2026 August 22/ 09:24: 38am

विद्यार्थीको संलग्नता
मोतीराम तिमल्सिना
धुलिखेल

घटना १
    साविक महादेवस्थान गाविस घर भई पाटनमा तरकारी ब्यवसाय गर्ने एक सामान्य परिवारमा जन्मेका १७ बर्षीय बालक पनौतीको मल्पीमा रहेको सुधार गृहमा मारिए । संचालकहरुको चरम यातनाका कारण उनको निधन भएको पोस्टमार्टमबाट खुलेको छ । माघ ५ गते अभिभावकहरुले आफ्नो सन्तानलाई भेटेर राजधानी फर्किएका थिए । आमा ठेलगाडामा तरकारी ब्यापार गर्ने र बाबु वायरिङ्गको काम गर्दै आएका छन् । दुःख गरेर भए पनि छोरालाई राम्रो संस्कार दिने बाबु आमाको चाहनालाई बालकको गलत संगतले लागु औषध सेवनमा पु¥याएको थियो । आफ्नो सन्तान सुधार्ने उद्देश्यले आफन्त मार्फत पनौती मल्पिमा रहेको सुधार गृहमा राखिएको छोरो कुटेर मारे पछि अहिले अभिभावक शोकमा डुबेका छन् । बाचुन्जेल तनाव, मारेपछि शोक । 
    जिल्लामा रहेका पाँचखाल र पनौतीको सुधार गृहमा लामो समय देखि सुधार भन्दा पनि यातना दिने गरेको गुनासो सुधार गृहबाट निस्किएका युवाहरुले बताएका छन् भने संचालकहरुले घरमा बाबु आमाले तह लगाउन नसकेका कारण सुधार गृहमा ल्याएकाले सुधार गर्न पुजा गरेर नहुने बताएका छन् । ‘पुजा गरेर लागु औषध प्रयोगकर्ताहरु सुध्रदैनन्, उनिहरुलाई सम्झाउने, मनाउने अनि भएन भने लाठीले कुटपिट गर्ने गरिएको छ’–सुधार गृहका एक संचालकले भने–‘सक्नेले घरमै सुधार गर्दथे । सुधार गृह किन आवश्यक हुन्थ्यो र ?’

घटना २
    जिल्ला प्रहरी कार्यालय काभ्रेले फरार अपराधी पक्राउ गर्ने क्रममा बनेपा नगरपालिका वडा नम्वर ८ मा लुकिछिपी गरेर बसेका सन्तोष भन्ने सन्तबहादुर रुचाल मगर पक्राउ गरेको छ । रोशी गाउँपालिका वडा नम्वर ११ घर भएका २४ बर्षीय रुचाललाई २०७१ साल फागुन १९ गते भक्तपुर जिल्ला अदालतले लागु औषध मुद्दामा १ वर्ष ९ महिना ६ दिन कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । रुचालको फैसला सुनाउने बेला उनी १७ वर्षका थिए । १५÷१६ वर्षको उमेर देखि रुचालले लागु औषध साथिहरुको संगतका कारण प्रयोग गर्दै आएका थिए । अदालतले तत्कालीन अवस्थामा धरौटीमा रिहा गरेको भए पनि पछि कैद र जरिवानाको फैसला सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाले अपराधमा संलग्न फरार ब्यक्तिहरुको खोजतलास जारी रहेको बताउनु भयो । फरार पक्राउ गर्ने क्रममा सन्तोष भनिने सन्तबहादुर रुचाललाई पक्राउ गरिएको हो । 

घटना ३
    २०७७ कार्तिक १५ गते राति पौने १० बजे भुम्लु गाउँपालिका वडा नम्वर ५ मा प्रहरीले लागु औषध प्रयोगकर्ता र ओसारपसार गर्ने समुहलाई पक्राउ गरेको थियो । प्रहरीले लागु औषध गाँजा ओासारपसार गरेको अभियोगमा सर्लाही हरिवन नगरपालिका वडा नम्वर ३ घर भई भक्तपुर जिल्ला सानोठिमी बस्ने भक्तबहादुर बल, १८ वर्षको ईमान लामा भन्ने सुबास बल, रामेछाप जिल्ला दोरम्बा गाउँपालिाका वडा नम्वर ६ बस्ने लिलाबहादुर श्रेष्ठ र १८ बर्षिय मिलन श्रेष्ठलाई पक्राउ गरेको थियो । जिल्लाको अरनिको र विपी राजमार्ग हुँदै आवतजावत गर्ने सवारी साधनबाट मात्रै होईन ग्रामिण भेगबाट आउने सडकहरुबाट पनि लागु औषध ओसार पसार गरिरहेको तथ्य उक्त घटनाले पुष्टि गरेको छ । त्यस्तो घटनामा १८ बर्षीय बालकहरु प्रयोग भएका छन् । बालकहरुलाई विद्यालय तह देखि नै लागु औषध प्रयोग तथा ओसारपसारमा संलग्न गराउने गरिएको तथ्यहरुले पुष्टि गरेका छन् ।                     ∞∞∞∞∞∞

