रोशी, रजवास/माघ १ गते रोशी गाउँपालिका वडा नम्बर ९ रजबासमा नेपाल मगर बौद्ध सेवा समाज रोशी ९ को आयोजनामा मगर जातिको राष्ट्रिय एवं साँस्कृतिक पर्व माघे संक्रान्ती हर्षोल्लासको साथ मनाएको छ ।
सोही अबसरमा श्रद्धेय भिक्षु क्षन्तिशोभन र श्रामणेर अर्पणको उपस्थिति रहेको थियो । सोहि अवसरमा रोशी ९ रजबासमा नवनिर्मित मंगलभूमी बुद्ध विहारमा भगवान बुद्धको प्रतिमा प्रतिष्थापन गर्ने कार्य समेत सम्पन्न भएको थियो । संस्थाको अध्यक्ष लिलाराज चितौरे मगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमूख अतिथी रोशी गाउँपालिका वडा नम्बर ९ का वडा सचिब सुवास आले मगर रहनु भएको थियो । बिशिष्ट अतिथीहरु सोही वडाका वडा सदस्य मेघबहादुर लामा र नेपाल मगर लेखक संघ केन्द्रिय समिति तथा आदिवासी जनजाति पत्रकार महासंघ बागमति प्रदेशका महासचिब श्याम राना मगर रहनु भएको थियो । कार्यक्रममा नेपाल मगर बौद्ध सेवा समाज बागमति प्रदेश अध्यक्ष साधुराम राना मगर, नेपाल मगर बौद्ध सेवा समाज जिल्ला समन्वय समिति काभ्रेका अध्यक्ष दिपक पुलामी मगरको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मन्तव्यको क्रममा साधुराम राना मगरले माघे संक्रान्ती पर्व मात्र नभएर मंगलभूमी बुद्ध विहारको उद्घाटन गरिएको एक ऐतिहासिक दिन भएको बताउनु भयो । उक्त बुद्ध विहार निर्माणको लागि अमूल्य सल्लाह सुझाव दिनुहुने अग्रजहरुप्रति नमनका साथै सहयोग गर्नुहुने रोशी गाउँपालिका तथा ९ नं. वडा कार्यालय लगायत आर्थिक तथा भौतिक बस्तु दान गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्नुभयो । त्यसैगरी शिक्षक दिलबहादुर पिठाकोटे मगरले मन्तव्यको क्रममा मगर जातिको महान साँस्कृतिक पर्व माघे संक्रान्तीको मौलिक संस्कार सँस्कृति तथा रितीरिवाजहरुको संरक्षणको लागि रोशी गाउँपालिका वडा नं. ९ ले बजेटको व्यबस्था गरिदिनु भएकोमा हार्दिक आभार प्रकट गर्नुभयो । त्यसैगरी बिशिष्ट अतिथी श्याम राना मगरले माघे सक्रान्त्ी अबसरमा सबैसँग शुभकामना आदान प्रदान गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । यस क्षेत्रका मगरहरुले अब यस्ता कार्यक्रमका साथै आफ्नो मगर मातृभाषा बोल्न सिक्नु पर्ने बताउनु भयो । कार्यक्रमका बिशिष्ट अतिथी मेघबहादुर लामाले मन्तव्य राख्नु हुदै मगर जातिको इतिहास, भाषा, धर्म, संस्कार, कला संस्कृति मगर जातिको मात्र पह्रिचान नभएर रोशी गाउँपालिकाको र देशकै अमूल्य निधी भएकोले यसको विकास एवं संरक्षणको लागि आगामी दिनहरुमा पनि यसरी नै लागी परिरहने बताउनु भयो ।
कार्यक्रमका प्रमूख अतिथी सुवास आले मगरले माघे संक्रान्ती पर्वको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नुहुदै रजबासमा मंगलभूमी बुद्ध विहारको उद्घाटन भएकोमा खुसी व्यक्त गर्नुभयो । यसैगरी प्रमूख अतिथी आले मगरले माघे संक्रान्तीको मौलिक एवं ऐतिहासिक विशेषताको बारेमा चर्चा गर्नु भएको थियो । मगरहरुले आफ्नो इतिहास, भाषा, धर्म, संस्कार, कला संस्कृति संरक्षणका साथसाथै शैक्षिक क्षेत्रमा पनि फड्को मार्नु पर्ने बताउनु भयो । इतिहासको कालखण्डमा मगरका पुर्खाहरु औपचारिक शिक्षा नभए पनि व्यबहारिक शिक्षामा अत्यन्तै कुशल थिए । यसैले त मगर जातिले स्वस्थको लागि फाइदाजनक तरुल, सखरखण्ड, च्याउ, जौ का परिकारहरु खान थाले । यद्धपि आज पनि यो क्रम छदैछ जुन दिनको शुरुवातिको रुपमा माघे संक्रान्ती रहेको बताउनु भयो । मगर जातिको माघे संक्रान्ती पर्वको मौलिक सभ्यताको संरक्षण एवं सम्बद्र्धनको लागि रोशी गाउपालिका वडा नं. ९ ले यस वर्ष १ लाख बजेटको व्यबस्था गरेको थियो । आगामी दिनहरुमा पनि नियमित बजेट बिनियोजन हुने व्यबस्था मिलाउन पहल गर्ने उहाँले बचन दिनु भयो ।
चोत्रबहादुर सारु मगरको संयोजकत्वमा सञ्चालित कार्यक्रममा विहार निर्माणार्थ यथेष्ट भौतिक बस्तु दान गर्नु हुने सबैलाइ सम्मान गरिएको थियो । यसैगरी गएको वर्ष परियत्ति शिक्षाको विभिन्न तह उत्तिर्ण गर्नु हुने सबैलाई सम्मान गरिएको थियो । यसका साथै कार्यक्रममा मौलिक माघे संक्रान्ती, कराती नृत्य, कौह्रा, सालैजो, मारुनी नृत्य लगायतको सांस्कृतिक कलाको प्रदर्शन भएको थियो । कार्यक्रमको उद्घोषण गंगाराम राना मगर, यसुदा राना मगर र मनिषा पुलामी मगरले संयुक्त रुपमा गर्नुभएको थियो ।









