2026 August 22/ 09:24: 43am

    धुलिखेल/स्थानीय तहको निर्वाचन घोषणा गरे लगत्तै दलहरु आन्तरिक तयारीमा जुटेका छन् भने निर्वाचन आयोग काभ्रे पनि निर्वाचनको तयारीमा जुटेको छ । भोलि शुक्रबार जिल्ला निर्वाचन आयोगले निर्वाचन दिवस मनाउन दलहरुलाई आमन्त्रण गरी स्थानीय तहको निर्वाचनका बारेमा सामान्य जानकारी गराउने छ । 
    सरकारले निर्वाचन घोषणा गरेको दिनसम्म १८ वर्ष पूरा भएका मतदाताहरुले स्थानीय तहको निर्वाचनमा भाग लिन पाउनेछन् । काभ्रेमा त्यस्ता मतदाताको सख्या ३ लाख १ हजार पुगेको छ । निर्वाचन आयोगमा फोटो सहितको नामावली दर्ता गर्ने मतदाताहरुको अद्यावधीक गर्ने कार्य भईरहेको जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिनु भयो । ‘मतदाता नामावली हरेक वर्ष अद्यावधिक हुन्छ’–निर्वाचन अधिकारी राईले भन्नुभयो–‘सबै पालिकामा निर्वाचनसँग सम्वन्धित एक जना सम्पर्क ब्यक्ति तोकिएको छ । उहाँ मार्फत पालिकामा मतदाताहरुको अवस्थाका बारेमा जानकारी माग गरी अद्यावधिक हुँदै आएको छ ।’ हरेक पालिकाले आफ्नो पालिकामा रहेका नागरिकहरुको मृत्यु भएमा त्यसको जानकारी निर्वाचन आयोगलाई जानकारी गराउनु पर्नेछ । हालसम्म पछिल्लो समय धुलिखेल नगरपालिकाले बाहेक अन्य पालिकाले त्यस्तो विवरण बुझाएका छैनन । 
    धुलिखेलमा २०७४ को निर्वाचन पछि मृत्यु हुनेको संख्या १ हजार ५ सय नाघेको छ । उक्त ब्यक्तिहरुको सूची निर्वाचन आयोगले अद्यावधिक गरेसँगै मतदाता सूचीबाट हट्नेछ । नत्र पालिकाले विवरण नपठाउँदा निधन भएका ब्यक्तिहरुको नामावली सूचिमा कायम रहनेछ । हरेक पालिकालाई समयवाधी तोकेर विवरण पठाउन अनुरोध गर्ने तयारी भएको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जानकारी दिएको छ । भईरहेको विवरण अन्यत्र फोटो खिचाएका ब्यक्तिहरुको नामावली थप हुनेछ । मतदाता नामावली अद्यावधिक गर्ने कार्य सकिए पछि अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।