बेथान्चोक/आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आर्कषक बन्दै गएको बेथान्चोक नारायणस्थान र आसपासका क्षेत्रहरुको अवलोकन गर्ने पर्यटकहरुको संख्या बृद्धी हुन लागे पछि बेथान्चोकमा जम्बला शुरु गरिएको छ । २०७८ बैशाख महिनाबाट शुरु भएको बेथान्चोक ‘जम्बला’ बेथान्चोक २ डोलाखोलामा स्थापना गरिएको हो । बुद्ध धर्म मान्नेहरुले जम्बलालाई लक्ष्मी अर्थात धनको मालिकका रुपमा लिने गरेका छन् । त्यहि नामबाट उक्त होटल स्थापना भएको हो ।
आर्मी काईलो अर्थात भिमबहादुर तामाङ । लोकबहादुर तामाङ र दयावती तामाङको कोखबाट जन्मेका काईला छोरा हुन् भिमबहादुर । ८ छोरा र एक छोरी । त्यसमध्येका काईलो छोरा भिमबहादुरकोे २०२८ सालमा जन्म भयो । कक्षा ६ सम्म सम्म अध्ययन गरेर २०४६ सालमा १८ वर्षको उमेरमा नेपाली सेनाको सैन्य पदबाट जागिर शुरु गरे । जागिरकै सिलसिलामा उनले २०५३ सालमा विवाह गरे । २०६० सालमा टेष्ट पास समेत गरे । दुइ सन्तान छन् भिमबहादुरका । छोरी र छोरा । दुबै ब्याचलर अध्ययनरत छन् । छोराछोरीलाई विदेश नपठाउने उद्देश्यले भिमबहादुरले शुरु गरेका धेरै ब्यवसाय मध्ये होटल जम्बला पछिल्लो हो । झण्डै एक करोड लगानी गरी निर्माण भएको घर र त्यहि घरमा शुरु गरिएको होटलले आन्तरिक पर्यटकहरुको मन जित्न थालेको छ । आशिष र जुना होटलका ‘फुलटाईमर’ हुन् । उनिहरुले नै पाहुनाको सत्कार मात्रै गर्दैनन् होटलमा खाना पकाउने, सरसफाई गर्ने र थप जिम्मेवारी पुरा गर्नेछन् । साथमा भिमबहादुर र उनकी पत्नि सँगै हुन्छन् । ५० जना भन्दा धेरै अट्ने हलका अलावा ६ वटा ब्यवस्थित कोठा छन् । झण्डै २४ जना समुहमा बस्न सक्ने गरी होटलको ब्यवस्थापन गरिएको छ । अर्काे आकर्षक पक्ष भिमबहादुरले जम्बलाका सबै कोठाहरुका नाम गाउँपालिकाका ६ वटा वडाका आधारमा राख्नु भएको छ । पहिलो तल्लामा ढुंखर्क, च्याम्ब्राङ्गबेशी, चलालगणेशस्थान र च्यासिङ्गखर्क छन् भने दोश्रो तल्लामा बेथान्चोक नारायणस्थान र भुग्देउ महांकाल रहेका छन् । १७ वर्ष १ महिना जागिर खाएर आफ्नै गाउँ फर्किएर आफ्नै भूमिमा केहि गर्न खोज्ने भिमबहादुरले होटलमा समेत अर्गानिक खानेकुरा उपलब्ध गराउने योजना बनाउनु भएको छ ।
होटल खोल्नु अघि भिमबहादुरले जागिर छाडेर तरकारी खेती गर्नुभयो । बन्दा, आलु, काउली, सिमी र बोडी लगायतका तरकारीको ब्यवसायीक खेति शुरु गर्नु भयो । त्यसले मात्रै उनलाई चित्त बुझेन । तरकारी खेतिको ब्यवसायीक उत्पादनसँगै भिमबहाद्ु्रले एकिन्द्र, मछिन्द्रको समेत साझेदारीमा बाँसको ‘टुथपिक’ उद्योग शुरु गरे । ७ वर्ष देखि शुरु गरेको एसी बाँस सिन्का उद्योग निरन्तर चलिरहेको छ । सिन्धुली र काभ्रेमा अलग अलग उद्योग शुरु गरेको उक्त समुहले दैनिक एउटा उद्योगमा २५÷३० जनालाई दैनिक रोजगार दिईरहेको छ । काभ्रेको बनेपा धनेश्वरमा र अहिले बेथान्चोकमा शुरु भईरहेको उद्योगमा १ करोड लगानी भएको छ । अहिले उद्योगमा १ करोडको सामान बाँकी छ । कोभिडका कारण दुई वर्ष देखि सामान विक्री भएको छैन । तर पनि उत्पादन भने रोकिएको छैन । गुणस्तरीय बाँस भएन सिन्का धेरै समयसम्म टिक्न सक्दैन । त्यसका लागि उद्योगले विशेष ध्यान दिएको भिमबहादुरले बताउनु भयो ।
तरकारीसँगै भिमबहादुरले बेथान्चोकको ढुंखर्कको डोलाखोलामा साँढे २ रोपनी जमिनमा ४ हजार बोट चियाको ब्यवसायीक खेति शुरु गर्नु भएको छ । ललितपुरबाट चियाका विरुवा ल्याई ब्यवसायीक शुरु गरेका भिमबहादुरले ३ वर्ष देखि चियापत्ति विक्री गर्न थालेका छन् । चैत्रबाट असोजसम्म विक्री गर्न सकिने चियापत्तिको मुल्य फरक फरक छ । पहिलो दुई महिना चैत्र र बैशाखको चियापत्ति प्रति केजी २४÷२५ हजार रुपैयाँ पर्ने गरेको छ । उनले विदेशमा निर्यात गर्छन् । ढुंखर्कको मौषम र पानीका कारण चिसो स्थानको चियापत्ति र ग्रिन टीको माग र मुल्य धेरै रहेको उहाँले बताउनु भयो । जेठबाट प्रतिकेजी ६५०० रुपैयामा चियापत्ति विक्री हुन थालेको छ ।
होटल, तरकारी, चियापत्ती, सिन्का उद्योग समेत स्थापना गरी स्थानीय स्तरमा रोजगार र अवसर सिर्जना गरिरहेका भिमबहादुरले भन्नुभयो–‘स्थानीय उत्पादन मकै, भटमास, गुन्द्रुक, साग, ढिँडो, कुखुरा तथा अन्य अन्न र तरकारी मार्फत बेथान्चोकलाई समृद्धि बनाउने अभियानमा निरन्तर सक्रिय रहनेछु ।’ जागिर पछिको जीवनलाई सदुपयोग र सार्थक बनाउन एक पछि अर्काे ब्यवसायमा जोडिएको उहाँले बताउनु भयो ।









