जडिबुटीको पाठशाला
ललितपुर, महांकाल/टुक्रप्रसाद घिमिरे अर्थात ‘दारी बा’ । ललितपुर जिल्ला महांकाल गाउँपालिका वडा नम्वर ४ नकण्डोल । २०६७ साल देखि ब्यवसायीक रुपमा चियाको खेती शुरु गर्नु भएको छ । दारी बाका फार्ममा १० हजार ५ सय बुटा चिया, १ हजार ५ सय लोठ सल्ला, तेजपत्ता, दालचिनी, लेमनग्रास लगायतका थुप्रै जडिबुटी भएकाले त्यहि फार्मलाई जडिबुटी पाठशाला तयार गर्ने उदेश्य छ ।
२०४२÷०४३ सालमा झापा, ईलाम, ताप्लेजुङ्ग चल्ने ट्रकमा टुक्रप्रसाद काम गर्नु हुन्थ्यो । ‘खलासी’को रुपमा ट्रकमा काम गर्दा गर्दै त्यहाँको चिया बगानले उहाँको मन तानिरहेको थियो । २०६३ सालमा ललितपुरको चन्दनपुरमा एभरेष्ट अर्गानिक चिया उत्पादक सहकारी संस्था गठन भयो । त्यहि सहकारीको सदस्य भएर शुरु गरेको चिया बगान अहिले पाठशालाका रुपमा विकास हुँदैछ । अहिले टुक्रप्रसादले कालेश्वर महादेव बहुउश्यीय कृषि फर्म मार्फत ब्यवसायीक खेतिमा सक्रिय हुनुुहन्छ ।
ललितपुर जिल्लामा ४ वटा चियाको प्रशोधन गर्ने मेशिन छन् । टुक्रप्रसादको निजी मेशिन पनि छ । तयारी प्रशोधन आफैले गर्ने गरिएको छ । ललितपुर जिल्लाका धेरै स्थानमा चियाको ब्यवसायीक रुपमा उत्पादन हुने गरेको छ । चिया झापा इलाममा मात्रै होईन धेरै जिल्लामा हुन्छ । काठमाडौको नाङलेभारे, जर्सिङ्गपौवा, दक्षिणकालीको चाल्नाखेल, फर्पिङ्ग लगायतका स्थानमा चिया उत्पादन हुन्छ । समुन्द्री सतहको १६ सय मिटर माथिको उचाईमा पानी नजम्ने स्थानमा यो खेति हुन्छ । सबैभन्दा उत्कृष्ट २ हजार मिटर भन्दा माथिको खेतिलाई मानिन्छ ।
चियाको खेती गर्न सहज छैन । कठिन तर राम्रो मुनाफा हासिल गर्न सकिने ब्यवसायका रुपमा चियालाई लिनुपर्छ । चैत्रको अन्तिम देखि मंसिरको दोश्रो हप्तासम्म चिया ३१ पटकसम्म टिप्न सकिन्छ । कति खट्न सकिन्छ त्यस अनुसारको आम्दानी हुन्छ । विहानभर टिप्ने अनि बेलुका नै तयार गर्न सकिन्छ । दिउँसो भुट्ने, रोलिङ्ग गर्ने र डायरमा राखेपछि एक घण्टामै चिया खान योग्य हुन्छ । हामी त्यसपछि प्याकेटिङ्ग गर्छाै । चियाको बजार उत्कृष्ट थियो । अब पनि हुन्छ भन्ने अपेक्षा छ । तर कोरोना भाईरसले विश्व बजार नै तहस नहस बनायो । मुलुकमा लकडाउन भयो त्यस पछि बजार मुल्य सोचे जस्तो प्राप्त हुन सकेको छैन । लकडाउन अघि प्रति केजी २२ सय रुपैयाँमा समेत विक्री गरेका थियौ । अहिले १२ सय प्रति केजी प्राप्त गरेका छौ । तर पनि फाईदा छ । हामीले उत्पादन गरेको चिया अमेरिका, युरोप लगायतका मुलुकमा जाने गरेको थियो । पूर्व मन्त्री समेत रहनु भएका सहकारीकर्मी दिपकप्रकाश बास्कोटा मार्फत चियाको ब्यवसायीक खेति र विक्री वितरणमा सहज भएको हो । उहाँकै देनबाट ब्यवसायीक खेतिमा आर्कषित भएको हो ।
