आयआर्जनका लागि बालबालिका सहित परिवार नै भट्टामा
बनेपा/जिल्लाको विकट गाविस महाभारत स्थित बनुख बाँसपुर घर भएका १४ बर्षिय धर्मध्वज मसिंर महिना देखि निरन्तर बनेपा नगरपालिका वडा नम्वर १ माँ भगवती इटाभट्टा उद्योगमा ईटा पारिरहनु भएको छ । दैनीक विहान ४ नबज्दै इटा बनाउन शुरु गर्ने धर्मध्वज निरन्तर साँझसम्म काम गरिरहनु हुन्छ ।
२०७६ चैत्रमा कक्षा ७ को परिक्षा सकाएर बनेपा आउनु भएका धर्मध्वज कोरोना भाईरसका कारण लामो समय विद्यालय बन्द भएका कारण गाउँ फर्कनु भएन । २०७७ जेठ महिनामा गाउँ फर्किदा विद्यालयले पुस्तक उपलब्ध नगराएको भन्दै विद्यालय जान नमान्नु भएका धर्मध्वजले त्यहि बेला देखि विद्यालय जान छाड्नु भएको थियो । छोरो विग्रने डरले बाबु विवाईसिं स्याङ्गताङले धर्मध्वजलाई आफुसँगै भट्टामा लिएर हिड्नु भएको थियो । २०७७ सालमा झण्डै महिना र २०७८ सालको मसिंर महिना देखि धर्मध्वज सहित उनका दाजुहरु १६ बर्षिय आशिष तामाङ, २१ बर्षिय इमानसिं तामाङ, उनको श्रीमती र विवाईसिं स्याङतान भट्टामा काम गरिरहनु भएको छ । इमानसिंको तीन वर्षको बच्चा पनि साथमै छ । ‘बालबालिकाहरुलाई निकृष्ट र जोखिमयुक्त काममा लगाउनु हुँदैन भन्ने जानकारी छ’–बाबु विवाई सिं स्याङताङले भन्नुभयो–‘विद्यालय जान नमाने पछि काममा नलगाए दुब्र्यससनमा फस्ने डरले परिवार नै भट्टामा लिएर आएँ ।’
स्याङताङ परिवारले दैनिक ३ हजार ५ सय इटा बनाउने गरेका छन् । एक हजार इटा बनाए बापत १ हजार ३ सय रुपैया प्राप्त हुन्छ । बचाउन सकियो भने माटो खाएरै भए पनि केहि रकम जम्मा गर्न सकिने उहाँको बुझाई छ । स्याङताङ परिवार जस्तै आयआर्जन नभएकै कारण महाभारतबाट बर्षेनी ३ सय भन्दा धेरै परिवार भट्टामा जाने गरेका छन् । जसका कारण बालबालिकाहरु जोखिममा पर्ने गरेका छन् । सिन्धुली घ्याङलेक गाउँपालिका वडा नम्वर ५ घर भएका भक्तबहादुर स्याङताङले आफ्न तीन र दाईको समेत छोरी लिएर भट्टामा काम गरिरहनु भएको छ । बालबालिकाहरुलाई नजिकै रहेको इन्द्रशोभा आधारभुत विद्यालयमा पढ्न पठाउने गरेको बताउनु भयो । भट्टामा चिसो तथा अन्य प्रकारका संक्रमणहरुले बालबालिकाहरु विरामी भईरहने गरे पनि समयमा काम गर्नु पर्ने बाध्यता रहेको उहाँको भनाई थियो ।
बनेपा नगरपालिकाले आगामी २०७८ चैत्र १४ गते स्थापनाको ४१ औ वर्ष प्रवेशको अवसर पारी बनेपा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणाको तयारी गरेको छ । यस अघि जिल्लामा पहिलो पटक धुलिखेल नगरपालिकाले बालमैत्री नगर घोषणा गरेको छ । बालमैत्री नगर घोषणाको पहिलो शर्त बालश्रम मुक्त गर्नु पर्ने सुचकांकमा छ । बालमैत्रीका ५१ वटा सुचकांक पुरा गर्ने गरी नगरपालिकाले दुई दिन बालमैत्री नगर घोषणाको पुर्व तयारी स्वरुप बालश्रम मुक्त घोषणा गर्न अनुगमन गरेको छ । बालबालबालिकाहरुलाई श्रममा प्रयोग गर्न सक्ने क्षेत्र घरेलु कामदार, भरिया, कृषि र पशुपालन, लागु औषध, बुनाई तथा अन्य उद्योग र यौन ब्यवसायको क्षेत्र, सडक यातायात, रेस्टुरेन्ट तथा ईट्टा भट्टामा प्रयोग गर्न सक्ने अवस्था छ । नगरपालिकाले १७ क्षेत्रलाई प्राथमिकतामा राखेर अनुगमन गरेको प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतीले बताउनु भयो । २०३८ चैत्र १४ गते तत्कालिन सरकारले जिल्लामै पहिलो पटक बनेपा नगर पञ्चायत घोषणा गरेको थियो ।
नगरपालिका भित्र आर्थिक तथा सामाजिक रूपमा पछि परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने, बालविवाह, महिला विरुद्धको हिंसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचबिखन, निरक्षरता जस्ता सामाजिक कुरीति र अन्धविश्वासको अन्त्य गर्ने, गराउने, सडक बालबालिकाको उद्धार र पुनस्र्थापना गर्ने गराउने, प्राङ्गरिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिशामुक्त सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रवद्र्धनात्मक कार्यहरू गर्ने, गराउने उल्लेख छ । यि सबै बुँदामा नगरपालिकाले आवश्यक तयारी सकेको नगर प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठले बताउनु भयो ।
बालश्रम मुक्त नगर घोषणाका लागि नगर प्रमुख लक्ष्मीनरसिं बादे, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, उपप्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती, वडा अध्यक्षहरु, नागरिक समाजका प्रतिनिधिहरु, सहभागि भएका थिए । बालमैत्री नगरका लागि साझेदार संस्था सिर्जनशिल समाज नेपालले सहजिकरण गरिरहेको जेष्ठ नागरिक तथा महिला बालबालिका शाखा प्रमुख विजया सुवेदीले बताउनु भयो । अनुगमनका क्रममा बनेपाका अधिकांश वडाका विभिन्न क्षेत्रमा टोली पुगेको थियो । बालबालिकाहरु जोखिम अवस्थामा रहेको फेला परे नगरपालिकाले जिम्मेवारी सहितको ब्यवस्थापन गर्ने नगर प्रमुख लक्ष्मीनरसिं बादेले बताउनु भयो । उपप्रमुख रेखा सापकोटा दाहालले किशोरी समुह मार्फत बाल विवाह रोक्ने, बालबालिकाहरुलाई जोखिमयुक्त कार्यमा लगाएको भए रोक्ने लगायतका कार्यहरु गरेको बताउनु भयो ।









