अक्सर बसोबासका कारण काभ्रेपलाञ्चोक जिल्लाका चौरीदेउराली, भुम्लु र तेमाल गाउँपालिकामा जनसंख्या भन्दा धेरै मतदाताको संख्या रहेको छ । नमोबुद्ध र बेथान्चोकमा मतदाता र जनसंख्यामा थोरै फरक छ । बनेपामा मतदाता र जनसंख्या बीच ३० हजार २ सय ५२ अन्तर छ ।
धुलिखेल/जिल्लाको विकट मानिने चौरीदेउराली, भुम्लु र तेमाल गाउँपालिकामा जनसंख्या भन्दा मतदाता धेरै भएको तथ्याङ्क सार्वजनिक भएको छ । अन्य केहि पालिकामा जनसंख्या र मतदाताको संख्या झिनो अंकले फरक देखिएको छ । जनगणना माथि प्रश्न उठिरहेका बेला जनगणनाको भन्दा र मतदाताको संख्या धेरै देखिएको हो । जनसंख्याका आधारमा ब्यक्ति आफु गाउँ नबस्ने तर आफ्नो मतदाताको नाम गाउँमै राख्ने गरेको देखिएको छ ।
प्रारम्भिक नतिजा अनुसार तीनवटा पालिकामा कायम भएको जनसख्ंया भन्दा धेरै जिल्ला निर्वाचन कार्यालय काभ्रेको मतदाता नामावलीमा १८ वर्ष पुगेका फोटा सहितको विवरणमा समावेश भएका नागरिकहरुको संख्या धेरै देखिएको हो । चौरीदेउराली गाउँपालिकामा २०७८ को जनसंख्यामा १४१०६ रहेको छ । २०६८ मा २०८९२ रहेको थियो । २०७४ को निर्वाचनमा १४५३९ मतदाता रहेका थिए । २०७८ पौष मसान्तसम्म जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा फोटो सहितको नाम समावेश गर्ने १८ वर्ष माथिका १९७५१ जना छन् । जनसंख्या र मतदाता बीचको अन्तर ५६४५ रहेको छ । १८ वर्ष माथिका नागरिकको तथ्याङ्कमा यति धेरै फरक छ भने त्यो भन्दा कम उमेरको जनसंख्याको हिसाव नै देखिदैन । तथ्याङ्क कार्यालयले मतदाता र जनगणना फरक विषय भएकाले अक्सर बसोबासमा गणना भएको बताएको छ । ‘अक्सर बसोबास गर्ने सबैको गणना भएको छ, मतदाता नामावलीमा जहाँ भए पनि गणनामा छुटेको छैन’–तथ्याङ्क अधिकृत दिपक कोईरालाले भन्नुभयो ।
त्यस्तै भुम्लु गाउँपालिकामा २०७८ सालको जनसंख्या १५५८५ रहेको छ । मतदाता संख्या २०७८ पौष मसान्तसम्म १६५३८ रहेको छ । १८ वर्ष माथिका नागरिकहरुको संख्या भन्दा जनसंख्या ६ सय ८० ले कम देखिन्छ । त्यस्तै तेमाल गाउँपालिकाको २०७८ सालको जनसंख्या १५८५८ रहेको छ । २०७८ पौष मसान्तसम्म १८ वर्ष भन्दा माथिका नागरिकहरुको मतदाता नामावलीमा फोटो खिचाउनेहरुको संख्या २०८८७ रहेको छ । जनसंख्या भन्दा मतदाताको संख्या ३९२८ धेरै छ ।
नमोबुद्ध नगरपालिकामा मतदाता भन्दा जनसंख्या ४८३ ले धेरै छ । नमोबुद्धमा २०७८ मा २६२८० जनसंख्या रहेको छ भने मतदाता २०७८ पौष मसान्तसम्म २५७९७ रहेको छ । बेथान्चोक गाउँपालिकामा पनि नमोबुद्ध जस्तै मतदाताको भन्दा ५३६ जना जनसंख्या धेरै छ । १४९९६ जनसंख्या देखिएको बेथान्चोकमा मतदाता १४४६० कायम भएका छन् । पौष मसान्तसम्मको तथ्याङ्कमा १८ वर्ष माथिकाले मतदाता सूचीमा नाम लेखाएका छन् । खानीखोला गाउँपालिकामा मतदाता भन्दा २ हजार ४२ जनसंख्या धेरै छ । पाँचखालमा मतदाता भन्दा ६२७१ जनसंख्या धेरै छ । मण्डनदेउपुरमा ३०६७ मात्रै जनसंख्या धेरै देखिन्छ । महाभारतमा ३८८५ जनसंख्या फरक छ । रोशीमा १३३ जनसंख्या मतदाता भन्दा फरक छ ।
जनसंख्याका आधारमा बनेपामा कम मतदाताले नामावली भरेको देखिन्छ । १२ हजार जनसंख्या थपिँदा २०७४ को निर्वाचनबाट २०७८ पौष मसान्तसम्म ७ हजार मात्रै मतदाता थपिएका छन् । जनसंख्या भने धेरै थपिएको छ । बनेपामा मतदाता र जनसंख्याको अन्तर ३०२५२ रहेको छ । पनौतीमा १४१२७ मतदाता कम छन् भने धुलिखेलमा १०५७४ मतदाता कम छन् । मतदाता र जनसंख्या बीचको फरकपनाका बारेमा तथ्याङ्क कार्यालय काभ्रेका प्रमुख दिपक कोईरालाले अनुपस्थित जनसंख्यामा गणना भएको हुन सक्ने बताउनु भयो । ‘कोहि ब्यक्ति बनेपामा बसोबास गरेर तेमालमा मतदाता भएको हुन सक्छ तर उहाँको गणना बनेपामा भएको हुनु पर्छ’–तथ्याङ्क अधिकृत कोईरालाले भन्नुभयो–‘बनेपामा जनसंख्या र मतदाताको अन्तर धेरै देखिनु त्यहि कारण हुन सक्छ । प्रारम्भिक नतिजाका आधारमा थप केहि भन्न सकिन्नँ ।’









