मिलापत्र भएका छन् । ३ वटा उजुरी अदालतमा दर्ता भएका छन् । ५७ जना अझै सम्पर्कमा छैनन् । तथ्याङ्कले घरेलु हिंसाको संख्या बढिरहेको, स्थानीय तहमा रहेको न्यायिक समितिमा पनि यि उजुरीहरु जाने नगरेको देखाएको छ । स्थानीय तहमा रहेको न्यायिक समितिमा पनि उजुरीको संख्या धेरै भए पनि जनप्रतिनिधिहरुलाई कम विश्वास गरेका कारण प्रहरीकोमा उजुरीको संख्या थपिन गएको विश्लेषण गरिएको छ । घरेलु हिंसाकै कारण आत्महत्या तथा अन्य अपराधका घटनामा बृद्धि हुन थालेको छ । प्रहरीले अभियोगमा आत्महत्यामा घरेलु हिंसा भनेको अवस्थामा किटानी जाहेरी दर्ता गरी अनुसन्धान शुरु गरेको छ । दर्ता भएका मध्ये चालु वर्षमा तीन वटा मुद्दामा आत्महत्या दुरुत्साहन अभियोगमा मुद्दा दर्ता भएको छ । केहि दिनअघि पाँचखालको खावामा एक महिलाको आत्महत्यामा परिवारलाई अभियोग दर्ता भएको छ ।
प्रहरीले अपराध नियन्त्रण गरी कानुनी राज्यको स्थापना, दण्डहीनताको अन्त्य गराई पीडितलाई न्याय अनुभूति गराउने उद्देश्यले बिभिन्न मितिमा सम्मानित अदालत र न्यायिक निकायहरुबाट दण्ड जरिवाना र सजायँ तोकि समाजमा लुकी छिपी रहेका मध्ये आर्थिक वर्ष ०७८÷०७९ मा ७७ जना पक्राउ गरेको छ । जसमा १० जना महिला फरार प्रतिबादीहरु छन् । आ.व. ०७८÷०७९ को फागुन १५ सम्ममा मुद्दा दर्ता संख्या १ सय ६६ मा १ सय ६७ जना प्रतिवादीहरु पक्राउ गरी कानुन बमोजिम कारबाही गरीएको छ । दलिय प्रभावका कारण बिबादका पक्षहरुको न्यायिक समिति माथिको विश्वासमा कमी, झुट्टा उजुरी÷निवेदन÷मुद्दा दायर गर्ने प्रवृत्ति (प्रहरीमा), विपक्षी प्रहरीको नियन्त्रणमा नरहेसम्म न्याय प्राप्तीको आभास नहुनु, स्थानिय न्यायिक समितिको अधिकार क्षेत्रबारे स्थानिय सर्वसाधारणहरुलाई जानकारी नहुनु, आत्महत्याको घटना पछिको परीदृश्य, सडक दुर्घटना र सार्वसाधारणको भुमिका (उद्दार र मानवता), सडक दुर्घटना र सर्वसाधारणको दृष्टिकोण (साना र ठुलो सवारी साधनप्रतिको धारणा), न्याय निरुपण÷मिलापत्र÷सहमति कार्यन्वयन फितलो, सामाजिक अपराध विरुद्ध लक्षित समूहमा जनचेतनामूलक कार्यक्रमको कमी, पालिका केन्द्र, प्रहरी ईकाई र वडा ईलाकाहरुको भौतिक दूरी टाढा भएकाले सहज पहुँच नहुनु लगायतका समस्या रहेको प्रहरीले बताएको छ । प्रहरीले घरेलु हिंसा न्यूनिकरणका लागि कार्यालयमा नागरीक सहायता कक्षको निर्माण, महिला तथा बालबालिका सेलको व्यवस्था, सामाजिक सहायता कक्ष (दलित, अल्पसंख्यक, ज्येष्ठ नागरीक आदी), बालमैत्री कक्ष तथा सेफ हाउसको व्यवस्था, २४/७ प्रहरी सेवाको व्यवस्था, पैसा नलाग्ने hotline १०० को व्यवस्था तथा सेफ्टी पिन क्याम्पिएन संचालन गरेको छ ।