    लागु औषध प्रयोगकर्ताहरुको संख्या देशब्यापी बढेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा भाद्र, मंसिर, पुष, माघ, फागुन, चैत्र, जेठ महिनामा लागु औषध प्रयोगकर्ताहरुलाई पक्राउ गरिएको थियो । ९ वटा मुद्दा एक वर्षमा दर्ता भएको प्रहरीले जानकारी दिएको छ । ९ वटा मुद्दामा १६ वर्ष देखि २५ वर्षसम्मका ९ जना ब्यक्ति संलग्न छन् । २६ वर्ष देखि ३५ वर्षसम्मका ४ जना, ६० वर्ष माथिका १ जना गरी १४ जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये कृषि पेशमा संलग्न एक जना, ज्यमी मजदुरी गर्ने ५ जना, चालक १ जना, गृहिणी १, विद्यार्थी ६ जना रहेका छन् । अभिभावक, सरोकारवाला निकायको चासो पनि विद्यार्थीहरु लागु औषधको प्रयोगमा संलग्न भए भन्ने छ । तथ्याङ्कले पनि लागु औषधको प्रयोग तथा ओसारपसारमा विद्यार्थीहरु धेरै संलग्न रहेको खुलेको छ । ब्यापार गर्ने उद्देश्यले २ जना पक्राउ परेका थिए भने दुब्र्यसनमा लाग्ने उदेश्यले ७ जना पक्राउ परेका थिए । 
    लागु औषधको प्रयोगले ब्यक्तिको जीवन मात्रै नभई परिवार नै तहसनहस भएको छ । ब्यक्तिमा आउने मानसिक र शारिरीक समस्याका कारण आत्महत्या तथा मुटुसँग सम्बन्धी रोगहरु लाग्न थालेको छ । ब्यक्तिका कारण परिवारका सदस्यहरुलाई भएको मानसिक तनावले समाज विस्तारै कुलततर्फ अघि बढेको पुष्टि हुँदै गएको छ । अहिले विशेषगरी शहरी क्षेत्रमा एक घर एक लागु औषध सेवनकर्ता जस्तै हुन थालेको अध्ययनले देखाएको छ । बढ्दो शहरीकरण र प्रविधिको दुरुपयोग, ब्यक्तिको ब्यस्तताका कारण सन्तानले अभिभावकहरुलाई ध्यान नसक्दा लागु औषध प्रयोगकर्ताको संख्या बढेको छ । पतञ्जली योग समिति बागमती प्रदेशले केहि दिन अघि लागु औषधको न्यूनिकरण, मुटु तथा उच्चरोगका विरामीहरुको संख्या घटाउन समाजमा जनचेतना फैलाउनु पर्ने निश्कर्ष निकाल्दै शिविर आयोजना गरेको थियो । समाजका हरेक निकायहरु यो अभियानमा संलग्न नहुने हो भने ब्यक्ति ब्यक्ति हुँदै राष्ट्रलाई नै थप संकट पु¥याउने तर्फ सचेत हुनु जरुरी छ । 
    चालु आर्थिक वर्षको पौष मसान्तसम्म दुईवटा घटना लागु औषधका दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएस्पी हरि खतिवडाका अनुसार लागु औषध प्रयोगकर्ता र ओसारपसारमा संलग्न ब्यक्तिहरुको खोजि कार्य तिब्र पारिएको छ । दुईवटा घटनामा चार जना संलग्न छन् । १६ वर्ष देखि २५ वर्ष उमेर समुहका ३ जना र २६ वर्ष देखि ३५ वर्षसम्मका १ जना ब्यक्ति उक्त घटनामा पक्राउ परेका थिए । जसमध्ये कृषि पेशामा १, ज्यामी १, विद्यार्थी २ जना छन् । पक्राउ परेका मध्ये २ जना ब्यपारीक उद्देश्यले कारोवार गर्ने थिए ।