धुलिखेल/नेपालमै पहिलो धुलिखेल नगरपालिकाले शुरु गरेको स्वस्थ शहर कार्यक्रमका बारेमा जानकारी लिने उद्देश्यले विश्व बैंकको टोली धुलिखेल नगरपालिकामा पुगेको छ । नगरपालिकाले संचालन गरेको स्वस्थ शहर कार्यक्रमका साथै पछिल्लो समय कोभिड महामारी नियन्त्रणका लागि नेपाल सरकारले संचालन गरेको खोप कार्यक्रमको प्रभावकारीताका बारेमा जानकारी लिन उक्त टोली धुलिखेल आएको हो ।
धुलिखेल नगरपालिका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले विश्व बैंकका कन्ट्रि डाईरेक्टर फेरिस हाडेड जिरभस, युनिसेफका नेपाल प्रतिनिधि डा. एलिक विस्च, डब्लुएचओका नेपाल प्रतिनिधि डा. राजेश सम्बाजिरो मल्ल, डाईरेक्टर तथा डिभिजन प्रमुख डा. सगिता मल्ल, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाई, डा. अमित भण्डारी, धुलिखेल अस्पतालका प्रशासकिय निर्देशक डा. रमेश माकजु, डा. रजिव तथा डब्लुएचओका फोकल पर्सन डा. पवन उपाध्याय लगायतलाई स्वागत गर्दै धुलिखेलले गरेको स्वस्थ शहर कार्यक्रम र खोप अभियानका बारेमा जानकारी गराउनु भएको थियो ।
स्वस्थ शहर अभियान अन्र्तगत धुलिखेलले घर धुरी सर्भे गरी हरेक ब्यक्तिको स्वास्थ्यको अवस्थाका बारेमा तथ्याङ्क लिईसकेको बताउँदै नगर प्रमुख ब्याञ्जुले नागरिकहरुको सहज उपचार र स्वास्थ्य पहुँचका लागि घरबाट ३० मिनेटको दुरीमा स्वास्थ्य संस्थाको स्थापना, स्वास्थ्य संस्थामा दक्ष जनशक्ति र आवश्यक औषधी निःशुल्क उपलब्ध गराउँदै शिविरहरु संचालन, विशेषज्ञ सेवा उपलब्ध गराएको बताउनु भयो । नगरपालिकाले सर्ने र नसर्ने रोगको नियन्त्रणका लागि स्वस्थ आहार, शारिरीक ब्यायामका लागि युवा तथा जेष्ठ नागरिक र बालबालिकाहरुका लागि अलग अलग योजना निर्माण गरी कार्य गरेको बताउनु भयो । नागरिकहरु स्वस्थ राख्न खानेपानी र अन्य खाद्य उत्पादन र प्रयोगमा समेत नगरपालिकाले योजनाबद्ध रुपले कार्य गरेको टोलीलाई नगर प्रमुख ब्याञ्जु्ले जानकारी गराउनु भएको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले जानकारी दिनुभयो । टोलीले राखेको जिज्ञासाका बारेमा नगर प्रमुख ब्याञ्जु, उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेल लगायतले जानकारी गराउनु भएको थियो ।
यसअघि धुलिखेल नगरपालिकाले स्वस्थ शहर धुलिखेलको योजना तयारीकाका लागि समूह छलफल गरेको थियो । साथै स्वास्थ्य प्रतिबद्धता पत्र जारी गर्दै नगरका हरेक गतिविधिलाई स्वास्थ्य मैत्री बनाउने गरी कार्य भईरहेको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताउनु भयो ।









