2026 August 22/ 07:31: 38am

    बनेपा/‘स्वाभिमानी नागरिक तथा सभ्य र सुसंस्कृत समान निर्माण हाम्रो अभियान’ भन्ने नारा बोकेको विद्यालय तहमा गठन भएको राष्ट्रिय सेवा दल काभ्रेले ‘यौन हिसा सदाका लागि अन्त्य गरांै, एउटै लक्ष्य एउटै सार, मानव बेचविखनको अन्त्य, हाम्रो साझा सरोकार’ भन्ने नारा सहित बनेपामा बृहत्त मार्चपास गरेको छ । 
    मार्चपास कार्यक्रममा नेपाल प्रहरी, शशस्त्र प्रहरी, प्रशासन, जनप्रतिनिधि र कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । बनेपाको चारदोवाटो चोकबाट अरनिको राजमार्गको नालादोवाटो हुँदै पुरानो बजार परिक्रमा गरी बनेपा चोकमा आई समापन गरिएको थियो । मार्चपासमा विभिन्न विद्यालयमा गठन भएका राष्ट्रिय सेवा दलमा आवद्ध विद्यार्थीहरु, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, उपप्रमुख रेखा सापकोटा दाहाल, कालिजंग गण धुलिखेलका गणपति कर्णेल मिलन थापा, प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्री, शशस्त्र प्रहरी प्रमुख महेश केसी लगायत जिल्लाको सुरक्षा निकायका प्रतिनिधिहरु सहभागि थिए । मार्चपासमा महिला हिंसा न्युनीकरण गर्न, मानव बेचविखन अन्त्य गर्न र यौन हिसा रोक्न समाजका सबै पक्षको उत्तिक्कै दायित्व रहेको बताईएको थियो । सोहि सन्देश दिने प्लेकार्डहरु मार्चपासमा बोकिएका थिए । 
    विद्यालय जीवन देखि नै बालबालिकाहरुलाई राष्ट्रिय एकताको भावना जगाउन, बफादारिता, इमान्दारिता, अनुशासन, नेतृत्व गर्ने बानीको विकास गर्ने उदेश्यले नेपाली सेनाले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न विद्यालयमा राष्ट्रिय सेवा दल गठन गरेको थियो । राष्ट्रिय सेवा दलमा सहभागि विद्यार्थीहरु सामाजिक कार्य तथा विपद ब्यवस्थापनमा सक्रिय हुँदै आएका छन् । सिनियर र जुनियर डिभिजनमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरु सहभागि छन् । राष्ट्रिय सेवा दल गठन गर्नु अघि नेपाली सेनाको कालिजंग गण धुलिखेलका गणपति कर्णेल मिलन थापाले अभिभावक, विद्यार्थी र शिक्षकहरुलाई राष्ट्रिय सेवा दलको उदेश्यका बारेमा अभिमुखिकरण गर्नु भएको थियो । 
    विद्यार्थीहरुलाई अध्ययनमा कुनै असर नपार्ने गरी सेवा दलमा सहभागि भएकाहरुलाई विहान बेलुकाको अतिरिक्त समयमा नेपाली सेनाको टोलीले तालिम प्रदान गर्नेछ । तीन महिने तालिममा सहभागिहरुलाई सेनाले पोशाक लगायतका आवश्यक सामाग्री निशुल्क उपलब्ध गराउनेछ । विद्यालय तहमा लिईने तालिम समापन पछि सेनाले विभिन्न स्थानमा रहेका युनिटहरुमा ‘क्लोज क्याम्प’ मा दुई साता भन्दा लामो समय विद्यार्थीहरुलाई सहभागि गराउनेछ । सोहि तालिममा उत्कृष्ट भएकाहरुलाई सेनाले विभिन्न देशमा अध्ययन अवलोकनका लागि पठाउने छ । विशेषगरी स्थानीय स्तरमा हुने विभिन्न खालका विपद भएको अवस्थामा त्यसको ब्यवस्थापनका लागि राष्ट्रिय सेवा दलमा आवद्ध भई तालिम प्राप्त विद्यार्थीहरु सक्रिय हुन सकुन भन्ने उदेश्यले विद्यालय तह देखि नै विद्यार्थीहरुले सक्रिय बनाईएको हो । नेपालमा विपद धेरै भएकाले विपद ब्यवस्थापन गर्न स्थानीय तहमै जनशक्ति तयार गर्ने उदेश्यले उक्त सेवा दललाई ऐनमा भएको ब्यवस्था अनुसार कार्यान्वयन शुरु गरिएको हो । तालिम पश्चात विद्यार्थीहरुलाई एल्मुनाई एशोसियशन मार्फत सक्रिय गराई सामाजिक काममा समेत उत्प्रेरणा जगाउने अभिप्रायले राष्ट्रिय सेवा दल गठन गरिएको हो ।