2026 August 21/ 09:03: 24pm

    बनेपा/नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमसिसिका बारेमा सरकारले गर्ने निर्णयका आधारमा एमालेले निर्णय गर्ने बताउनु भएको छ । एमालेले कारवाही गरेका सांसदहरु संसदमा रहुञ्जेल संसद नचल्ने उहाँले बताउनु भएको छ । 
     ‘सरकारले के गर्छ ? गठवन्धनधारीहरुले के गर्छन् ? सरकार कसरी प्रस्तुत हुन्छ ? सरकारले श्वेत पत्र जारी गर्दा किन नबोलेको ? नीति तथा कार्यक्रम ल्याउँदा किन नबोलेको ? कारण के हो ? एमसिसिका बारेमा हामीलाई होईन गठवन्धनधारीहरुलाई सोध्ने हो’– बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो–‘सरकार कुन हिसावले प्रस्तुत हुन्छ त्यसपछि मात्रै धारणा बनाउँछौं ? १६५ सांसद् छन् । गरे भयो नि । संसद्मा ल्याए भयो नि । किन ल्याउँदैनन् ? त्यसपछि मात्रै एमालेको धारणा बन्छ । संसद्मा दर्ता भएको विजनेसका बारेमा सरकार के गर्छ ? सभामुख के भन्छन् ? प्रधानमन्त्री के भन्छन् ? गठबन्धन के भन्छ ?’ 
    अनेरास्ववियु केन्द्रिय कमिटीको महिला विभागले आयोजना गरेको नेतृत्व विकास तथा सशक्तिकरण विषयक तीन दिने आवासीय तालिमको समापन गर्दै बनेपामा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धनलाई अगुवाई गर्ने नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्रीले एमसीसीका बारेमा जवाफ दिनुपर्ने बताउनु भयो । निरन्तर अबरुद्ध गरेको संसद् अबरुद्ध हुन नदिन एमालेले कारवाही गरेका सांसद्हरुलाई हटाएको सूचना सभामुखले टाँस गर्नुपर्ने बताउनु भयो । ‘संसद् नभएका ब्यक्ति सांसद् भएर बसिरहेका छन् । सभामुख के भन्छन् ? सभामुख पुष्पकमल दाहालको कार्यकर्ता भएर चल्न चाहन्छन कि ? सभामुख हुन खोज्छन् ?’–बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो–‘सभामुख निश्पक्ष हुनुपर्छ । त्यसो नहुँदासम्म संसद् चल्न एमालेले दिदैन ।’ 
    तालिमको उद्घाटन उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गर्नु भएको थियो भने तीन दिने तालिममा विभिन्न विषयमा पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, भानुझक्त ढकाल, डा. विन्दा पाण्डे, माधव ढुंगेल,  पार्टी जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, विद्यार्थी नेताहरु सु्निता बराल, समिक बडाल, जेनिस लामा, अभिबत्ता बाबुराम दाहाल, नेता आ.सी.लामिछाने लगायतले प्रशिक्षण दिएका थिए । बैठकमा देशभरबाट अनेरास्ववियुका महिला नेताहरु सहभागी भएका थिए ।