मोतीराम तिमल्सिना
धुलिखेल
नेकपा एमाले काभ्रेले जिल्लामै पहिलो पटक ऐतिहासिक ढंगबाट १० औं जिल्ला अधिबेशन सम्पन्न गरेको छ । उद्घाटन सत्रमा ब्यापक जनसहभागिता देखाएर जिल्लामै सशक्त दलको रुपमा स्थापित मान्यतालाई अझै पुष्टि गराएको छ भने बन्द सत्रमा प्रयोग गरेको हाईटेक प्रविधिको विद्युतीय मतदान, मतपरिणाम र निर्वाचनमा भाग लिन चाहने प्रतिनिधिहरुका लागि विना दबाब उम्मेदवार बन्न र मतदान गर्ने वातावरण निर्माण गरेको छ । जसका कारण २ सय ४९ प्रतिनिधिले उम्मेदवार बन्ने अवसर प्राप्त गरे ।
सभालाई एमाले केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नु भएको थियो । सभामा सम्बोधन गर्दै ओलीले काभ्रेमा एमालेले गरेको जस्तो सभा ५ दलीय गठबन्धन मिलेर पनि गर्न नसक्ने ठोकुवा गर्नुभयो । १३ वटै पालिकाबाट कार्यकर्ता तथा शुभचिन्तकहरुको ठुलो सहभागिता रहेको उद्घाटन सभामा झण्डै ४० हजार नागरिकहरुको सहभागिता रहेको एमालेले जनाएको छ । धुलिखेलको रंगशाला भरिएर एमालेको सभामा दायाँबायाँ नागरिकहरुको भिड लागेको थियो । जनसमुदायहरु बाजागाजा झाँकी सहित एमालेको उद्घाटन सभामा सहभागी भएका थिए ।
राप्रपा अध्यक्ष सहित १२ सय एमालेमा प्रवेश
राप्रपा जिल्ला अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा र गंगामाया लामा, सचिव धनजित लामा सहित जिल्ला समितिमा रहेका ३१ जना र राप्रपाका प्रतिनिधि सभा, प्रदेश सभाका नेता तथा कार्यकर्ता गरी ७ सय भन्दा धेरै एमालेमा प्रवेश गरेका छन् । प्रवेश गरेका मध्ये श्रीदास रोशी गाउँपालिका वडा नम्वर १ का अध्यक्ष हुन् भने धनजित वडा नम्वर ३ का अध्यक्ष हुन् । त्यस्तै नेकपा क्रान्तिकारीका तेजबहादुर राना मगर पनि एमाले प्रवेश गरेका छन् । उनी रोशी गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्ष हुन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका आषिश राना मगर, माओवादीका यसबहादुर लामा, नेपाली काँग्रेसका इन्द्रमान तामाङ सहित १ हजार २ सय जना एमालेमा प्रवेश गरेको एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले बताउनु भयो । काभ्रेमा एक सिट जितेको उक्त पार्टीका सबै नेता कार्यकर्ता एमालेमा समाहित भएका छन् ।
‘एमालेको जत्रो सभा गरेर देखाउनु’
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र सभामुख अग्नि सापकोटालाई एमाले नेताहरु बलराम सापकोटा, केपी सापकोटा र दाप्चाका अर्जुन लामाको हत्याका बारेमा काभ्रेलीहरु जानकार रहेको टिप्पणी गर्नु भएको छ । दाप्चाका अर्जुन लामाको हत्या अग्नि सापकोटाको निर्देशनमा भएको अभियोगमा दर्ता भएको मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ ।
