बनेपा/नेकपा एमालेको सूर्य चिन्हबाट प्रदेश सभामा निर्वाचित काभ्रेका लक्ष्मण लम्सालको लगानी रहेको प्राणनाथ क्याफेले राज्यलाई ठगेको पुष्टि भएको छ । सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा चर्का सुशासनका कुरा गर्ने लम्साल संचालक रहेको प्राणनाथ क्याफेमा प्राण जाने गरी राज्यलाई ठगी गरी क्याफेका सामान समेत लिएर सुईकुच्चा ठोकेको पुष्टि भएको हो ।
परमादेशबाट सरकार गठन भए लगत्तै लक्ष्मण लम्साल त्यहि अभियानमा सक्रिय थिए । अघिल्लो वर्ष देखि नै उनले कोभिडका कारण क्याफे संचालन गर्न सकिएन भनेर भाडा तिरेका थिएनन् । क्याफेले तिर्नुपर्ने २९ लाख ६३ हजार भाडा गैह्रकानुनी रुपमा मिनाहा गरिएको छ । कोरोना संक्रमणको कारण देखाउँदै प्राणनाथ क्याफेको थप एक वर्षको भाडा पनि ग्रैह्कानूनी तरिकाबाट मिनाहा गरिएको छ । त्यसबाहेक क्याफेले ७० लाख तिर्न बाँकी छ । क्याफे बन्द गरी संचालकहरु सामान लिएर भागेका छन् । यता लक्ष्मण लम्साल प्रमाण दिन सामाजिक संजालमा चुनौती दिदै आएका छन् ।
पशुपति क्षेत्र विकास कोषसँग सांसद् लम्साल र कृष्णप्रसाद रिजालसहितका ब्यक्तिहरुले २०७२ साल साउन ३२ गते प्राणनाथ क्याफे सञ्चालनको सम्झौता गरेका थिए । पशुपति क्षेत्र विकास कोषको स्वीकृत गुरुयोजना अन्तर्गत तिलगंगास्थित पर्यटन सूचना केन्द्रमा पर्यटकहरुका लागि प्रवेश टिकट बिक्रि काउण्टरसहित सेवा सुविधा पु¥याउने उदेश्यले निर्माण गरिएको भवनमा चिया कफीको सुविधा सहितको शुद्ध शाकाहारी चमेना गृह एवं सोभिनियर पसल सञ्चालनका लागि लम्सालसहितका सञ्चालकले सम्झौता गर्नु भएको थियो ।
सम्झौता अनुसार कोषलाई मासिक ७१ हजार ५ सय रुपैयाँको दरले भाडा बुझाउने पर्नेमा लम्सालसहितका नेताहरुले कोषलाई भाडा नतिरी अटेर गरेका हुन । सम्झौतामा ३० बुँदे शर्त राखिएको थियो । प्राणनाथ क्याफे सञ्चालकले भवनमा चिया कफीको सुविधा सहितको शुद्ध शाकाहारी चमेना गृह (भेजिटेरियन क्याफे) एवं सोभिनियर पसल (पर्यटन सेवा केन्द्र) तिलगंगाको भवनमा सञ्चालन गरे बापत पहिलो पक्ष (कोष) लाई मासिक ७१,५०० (एकहत्तर हजार पाँच सय रुपैया मात्र) प्रत्येक महिनाको ७ गतेभित्र बुझाउनु पर्नेछ । १० प्रतिशत बिलम्ब शुल्क सहित सोही महिनाको मसान्तभित्र शुल्क बुझाउन सकिने छ । प्रत्येक बर्ष सम्झौताको भाडादरमा १० प्रतिशतका दरले बृद्धि गरिने उल्लेख छ । बृद्धि भएको भाडादर समेत समावेश हुने गरी तोकिएको समय भित्र भाडा बुझाउनु पर्नेछ । भाडा बुझाउन नसकेमा संझौता रद्ध गरी धरौटी जफत गरिने छ । साथै सो स्थानबाट सञ्चालकले चल–अचल सामान निकाल्न नपाउने गरी भएको क्षतिको क्षतिपूर्ति सञ्चालकबाट असुल उपर गरिने सम्झौताको २२ औं बुँदामा भनिएको छ । सम्झौताको २३ औं बुँदामा प्रचलित कानून बमोजिम नेपाल सरकारलाई बुझाउनु पर्ने सम्पुर्ण कर (सेवा शुल्क, मुल्य अभिबृद्धि कर, तथा आयकर सञ्चालक स्वयंले बेहोर्नुपर्ने उल्लेख छ । तर लम्साल सहितका संचालकले क्याफेका सामान लिएर फरार भईसकेका छन् ।









