धुलिखेल/बैदेशिक रोजगारका पीडा र रोजगारबाट फर्किए पछिको पारिवारीक ब्यवस्थापनमा सुरक्षित आप्रवासन परियोजना अथार्त सामीले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बैदेशिक रोजगार जान तयारी भई पैसा बुझाएर ठगिएका, रोजगारमा जान सिप सिकेका र बैदेशिक रोजगारकै कारण मानसिक समस्यामा परेका तथा बैदेशिक रोजगारबाट आम्दानी भएको पैसाको सदुपयोग गरी जीवन सहज बनाएका ब्यक्तिहरुले धुलिखेलमा खुलेर पीडा पोखेका छन् ।
मण्डन देउपुर नगरपालिका वडा नम्वर ४ घर भएकी २९ बर्षिया विन्दा विकले बैदेशिक रोजगारमा गएका श्रीमानलाई विताउन पुग्नु भयो । २ वर्ष १० महिना मलेशियामा काम गरेर केहि महिनामै नेपाल फर्कने तयारीमा रहनु भएका श्रीमान विदेशमै विते पछि विन्दाको बाँच्ने आधार गुम्यो । सासु ससुराको एक्लो सन्तान थिए उहाँका श्रीमान । विन्दाबाट जन्मेका सन्तानको भन्दा पनि उहाँलाई बृद्ध भएका सासु ससुराको चिन्ताले सताउन थाल्यो । आफु बाँच्नु पर्छ भन्दा पनि उहाँहरुलाई कसरी बचाउने भन्ने चिन्ताले विन्दालाई जीवनबाट हार खान बाध्य बनायो । बाँच्ने रहर सकिएकी विन्दालाई सामी परियोजनाका मनोविमर्शकर्ताले फेला पारे । त्यसपछि भने विन्दालाई श्रीमान मरेर गए पनि बाँचेकाहरुले उहाँको सपना पुरा गर्नु पर्छ भन्ने साहस बढायो । अहिले विन्दा बाँचेर परिवारका लागि केहि गर्ने योजना छ ।
सिन्धुपाल्चोक जिल्ला घर भएका निकेश सुन्दासले बैदेशिक रोजगारीमा जान पनौती ५ काभ्रे गैरीगाउँ घर भएका अदिपबहादुर खड्कालाई बुझाएको रकम फिर्ता पाएका छैनन । दुबई जान २ लाख ५० हजार बुझाएका सुन्दास जस्तै सिन्धुपाल्चोककै मेलम्ची घर भई काठमाडौको थलीमा बसोबास गर्ने सुकुरानी तामाङ र उनका देवर लक्ष्मण तामाङले ८ लाख रकम बुझाए । लक्ष्मण विदेश त गए तर सम्झौता अनुसारको काम नपाए पछि आफन्त मार्फत अर्काे काममा लागेका छन् । सुकुरानी, निकेश जस्ता दर्जनौ युवाहरुसँग लिएको रकम खड्काले फिर्ता गरेका छैनन । प्रहरी, बैदेशिक रोजगार, जिल्ला प्रशासनमा उजुरी गर्दा पनि रकम फिर्ता हुन नसकेको निकेश र सुकुरानीले बताउनु भयो ।
धुलिखेल १ देविटार घर भएका सुकुमान तामाङले छोरा निमा तामाङ सहित मानबहादुर तामाङ र प्रकाश तामाङको समेत गरी प्रति ब्यक्ति पोल्याण्ड जाने भन्दै ४÷४ लाख रकम काठमाडौमा रहेको भिक्टोरिया ओभरिजका चिनादासलाई बुझाउनु भयो । भारत लगेर एक महिना राखे पछि मिलेन भन्दै फर्काएका चिनादासले न पोल्याण्ड पठाए न रकम फिर्ता पाए । उजुरी लिएर बैदेशिक रोजगारीमा जान लाग्दा कार्यान्वयन नभएको उहाँले बताउनु भयो । बैदेशिक रोजगारीमा जान रकम बुझाएर अलपत्र पर्नेहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ ।
धुलिखेल १ देविटारकै २९ बर्षीया ठुलीमाया तामाङ गार्मेन्ट तालिम लिएर बैदेशिक रोजगारीमा जाने तयारीमा हुनुहुन्छ । सामी परियोजनाले उपलब्ध गराएको तालिमले नेपालमा काम गरे पनि धेरै रकम बचत गर्न नसकेकाले ओमन जाने तयारीमा रहेको बताउनु भयो । विदेश जाँदा केहि सिकेर गएको अवस्थामा सहज हुने बुझेर सामी परियोजना मार्फत उपलब्ध गराईएको तालिम लिएको उहाँले बताउनु भयो । श्रीमान मानसिक विरामी भएकाले उहाँको उपचार, परिवारको रेखदेखका लागि उहाँ ओमन जाने तयारीमा हुनुहुन्छ । ४ बर्षिय बच्चा आफन्तलाई छाडेर उहाँ रोजगारमा जान लाग्नु भएको हो । उहाँले सिप सिकेर जाँदा सहज हुने भएकाले तालिम लिएको बताउनु भयो ।
धुलिखेल ११ की भगिरथी न्यौपानेले विझेको काँडो निकाले जस्तो सहज भएको बताउनु भयो । दुखले कमाएको रकमको सदुपयोग गर्न वित्तिय साक्षरता कक्षा प्राप्त गरेकाले धेरै सहज भएको उहाँको अनुभव छ । सामी परियोजनाले वित्तिय साक्षरता कक्षा संचालन गरी बैदेशिक रोजगारीमा गएका परिवारका सदस्यहरुलाई बचत तथा उद्यमशिलता र आयआर्जनमा रकम खतर्च गर्ने गरी तालिम दिएको छ । धुलिखेल ९ की रेखा हुमागाईले श्रीमानले बैदेशिक रोजगारीबाट पठाएको पैसाको हिसाव किताब राखेर खर्च गर्दा खर्च गर्नु नपर्ने स्थानमा खर्च भईरहेको रकम रोकिएको बताउनु भयो । ‘धेरै सहज र ब्यवस्थित भयो, बैदेशिक रोजगारको पैसाले परिवार ब्यवस्थित बनाउन र खर्चको मितब्यीयता बनाउन सहज बनायो’–उहाँले भन्नुभयो ।
रोशी १ की बसुमाया तामाङले अपाङ्ग छोरीको रेखदेखमा सामी परियोजनाको सहजीकरणले सहज भएको बताउनु भयो । धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्माले बैदेशिक रोजगारमा जानेहरुको समस्या अनगिन्ती भएको बताउनु भयो । स्थानीय सरकार र सामी परियोजनाको समन्वय र सहजीकरणमा केहि काम भएको भए पनि अधिकांशका समस्या समाधान हुन नसकेको बताउनु भयो । जिल्ला समन्वय अधिकारी भिमप्रसाद भट्टराईले बैदेशिक रोजगार कृयाशिल हुनु पर्ने बताउनु भयो । रोजगारमा जान चाहनेहरुले पनि प्रमाण तथा भरपर्दाे संस्थामा मात्रै कारोवार गर्नु पर्ने बताउनु भयो । प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले जिल्लामा भएका समस्या समाधानका लागि प्रहरीकोमा आउन अनुरोध गर्नु भयो ।
परियोजना संयोजक बसन्त कुँवरले जिल्लाामा बैदेशिक रोजगारीका समस्या समाधानमा सामी परियोजनाले रोशी, भुम्लु, मण्डन देउपुर र धुलिखेल नगरपालिकामा कार्यक्रम संचालन गरिरहेको बताउनु भयो ।