एमाले काभ्रेको दशौं जिल्ला अधिबेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामा उपस्थित जनसमुदायलाई प्रश्न गर्दै भन्नुभयो–‘तपाईहरु सभामुख चिन्नुहुन्छ ? नाम त लिन्न तर पनि लिनु प¥यो भने कुल्ला गर्ने पानी छैन’–‘प्रतिपक्षी विरुद्ध, लोकतन्त्र विरुद्ध षड्यन्त्र गर्नेहरुलाई हिजोको पनि पाप लाग्छ । आजको पनि पाप लाग्छ ।’ ‘काभ्रेली जनतालाई अहिलेका सभामुखका बारेमा मैले केहि भन्नु पर्दैन’–अध्यक्ष ओलीले भन्नुभयो–‘काभ्रेलीले राम्रोसँग चिन्नुहुन्छ हैन सभामुख ? नाम नलिउ, अहिले कुल्ला गर्ने पानी छैन । निष्पक्षता छैन, मर्यादा छैन, पदको गरिमा छैन । प्रतिपक्षका विरुद्ध, देशको ठुलो पार्टीका विरुद्ध, दल फुटाउने षडयन्त्र गरेर, पहिले मात्रै होईन पाप, अहिले लोकतन्त्रका विरुद्ध पनि पाप, संविधान विरुद्ध पनि पाप, राज्यका तीनवटै अंग बर्बाद बनाएका छन् ।’
माओवादी अध्यक्ष प्रचण्ड र सभामुख अग्नि सापकोटाले सशस्त्र युद्धका बेला युवाहरुलाई बेहाल बनाएको, परिवार टुहुरो बनाउँदै असल बाबु र ससुरा बनेको भन्दै अध्यक्ष ओलीले कटाक्ष गर्नु भयो । मान्छेका भावना सँग खेलवडा गरेर क्रान्तिको सपना देखाएर ब्यक्ति र मुलुकलाई बर्वाद बनाउने पार्टी एमाले नभएकाले १७ हजारमा ५ हजारको जिम्मा लिन्छु भनेकोमा काभ्रेका नागरिक पर्छन कि ? पर्दैनन् ? प्रश्न गर्नु भयो । मुलुकमा अहिले तीनवटै अंगहरु बर्बाद भएको अध्यक्ष ओलीले बताउनु भयो । ‘सरकार बने लगत्तै मुलुकमा अलक्षिण शुरु भएको छ, एउटा मात्रै अलक्षिण हैन पाँच पाँच जना अलक्षिणको गठवन्धन बनेको छ’–अध्यक्ष ओलीले भन्नुभयो–‘बैकमा पैसा छैन, अदालतमा कराँते खेल्न थालिएको छ, प्रधानन्यायाधीश निषेध हुन्छन्, बरिष्ठ अधिवक्ताहरु कुस्ति खेल्छन, न्यायाधिशहरु हड्ताल गर्छन् । इजलास बहिस्कार गर्छन् । सरकार, संसद र न्यायालय सबै बर्बाद पारिएको छ ।’ एमाले अध्यक्ष ओलीले एमालेका विरुद्ध पाँचवटै दल एक स्थानमा उभिए पनि एमालेको जत्रो सभा गर्न नसक्ने बताउनु भयो । काभ्रे एमालेले झण्डै ३० हजार नागरिकहरु सभामा उतारेको दावी गरेको छ । सोहि अवसरमा राप्रपा काभ्रेका अध्यक्ष टुल्कु लामा सहित तीन जना वडा अध्यक्षहरु समेत गरी १ हजार २ सय ब्यक्तिलाई एमाले प्रवेश गराईएको थियो ।
नेकपा एमालेले देश बनाउने, मिचिएको जमिन फिर्ता गराउँदै भु–भाग समेटेर नयाँ नक्सा बनाउने, देश जोगाउन संघर्ष गर्ने पार्टी भएकाले सुखी नेपाली र समृद्ध नेपाल निर्माणको अभियानलाई साकार बनाउने अध्यक्ष ओलीले बताउनु भयो । सरकार, काँग्रेस र माओवादी प्रति कटाक्ष गर्दै अध्यक्ष ओलीले एमाले नेतृत्वमा मात्रै मुलुकको विकास र समृद्ध सम्भव भएकाले देशमा लक्षण, सुशासन र समृद्धि सम्भव भएको बताउनु भयो । ‘मुलुकलाई विकासको टनेल युगमा प्रवेश गराईएको छ’–अध्यक्ष ओलीले भन्नुभयो–‘सेटिङ्ग र परमादेशबाट बनेको सरकारले मुलुकलाई अधोगति तर्फ लगेका छन् ।’
