धुलिखेल नगरपालिका, काठमाडौ विश्वविद्यालय र रोटरी क्लव धुलिखेलले ‘ग्रिन सिटी’, शुन्य कार्वन उत्सर्जनका लागि हाईड्रोजन ग्याँस उत्पादन गरी यातायात र भान्सामा प्रयोग गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । स्थानीय तहको अगुवाईमा यो नेपालमै पहिलो पटक भएको सम्झौता हो ।
धुलिखेल/धुलिखेल र काठमाडौ विश्वविद्यालय परिसरमा ‘ग्रिन सिटी’, शुन्य कार्वन उत्सर्जनका लागि हाईड्रोजन ग्याँस उत्पादन गरी यातायात र भान्सामा प्रयोग गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
धुलिखेल नगरपालिका, काठमाडौ विश्वविद्यालय र रोटरी क्लव धुलिखेल बीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । बुधबार धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, विश्वविद्यालयका स्कुल अफ इन्जिनियरिङ्ग विभागका डिन प्रो.डा मनिष पोखरेल र रोटरी क्लव अफ धुलिखेलका अध्यक्ष जय राईले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको छ । समझदारी पत्रमा आगामी पाँच वर्ष हाईड्रोजनको माध्यमबाट संचालन गर्ने गरी दुई वटा बस धुलिखेलबाट काठमाडौसम्म संचालन गर्ने, धुलिखेल अस्पताल तथा काठमाडौ विश्वविद्यालयको भान्सामा प्रयोग हुने एलपी ग्याँसलाई विस्थापित गरी हाईड्रोजन ग्याँस प्रयोग गर्ने उल्लेख छ । त्यसका लागि नगरपालिकाले नीति तथा कानुन निर्माण गर्ने, रोटरी क्लवले आर्थिक संयोजन र विश्वविद्यालयले प्राविधिक सहयोग गर्ने उल्लेख गरिएको छ ।
‘संसारभरी वातावरण सन्तुलन राख्न नसक्दा हुन थालेको चुनौतीलाई सामना गर्ने गरी नेपालमै पहिलो पटक धुलिखेल नगरपालिकाले शुरु गरेको शुन्य कार्वन उत्र्सजन अभियानमा विश्वविद्यालय र रोटरी क्लवसँग भएको समझदारी महत्वपूर्ण छ’–धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘प्रेट्रोलिय पदार्थको आयात रोक्न यो अभियानलाई विस्तार गर्नु मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक महत्वसँगै रोजगार सिर्जना र पुँजी पलायन समेत रोकिनेछ ।’ धुलिखेल नगरपालिका विश्वका १५ शहर मध्ये शुन्य कार्वन उत्सर्जन गर्ने प्रतिवद्धता जनाउने शहर हो । हरित उर्जा मार्फत हरित हाईड्रोजन उत्पादन र उपयोग गरी ग्रिन हाईड्रोजनलाई बैकल्पिक उर्जाका रुपमा ल्याउने सम्झौताको मुख्य लक्ष्य रहेको विश्वविद्यालयका डिन. डा मनिष पोखरेलले बताउनु भयो ।
काठमाडौ विश्वविद्यालयले अध्ययन, अनुसन्धानसँगै वातावरण संरक्षणमा आर्थिक समृद्धीका लागि कार्य गरेको विश्वविद्यालयका उपकुलपति डा.भोला थापाले बताउनु भयो । नेपालमा उत्पादन भएको विद्युत्तको खपतसँगै गिन्र हाईड्रोजनको अभियान शुरु गरिएको उहाँले बताउनु भयो । एउटा सम्भावनाले अर्काे सम्भावनालाई जोड्ने बताउँदै उपकुलपति डा. भोला थापाले नेपालमा मल कारखाना स्थापनाका लागि हाईड्रोजन महत्वपूर्ण हुने बताउनु भयो । ‘हाईड्रोजन उत्पादन र उपयोगले नेपालमा थप सम्भावना बढाउनेछ’–उपकुलपति थापाले भन्नुभयो–‘पहिलो चरणमा यातायात र भान्सा हुँदै उद्योग कलकारखानामा समेत ग्रिन हाईड्रोजन उपयोग गराईनेछ ।’ वर्षेनी प्रेट्रोलिय पदार्थ र रासायनिक मलका लागि बाहिरिने पुँजी नेपालमै रोक्न सकियो भने त्यसमा प्रयोग हुने रकम नेपालमै थप उद्योगहरुमा लगाउन सकिने छ । हाईड्रोजन उत्पादनका लागि विश्वविद्यालयमा उपकुलपति डा. भोला थापाको नेतृत्वमा ग्रिन हाईड्रोजन ल्यावका प्रमुख डा. विराज सिं थापा र प्राज्ञिक, औद्योगिक क्षेत्र समन्वय समितिका संयोजक डा. राम लामाको टिम सक्रिय छ । उक्त टोलीले हाईड्रोजन उत्पादन र उपयोग मार्फत नेपालमा शुन्य कार्वन उत्र्सजन, उद्योगको स्थापना र यातायातमा प्रयोग हुने बैकल्पिक उर्जाको खपतका बारेमा अध्ययन, अनुसन्धान र प्रतिवेदन तयार गरी सरकारका विभिन्न निकायमा बुझाएको छ । समझदारी पत्रमा हस्ताक्षर पछि रोटरी क्लवका अध्यक्ष जय राईले रोटरीले प्राथमिकता निर्धारण गरेका ६ वटा क्षेत्रलाई बढाएर वातावरण संरक्षणको अर्काे क्षेत्र थप गरेकाले नगरपालिका र विश्वविद्यालयसँगको साझेदारीले ग्रिन हाईड्रोजन र शुन्य कार्वन उत्र्सजनमा थप सहयोग पुग्ने बताउनु भयो । कार्यक्रममा विश्वविद्यालयका संयोजन तथा सम्पर्क विभागका प्रमुख डा. विभुतिरञ्जन झा, ग्रिन हाईड्रोजन ल्यावका प्रमुख डा. विराज सिं थापा, डा. राम लामाले ग्रिन इनर्जीको महत्वका बारेमा जानकारी गराउनु भएको थियो ।
धुलिखेलले के के ग-यो ?
