2026 August 23/ 08:56: 17am

    धुलिखेल/कोभिडको तेश्रो लहर फैलिएसँगै जिल्ला स्थित सरकारी कार्यालयहरुले धमाधम सेवा स्थगित गर्न थालेका छन् । धेरै भिडभाड हुने जिल्ला प्रशासन, जिल्ला अदालत र मालपोत कार्यालयको सेवा स्थगित भएको छ ।
    जिल्लामा दैनिक एक सय भन्दा धेरै ब्यक्तिहरुमा संक्रमण देखिएको र धेरै ब्यक्तिहरु परिक्षणको दायरामा नै नआएकाले संक्रमणको दर उच्च रहेको भन्दै जोखिम धेरै भएको क्षेत्र र कार्यालयहरु बन्द गरिएको हो । ‘हामीले नागरिकलाई भिडभाडमा नजान, सचेत रहन र संक्रमण फैलन नदिन अत्यावश्यक काममा बाहेक ननिस्कन नागरिकहरुलाई अनुरोध गरेका छौं’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘प्रशासन कार्यालयमा दैनिक नागरिकता, राहदानी र संघ संस्था नविकरण तथा नयाँ दर्ताका लागि आउने सेवाग्राहिका कारण भिडभाड हुने गरेको थियो । भिड नियन्त्रण गरी जोखिम घटाउन सेवा स्थगितको निर्णय गरिएको हो ।’
    जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले माघ ७ गते सूचना प्रकाशन गर्दै माघ १४ गतेसम्म नयाँ नागरिकता वितरण, प्रतिलिपि नागरिकता, संघ संस्था तता हातहतियारसम्वन्धी कार्यहरु, नाबालक परिचयपत्र, राहदानी, राष्ट्रिय परिचयपत्रको सेवा स्थगित गरेको हो । त्यस अगावै भुम्लु गाउँपालिकाले सेवा स्थगित गरिसकेको थियो भने रोशी गाउँपालिकाले सेवा खुम्च्याएको थियो । नमोबुद्ध नगरपालिकाले पनि सेवा स्थगितको सूचना प्रकाशन गरेको छ ।
    जिल्ला अदालत काभ्रेपलाञ्चोकले माघ ७ गतेको पूर्ण बैठकबाट माघ ९ गते देखि २० गतेसम्म सेवा स्थगन गर्ने निर्णय गरेको छ । अत्यावश्यक सेवा बाहेक अदालतले सबै प्रकृतिका मुद्दाहरुमा आदेश बमोजिम हुने बकपत्रका कार्यहरु र मुुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १२३ नम्वर बमोजिम गरिने बयान कार्यहरु स्थगित गरिएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो । मालपोत कार्यालय काभ्रेपलाञ्चोकले माघ १० गते सोमबार देखि माघ १४ गते शुक्रबारसम्मलाई सेवा स्थगन गरेको छ । आईतबार सुचना प्रकाशन गर्दै मालपोत कार्यालय काभ्रेले उक्त निर्णय गरेको हो । जिल्लामा शनिबार साँझसम्म सक्रिय संक्रमितको संख्या ११ सय ९९ पुगेको थियो ।