बनेपा/काभ्रेबाट प्रशारण भइरहेको प्राइम एफएम १०४.५ मेगाहर्ज अंग्रेजी सम्वत २०२२ को प्रवेश सँगै ११ औ वर्ष पुरा गरी १२ औ बर्षमा प्रवेश गरेको छ । जिल्लाको लोकप्रिय एफएमले श्रोताको मन जित्न सफल भएको छ ।
११ औ वर्ष प्रवेशको अवसरमा एफएमले विभिन्न नागरिकहरुलाई सुविधा प्रदान गरेको छ । दुई वर्ष अघि एफएमले १ सय वाटबाट १ हजार वाटको क्षमता विस्तार गरेको थियो । जिल्लाको पहिलो रेडियो प्राईमले १ हजार वाट क्षमताको अनुमति प्राप्त गरी संचालनमा ल्याएको थियो । विक्रम संवत २०६७ साल पुस १७ गते देखि प्राइम एफएमले आफ्नो औपचारिक प्रशारण सुरु गरेको थियो । त्यस भन्दा अघि रेडयो नयाँ सन्देशबाट उक्त एफ एम संचालन हुँदै आएको थियो । जिल्लामा सञ्चार क्षेत्रमा लामो समयदेखि क्रियाशिल व्यक्तिहरुको सक्रियतामा प्राइम एफएम स्थापना भएको हो । एफएमका अध्यक्ष अशोक व्याञ्जुले प्राइम एफएमलाई प्रदेशस्तरीय रेडियोको रुपमा विकास गर्ने योजना अनुरुप क्षमता विस्तार गरेको बताउनु भयो । क्षमता विस्तार पछि एफएमले प्रदेशस्तरीय कार्यक्रमहरु शुरुवात गरिएको अध्यक्ष ब्याञ्जुले बताउनु भयो । सामूदायिक रेडियोलाई हेर्ने सरकारको फरक दृष्टि, केन्द्रीयस्तरका विज्ञापनमा कम पहुँच, स्थानीयस्तरका विज्ञापनमा अस्वस्थ प्रतिस्पर्धा लगायतका समस्याका बाबजुत एफएमले लोकतन्त्रको सम्वद्र्धन, मानवअधिकारको संरक्षण तथा जनताको सूचनाको हकको सम्मान गर्दै आफ्नो प्रशारणलाई अझ प्रभावकारी बनाउँदै लैजाने एफएमका कार्यक्रम प्रमुख भुवन रायमाझीले बताउनु भयो । आई सामूदायिक सञ्चार केन्द्रबाट सञ्चालित एफएमले आगामी बर्षमा स्रोताहरुको मागअनुसार कार्यक्रमहरु थप गर्ने तथा सामाजिक क्षेत्रमा पनि विविध कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष व्याञ्जुको भनाई छ ।