विश्वका १५ शहर मध्ये धुलिखेलले नेपालमै पहिलो पटक शुन्य कार्वन उत्सर्जनका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेको छ । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु देशभरका नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघका अध्यक्ष पनि हुन् । धुलिखेल नगरपालिकालाई नेपालकै एक मात्र शुन्य कार्वन उत्सर्जन गर्ने शहरका रुपमा विकास गर्न चुनौतीसँग अवसर रहेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । ‘यो अभियान चुनौतीपूर्ण र जिम्मेवारीपूर्ण रहने छ’–नगर प्रमुख ब्याञ्जुले भन्नुभयो–‘फोहोर पानी प्रशोधन भएको शहरका रुपमा धुलिखेल नेपालकै पहिलो रहेको छ ।’ धुलिखेल उत्पादित फोहोर पानीको ७१ प्रतिशत प्रशोधन गरिरहेको छ । सबै घरमा शौचालय निर्माण गरी खुल्ला दिशा मुक्त घोषणा गर्दै धुलिखेलले दिशाबाट मल र ग्याँस उत्पादन शुरु गरेको छ । ६ सय घर धुरीमा दाउरा विस्थापन गर्दै इण्डक्सन चुल्हो वितरण गरेको छ । गरिवीको रेखामुनी रहेको घर परिवारलाई विजुली जडानमा सहयोग उपलब्ध गराएको छ ।
४ करोड भन्दा धेरै खर्च गरेर सोलार बत्ति जडान गरेको छ । ४ वटा ट्रिटमेन्ट प्लान्ट निर्माण गरेको छ । शहरमा वातावरण सन्तुलन कायम गर्ने गरी १ लाख विरुवाको बृक्षारोपण शुरु गरिएको छ । जसमा ग्रिन सिटीसँगै आयआर्जन सँग जोडिएको छ । ३८ वटा सामुदायिक वनलाई इको टुरिजमका रुपमा विकास गरिएको छ । इलेक्ट्रिकबाट चल्ने बसका लागि चार्जिङ्ग सेन्टर स्थापना गरिएको छ । औधोगिक ग्राममा स्थापना हुने ७ वटा उद्योगलाई ग्रिन इनर्जीबाट संचालन गर्ने गरी सम्झौता गरिएको छ । उद्योग ब्यवसाय तथा अन्य क्षेत्रलाई वातावरण मैत्री बनाउँदै ग्रिन इनर्जी प्रयोग र उत्पादन गर्ने होटल तथा ब्यवसायलाई करमा १० प्रतिशत छुट गरिएको छ । साक्षर नगर, खुल्ला दिशामुक्त, शुद्ध खानेपानी, स्वस्थ शहर, कृषि र पशुपालन तथा वातावरणका क्षेत्रमा शतप्रतिशत बनाउने अभियान शुरु भएको छ । खानेपानीको एक सय वर्षको अध्ययन गरिएको छ । वातावरणीय प्रभावका कारण खानेपानी तथा कृषिमा परेको असरको अध्ययन गरिएको छ ।
नगर प्रमुख ब्याञ्जुले समझदारीपत्रले थप सहयोग र समन्वय भएको बताउँदै तीन नगरपालिका ध्ुलिखेल, पनौती, बनेपा र काठमाडौ विश्वविद्यालयले रोशी जलाधार संरक्षण क्षेत्रमा काम गर्नु पर्ने बताउनु भयो ।









