2026 August 22/ 09:24: 35am

मतदाता सूची छानविन हुँदै
    धुलिखेल/सरकारले संविधान अनुसार २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पुग्नु अगावै निर्वाचन गर्नु पर्ने प्रावधान अनुसार सरकारले निर्वाचन घोषणा गरेको हो । निर्वाचन घोषणासँगै दलहरु र दलका नेताहरु बीच चुनावी सरगर्मी शुरु भएको छ । 
    निर्वाचन आयोगले सरकारले निर्वाचन घोषणा गरे लगत्तै तयारी शुरु गरेको छ । मगलबारबाट मतदाता नामावली संकलन बन्द गरेको छ । यस अघि पालिका केन्द्रमा पुगेर छुट भएका मतदाताहरुको नामावली संकलन गरेको थियो । अहिले पालिकाले मृत्यु भएका ब्यक्तिहरुको नामावली घटाउने गरी मतदाता नामावली सर्टिङ्ग गरिरहेको छ । जिल्ला निर्वाचन कार्यालय काभ्रेको मतदाता नामावलीमा १८ वर्ष पुगेका फोटो सहितको विवरणमा समावेश भएका नागरिकहरुको संख्या अद्यावधिक गरेको छ । चौरीदेउराली गाउँपालिकामा २०७४ को निर्वाचनमा १४५३९ मतदाता थिए । २०७८ पौष मसान्तसम्म जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा फोटो सहितको नाम समावेश गर्ने १८ वर्ष माथिका १९७५१ जना छन् । भुम्लु गाउँपालिकामा मतदाता संख्या २०७८ पौष मसान्तसम्म १६५३८ रहेको छ । तेमाल गाउँपालिकामा २०७८ पौष मसान्तसम्म १८ वर्ष भन्दा माथिका नागरिकहरुको मतदाता नामावलीमा फोटो खिचाउनेहरुको संख्या २०८८७ रहेको छ । 
    नमोबुद्ध नगरपालिकामा २०७८ पौष मसान्तसम्म २५७९७ मतदाता रहेको छ । बेथान्चोक गाउँपालिकामा मतदाता १४४६० कायम भएका छन् । पौषमसान्तसम्मको तथ्याङ्कमा १८ वर्ष माथिकाले मतदाता सूचीमा नाम लेखाएका छन् । खानिखोला गाउँपालिकामा मतदाता भन्दा २ हजार ४२ जनसंख्या धेरै छ । पाँचखालमा मतदाता भन्दा ६२७१ जनसख्या धेरै छ । मण्डनदेउपुरमा ३०६७ मात्रै जनसंख्या धेरै देखिन्छ । महाभारतमा ३८८५ जनसख्या फरक छ । रोशीमा १३३ जनसंख्या मतदाता भन्दा फरक छ । जनसंख्याका आधारमा बनेपामा कम मतदाताले नामावली भरेको देखिन्छ । १२ हजार जनसंख्या थपिँदा २०७४ को निर्वाचनबाट २०७८ पौष मसान्तसम्म ७ हजार मात्रै मतदाता थपिएका छन् । जनसंख्या भने धेरै थपिएको छ । बनेपामा मतदाता र जनसंख्याको अन्तर ३०२५२ रहेको छ । पनौतीमा १४१२७ मतदाता कम छन् भने धुलिखेलमा १०५७४ मतदाता कम छन् ।