सभामा पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटा, केन्द्रीय सदस्य रेशम लामा, नविना लामा, प्रदेश कमिटी उपाध्यक्ष रामहरी सुवेदी, सदस्यहरु चन्द्र लामा, कुमार खकुरेल, चुडामणी गौतम, कुमार खकुरेल, भिम न्यौपाने, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, सचिवालय सदस्य रिता ढकाल, इन्द्र तामाङ, सचिव नारायण पाण्डे, एमाले प्रवेश गरेका राप्रपा अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा, नेकपा क्रान्तिकारीका आशिष राना मगर, माओवादीका यसबहादुर लामा लगायतले मन्तब्य राख्दै एमालेको नेतृत्वमा मात्रै मुलुकको समृद्धि सम्भव भएको बताएका थिए ।
४० हजारको सहभागिता
एमाले काभ्रेले १० औं जिल्ला अधिबेशनको उद्घाटन सत्रमा ४० हजार काभ्रेली नागरिकहरु सहभागी भएको बताएको छ । १३ वटा कमिटीले आफ्नै ब्यवस्थापनमा सभामा नागरिकहरुको सहभागिता गराएको थियो । सभामा आउनु अघि धुलिखेलका विभिन्न स्थानबाट निस्किएको ¥याली डेढ घण्टा पछि रंगशालामा पुगेको थियो । ¥यालीमा स्थानीय संस्कृति झल्कने झाँकीहरु प्रस्तुत गरिएको थियो । एमालेले सभामा सहभागी भएका सबै जनसमुदायलाई धन्यवाद ब्यक्त गरेको छ ।
हाईटेक प्रविधि
एमाले काभ्रेले पहिलो पटक जिल्लामा हाईटेक प्रविधिबाट कार्यक्रम सम्पन्न गरेको छ । उच्च स्तरीय प्रविधिको प्रयोगले सहभागि सबैले एकै साथ कार्यक्रम अवलोकन गर्ने अवसर पाएका थिए । मञ्च, साउण्ड सिस्टम, एलईडी मनिटर, बसोबास र ¥यालीको ब्यवस्थापनमा एमालेले प्रयोग गरेको शैलीले सभा ब्यवस्थित बनेको एमालेले जनाएको छ । बन्द सत्रमा पनि विद्युतिय भोटिङ्ग मेशिन, प्रतिनिधिहरुको क्युआर कोडको प्रतिनिधि कार्ड लगायतका ब्यवस्थापन गरेको थियो ।
नेतृत्वमा स्वस्थ प्रतिस्पर्धा, अध्यक्षमा अशोक ब्याञ्जु
नेकपा एमाले काभ्रेमा स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको छ । जिल्लामै पहिलो पटक विद्युतीय भोटिङ्ग मेशिन मार्फत खुल्ला, गुट रहित, स्वस्थ र स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न गरेको छ ।
एमाले काभ्रेको अध्यक्ष पदमा अशोक ब्याञ्जु निर्विरोध चुनिनु भएको छ । उपाध्यक्षमा चन्द्र लामा विजयी हुनु भएको छ भने सचिव पदमा राजन भुर्तेल निर्वाचित हुनु भएको छ । त्यस्तै उप–सचिव पदमा गोलाप्रथाबाट राजकुमार सापकोटा निर्वाचित भए भने रिता ढकाल गौतम निर्विरोध निर्वाचित हुनु भएको छ ।
एमाले काभ्रेले समावेशी नेतृत्व चयन गरेको बताएको छ । १ सय ५ सिटमा ३५ जना महिला निर्वाचित भएका छन् भने दलित उत्पीडित समुदाय, अल्पसंख्यक, मजदुर, आदिवासी जनजाति समुदायको उल्लेख्य प्रतिनिधित्व गराईएको छ । १ सय ५ मध्ये २६ जना निर्विरोध भएको थियो भने ७९ पदका लागि २ सय १५ जनाले प्रतिस्पर्धा गरेका थिए । २ सय ४९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारहरुलाई नेताहरुले गुटबन्दि नगरी ब्यक्तिगत रुपमा मतदानमा सहभागि हुन निर्देशन दिएका थिए । बन्द सत्रमा सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले नेतृत्व कोहि ब्यक्तिका पक्षमा नभएकाले निर्धक्क भएर उम्मेदवार बन्न र मतदानमा सहभागी हुन निर्देशन दिएका थिए । सोहि अनुसार नेताहरु मौन बसेपछि धेरै उम्मेदवारी दर्ता भएको थियो ।