बैशाख देखि असोजसम्म दैनिक ४ जनाको दरले काम गर्ने गरेका छौं । त्यसपछि कम जनशक्तिले पनि काम गर्न सकिन्छ । २० रोपनी जमिनमा चियाको ब्यवसायीक खेति गरिएको छ । १५ लाख रुपैयाँमा लगानी गरेर थप प्रशोधन मेशिन खरिद गरेको छु । एकपटक लगानी गरेपछि लगानीको ९० प्रतिशत आम्दानी हुन्छ । टिप्ने बेला जोखिम छ । साईज अनुसारको टिपाई गर्नुपर्छ । टिप्नलाई प्रशिक्षण चाहिन्छ । त्यसका लागि जनशक्ति अभाव छ । इलामबाट चियाको विरुवा ल्याएर बगान भर्न ८ वर्ष लागेको छ । लोठसल्लाको प्रति विरुवा २ सय रुपैयाँ परेको थियो । मेशिन औजार तथा अन्य क्षेत्रमा ठुलो लगानी भएको छ । एक किलो पत्ति टिपेको १ सय रुपैयाँ ज्याला दिनु पर्छ । ५ केजी हरियो पत्तिको एक केजी चिया हुन्छ । ८ सय जति तयारी हुँदा लाग्ने गरेकाले १५ सय रुपैयाँमा विक्री गर्दा ५० प्रतिशत फाईदा भएको छ ।
झापामा पूर्व राजा ज्ञानेन्द्रको चिया बगानबाट म लोभिएँ । चिया बगानमा लोठ सल्ला मिसाउँदा दुबैबाट आम्दानी हुन्छ । दुबै आयआर्जनका क्षेत्र भए । लोठसल्लाको १ सय ५० रुपैया हरियो पत्ति टिपेर सुकेपछि २ सय ५० रुपैयाँमा विक्री गर्छाै । तेजपत्ता, लेमनग्रास, तितेपाती, दालचिनी सबैको खेतिले थप आम्दानी भईरहेको छ । स्थानीय सरकारको पक्षपाति ब्यवहार छ । ललितपुरको कृषि ज्ञान केन्द्रबाट ६ लाख रुपैयाँको अनुदान प्राप्त गरेको छु । मेरो बगान उत्कृष्ट भएकाले अनुदान प्राप्त गरेको हुँ । बागमती प्रदेशको उत्कृष्ट कृषकको सम्मान पाएको छु । यो खेतिबाट म सन्तुष्ट छु । युवाहरुको बगान हेरुञ्जेलसम्म मात्रै आर्कषण हुने रहेछ । अनुभवले खेति गर्न सहज हुन्छ । प्रमाणपत्रका आधारमा जागिर खान खोज्नेहरुलाई ब्यवसायीक खेतिमा आकर्षण हुँदैन । विद्यार्थीका अभिभावकहरुले १५ रोपनी जति बारीमा ब्यवसायीक खेतिमा लगाउने हो भने युवाहरुको आकर्षण रहन्छ ।
सहकारी मार्फत समुह गठन गरेर ब्यवसायीक खेति गर्न सकियो भने विदेशको डलर स्वदेशमै फलाउन सकिन्छ । ब्यवसायीक रुपमा नर्सरी भएकाले विरुवा चाहनेहरुले प्राप्त गर्न सक्छन् । सामुहिक खेतिमा जोड दिन सकियो भने चिया तथा जडिबुटी खतिबाट धेरै फाईदा लिन सकिन्छ । चियाका लागि सम्पर्क गर्न दारीबालाई ९७४१३६९३१२ फोन गर्न सकिन्छ ।









