2026 August 22/ 06:26: 06am

अध्यक्षमा अशोक खनालको नेतृत्व
    बनेपा/नेकपा एमाले निकट अनेरास्ववियुको २९ औं जिल्ला अधिबेशन नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ का सांसद, पूर्व मन्त्री, एमाले काभ्रेका इन्चार्ज गोकुल बास्कोटाको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष गोविन्द उप्रेतिको अध्यक्षतामा सम्पन्न भएको छ । 
    अधिबेशनमा बोल्दै प्रमुख अतिथी बास्कोटाले मुलुक परिवर्तनको संवाहक अनेरास्ववियुलाई विद्यार्थीहरुको हक अधिकारसँगै मुलुक समृद्धिको जिम्मेवारी रहेको बताउनु भयो । विगतको जस्तो भूमिका र अभ्यास फरक फरक भए पनि विद्यार्थीहरु भविश्यका कर्णधार भएकाले जिम्मेवारी बहन, उत्तरादयित्व, इमान्दारीता र मेहनत आवश्यक रहेको पूर्व मन्त्री बास्कोटाले बताउनु भयो । कार्यक्रममा एमाले अध्यक्ष अशोक ब्याञ्जुले विद्यार्थीहरुको भूमिका र दायित्वलाई पार्टीले पनि ब्यवस्थित गरिरहेको बताउनु भयो । भविश्यका संवाहक विद्यार्थीहरुको हक र अधिकारका लागि तीन तहकै सरकार जिम्मेवार रहनु पर्ने बताउँदै अध्यक्ष ब्याञ्जुले सहि र गलत छुट्टयाउन सक्ने तागत विद्यार्थीहरुले राख्नुपर्ने बताउनु भयो । उच्च शिक्षा अध्ययनका लागि विदेशिने क्रम बढेको भए पनि सिकेर नेपाल फर्किन र नेपालमै असल र सक्षम नागरिकका रुपमा मुलुक सम्हाल्ने अवसरका लागि विद्यार्थीहरु तयार हुनु पर्ने उहाँले बताउनु भयो । 
कार्यक्रमा अनेरास्ववियुका महासचिव समिक बडाल, कोषाध्यक्ष जेनिस लामा, बागमती प्रदेश इन्चार्ज अभिषेक सुवेदी, सुन्दर खड्का, जिल्ला इन्चार्ज शालिकराम पराजुली, सह इन्चार्ज हरिशचन्द घिमिरे, पुर्व अध्यक्ष उपेन्द्र शर्मा लगायतका नेताहरुले विद्यार्थी संगठनको महत्वका बारेमा जानकारी गराएका थिए । साथै युवा संघ अध्यक्ष विक्रम चौलागाई, अनेमसंघ सचिव पवित्रा भुर्तेल लगायतले संगठनहरुको दायित्व र भूमिकाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरु, बागमती प्रदेशका पदाधिकारीहरु, जिल्ला कमिटीका सदस्यहरु तथा विभिन्न जनवर्गिय संगठनका पदाधिकारीहरु सहभागि थिए । अधिबेशनको बन्द सत्रले अशोक खनालको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्ष हेमराज हुमागाई, सचिव मिलनकुमार गौतम, सहसचिव सन्जिव न्यौपाने, कल्पना लामा कोषाध्यक्ष आदर्श न्यौपाने, कार्यालय सचिव सुमन जैरु र संगठन बिभाग प्रमुख दिपेश तिमल्सिनालाई छनौट गरेको छ ।