निर्वाचनमा भुगोल खुल्ला १ तर्फ कुणराज चौलागाई र नेत्रप्रसाद गौतम निर्विरोध भएका छन् भने भुगोल २ तर्फ अमननाथ ढकाल र नकुलप्रसाल पराजुली निर्विरोध भएका छन् । सदस्य जनजाति खुल्ला तर्फ कुलदेव अस्थानी, नरध्वज तामाङ, रामकुमार तामाङ र महिलातर्फ चन्द्रमाया तामाङ र रुकमणी गुरुङ्ग निर्विरोध भएका छन् । दलित खुल्लातर्फ विष्णुबहादुर मिजार र रमेश नेपाली निर्विरोध भए । दलित महिला तर्फ सम्झना परियार निर्विरोध भईन् । सदस्य खुल्लातर्फ अमित लामा, नारायणप्रसाद गौतम, भैरव केसी, राजेन्द्र केसी, सुर्दशन थापा, सुन्दर खड्का, हरी खतिवडा निर्विरोध रहेका छन् । मजदुरतर्फ विदुर खत्री, मोहनबहादुर गजुरेल र शान्ति कार्की निर्विरोध भएका छन् ।
भुगोल १ बाट गोविन्द उप्रेति, निराजन जंगम, उद्धव सापकोटा, निरोज पाण्डे, पूर्णचन्द्र सिग्देल, सत्यमान लामा, सञ्जीव ढकाल, हरिशरण खरेल निर्वाचित भए । महिलातर्फ बबिता बोहरा, कल्पना तामाङ, ज्ञानीमाया लामा, यशोदा खनाल र उमा थपलिया निर्वाचित भएका छन् । भुगोल २ तर्फ होमप्रसाद चौलागाई, कुलमान तामाङ, आत्मराम थापा, टिकाराम लामा, सुर्दशन हुमागाई जगन्नाथ अधिकारी, शिवप्रसाद न्यौपाने र हर्कमान तामाङ निर्वाचित भए । श्याम सापकोटाले प्राप्त गरेको मत र हर्कमान तामाङको बराबरी मत प्राप्त भए पछि गोला तानिएको थियो । महिला तर्फ सरिता रायमाझी, माधुरी दुलाल सापकोटा, कल्पनाकुमारी श्रेष्ठ, गीता सापकोटा (न्यौपाने) र गोमा गौतम निर्वाचित भएका छन् ।
सदस्य दलित खुल्ला तर्फ प्रकाश रोक्का, खड्गबहादुर पुर्काेटी, टंकप्रसाद दमाई र विकास मंग्राती विजयी भएका छन् । महिलातर्फ कल्पना विक र इन्दिरा मिजार निर्वाचित भएका छन् । सदस्य खुल्लातर्फ जेनिश लामा (जेन), कञ्चन अधिकारी, इन्द्र तामाङ, नवराज ढकाल, विक्रम चौलागाई, हरिशरण दाहाल, नवराज भुर्तेल, प्रेम लामा, रामशरण दाहाल, हरिकुमार मैनाली, उपेन्द्र घिसिङ्ग, भोजराज तिमल्सिना, मुक्ति विष्ट, विनोद सापकोटा, उपेन्द्र शर्मा, राकेश लामा, शालिकराम पराजुली, हरिश्चन्द्र घिमिरे, विदुरप्रसाद हुमागाई, बेदप्रसाद तिमल्सिना, विनोद पराजुली, रामकृष्ण हुमागाई, दिलिप तामाङ, संजीव लामा वाईवा, विदुरप्रसाद सापकोटा र नवराज हुमागाई निर्वाचित भएका छन् ।
अल्पसंख्यक खुल्ला सुमन भुजेल निर्वाचित भएका छन् । महिला तर्फ जमुना भुजेल निर्वाचित भएकी छिन् । महिला तर्फ पवित्रा भुर्तेलले सर्वाधिक मत ११ सय २६ प्राप्त गरिन् । जम्मा १३ सय ६३ मत खसेको थियो । १ हजार ४ सय ५ प्रतिनिधि चयन भएका थिए । त्यस्तै सुनिता थापा, गिता बञ्जारा, अम्बिका ठकुरी, लालतारा अधिकारी कार्की, रेखा सापकोटा दाहाल, कमला काफ्ले, निर्मला काफ्ले, रमिला तामाङ, सीता कोईराला, सुर्यमाया दनुवार, गोमा तिमल्सिना, बबित खरेल, सुभद्रा अधिकारी, शान्ता न्यौपाने, सुभद्रा नेपाल आचार्य र सजना आचार्य निर्वाचित भएका छन् ।









