महाभारत, गल्टार/साविक बनखु गाविसको बनखुमा स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माण लागि घडेरी सम्याउने कार्य शुरु भएको छ । निर्माण ब्यवसायीलाई भवन निर्माणको सम्झौता अनुसार कार्य गर्ने कार्यादेशसँगै घडेरी सम्याउन शुरु गरिएको हो ।
यस अघि वडा अध्यक्ष रमेश लुङ्गेलीले गल्टारमा भवन निर्माण नगरी मगर गाउँमा निर्माण गर्न दबाब दिदै आउनु भएको थियो । उक्त भवन निर्माणका लागि गल्टारमा रहेको स्वास्थ्य चौकीको लालपुर्जा राखेर भवन निर्माणको ठेक्का सार्वजनिक गरिएको थियो । साविक बनखु गाविसको गल्टारमा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी प्रसुती सेवा केन्द्र समेतलाई थप ब्यवस्थित गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने गरी स्थानीयले उपलब्ध गराएको जमिनमा भवन निर्माण गर्ने पटक पटकको निर्णय जनप्रतिनिधि निर्वाचित भए लगत्तै अस्विकार गरिएको थियो । स्वास्थ्य चौकीका नाममा गल्टारमा कित्ता नम्वर ५६८ को ४ रोपनी जमिन २०७२ पुष १४ गते पास भएको थियो । स्थानीय तहको निर्वाचन अगावै बनखु गाविस हालको महाभारत गाउँपालिका वडा नम्वर ६ र ७ मा विभाजन भयो । वडा नम्वर १ देखि ६ सम्म वडा नम्वर ६ र वडा नम्वर ७–९ वडा नम्वर ७ मा परिणत भयो । गल्टारमा रहेको स्वास्थ्य चौकी वडाको बीच भागमा राख्ने हो भने सल्लेनीमा पर्छ । विद्यमान कानुन अनुसार स्वास्थ्य संस्थाहरुको स्थानान्तरण गर्नु परेमा सार्वजनिक सुनुवाई, टोल भेलाको निर्णय, वडा कार्यालयको निर्णय, गाउँ सभाको निर्णय पछि प्रदेश वा संघ सरकारले गरेको निर्णय पछि मात्रै हुने ब्यवस्था छ । वडा नम्वर ६ का अध्यक्ष रमेशकुमार लुङ्गेलीले बनखुको गल्टारमै स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी अस्पताल बनाउने गरी थप ३ रोपनी जमिन स्थानीयसँग लिने निर्णय गर्नु भयो । उता कानुन र स्थानीयका सहमति विपरित स्वास्थ्य चौकी आफ्नै घर पायक मगर गाउँमा स्थानान्तरण गराउनु भयो । जहाँ स्वास्थ्य चौकीका लागि प्रिफ्याव भवन निर्माण भईसकेको छ ।
एकै स्थानमा दुईवटा भवन निर्माण भई सके पछि पनि तेश्रो भवनका लागि पनि लुङ्गेलीले सोहि स्थान मगर गाउँमा नै निर्माण गर्न निर्माण ब्यवसायी र प्राविधिकहरुलाई दबाब दिनु भएको छ । कानुनी र प्राविधिक दुबै हिसाबले मगर गाउँमा भवन निर्माण उपयुक्त नभएको प्रतिवेदन बुझाईएको छ । उक्त भवनको बजेट १४ करोड ८२ लाख ३७ हजार रहेको छ । ७ रोपनी जमिन आवश्यक हुने उक्त भवनका लागि मगर गाउँमा सार्वजनिक स्थानमा रहेको ३ रोपनी भित्रको केहि क्षेत्रफल उपलब्ध गराउने प्रयास भए पनि अर्पयाप्त छ । मगरगाउँमा बन्ने भवन र वडा अध्यक्ष लुङ्गेलीको घर २ सय मिटरको दुरीमा छ । घरपायक लैजाने उद्देश्यले वडा अध्यक्षले पटक पटक दबाब दिएको स्थानीयहरुले बताएका छन् ।









