धुलिखेल/धुलिखेल नगरपालिकाको समग्र विकासलाई मध्यनजर आगामी २० बर्ष भित्र सम्पन्न गर्ने गरी ‘समृद्ध धुलिखेलको सुनिश्चित भविष्य’ साकार गर्न २०१ बुँदे संकल्प प्रस्ताव नगर सभाबाट पास गरेको छ ।
संकल्प प्रस्तावमा धुलिखेल नगरलाई निरपेक्ष गरिबी मुक्त शहर बनाउने, स्नातक तहसम्मको शिक्षा निःशुल्क गर्ने, स्वस्थ शहर घोषणा गर्ने, खानेपानी र विद्युतीय महशुल गरिब परिवारको निःशुल्क गर्ने, विद्यालय शिक्षा गुणस्तरीय बनाउने, एक घर एक रोजगार, एक घर एक सीप मुलक तालिम सुनिश्चित गर्ने, सबै परिवारलाई उद्यमशिल बनाउने, औद्योगिक केन्द्रलाई ग्रिन इनर्जी युक्त बनाउने, कार्बन उत्सर्जन मुक्त र प्रदुषण मुक्त शहर बनाउने, एक वडा एक खेल मैदान बनाउने निर्णय गरेको छ । खानेपानीमा आत्मनिर्भर शहर बनाउने, धुलिखेललाई पर्यटक मैत्री शहर घोषणा गर्ने, सबै वडामा नगर बस सन्चालन गर्ने, सबै टोलमा सडक बत्ति पु¥याई अँध्यारो मुक्त शहर घोषणा गर्ने, संग्रहालयमा सय बर्ष पुराना बस्तुको संग्रह गर्ने निर्णय गरेको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो ।
संकल्प प्रस्तावमा ड्रिम ल्याण्ड प्रोजेक्ट कार्यान्वयन गर्ने, अरनिको राजमार्ग छेउ आधुनिक बस पार्क निर्माण गर्ने, एक वडा एक कृषि उत्पादन केन्द्र बनाउने, दीगो विकास लक्ष्यका सबै लक्ष्य सन २०३० पुर्व हासिल गरि नेपालको पहिलो नगर बनाउने, १०० किलो मिटर सडक बनाई सबै बस्तीमा पिच पु-याउने, कृत्रिम ताल निर्माण गरि पर्यटन र सिचाइको उपयोग गर्ने, आकस्मिक दुर्घटनामा परेको बिरामी उपचार गर्न १०० वेडको ट्रमा सेन्टर बनाउने, धुलिखेल आवास केन्द्र निर्माण गर्ने, सबै सामुदायिक वनको डिपिआर बनाइ लागू गर्ने, सबै संस्कृतिक सार्वजनिक सम्पदा (मठ, मन्दिर, पाटी पौवा, गुम्बा, मस्जिद)को पुनःनिर्माण तथा जीर्णोद्धार गर्ने संकल्प गरेको छ ।
धुलिखेल खेल मैदानलाई आधुनिक बनाउने, धुलिखेलमा कम्तिमा राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने, सबै खालको कला, साहित्य, संगीत अध्ययन केन्द्र बनाउने, एक वडा एक वन नमुना र पर्यापर्यटन वन बनाउने, स्मार्ट शहरको डिपिआर बनाई लागू गर्ने, सबै वडाको सुबिधा सम्पन्न कार्यालय बनाउने, सीप विकास केन्द्र स्थापना गर्ने, जेष्ठ नागरिक सेवा केन्द्र र बालबालिका हेरचाह केन्द्र निर्माण गर्ने संकल्प पास गरेको छ । पशु अस्पताल बनाउने, पर्यटन सुचना केन्द्र बनाउने, अरनिको राजमार्ग आठ लेनमा बिस्तार गर्ने, बिपी राजमार्गलाई नगर क्षेत्र भित्र ६ लेनको बनाउने, सुकुम्बासी मुक्त सहर घोषणा गर्ने, भुमिहीन र अब्यबस्थित बसोवास ब्यबस्थापन गर्ने, धुलिखेल, श्रीखण्डपुर र ईटेलाई नमुना बस्तीको रुपमा विकास गर्ने, तामाङ्ग, ब्राह्मण क्षेत्री नमुना नेपाली वस्ती बनाउने लगायत रहेका छन् ।
आज ३६ औं स्थापना दिवस
धुलिखेल नगरपालिकाले फागुन ५ गते आज विहिबार ३६ औ स्थापना दिवस मनाउँदै छ । पुर्व मन्त्री, नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ का सांसद गोकुल बास्कोटाले स्थापना दिवसमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
नगर प्रमुख अशोक ब्याञ्जुले स्थापना दिवसका अवसरमा नगरपालिकाले विगत वर्षहरुमा गर्दै आएको विभिन्न क्षेत्रका ब्यक्तिहरुको सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम यो वर्ष पनि हुने बताउनु भयो । स्थापना दिवसमा नगरपालिकाले गरेका कार्यहरु तथा आगामी वर्षहरुमा गर्ने २० वर्षे संकल्प प्रस्तावका बारेमा समेत जानकारी गराईनेछ । नगरपालिकाले पाँच वर्षको अवधीमा हासिल गरेका महत्वपूर्ण उपलब्धीहरुको संगालो, शिक्षा, स्वास्थ्य तथा कृषि र पशुपालन क्षेत्रमा भएका गतिविधिहरुका अलावा पुर्वाधार निर्माण तथा स्वस्थ शहरको अभियानका बारेमा पनि नागरिकहरुलाई जानकारी गराईनेछ । स्थापना दिवसका अवसरमा नगरपालिकाले धुलिखेलको अरनिको पार्कबाट ¥याली निकाल्नेछ । सोहि ¥याली नगरपालिकामा पुगेर सभामा परिणत हुनेछ ।









