बनेपा/स्थानीय तहहरुमा लैगिंक समानता तथा सामाजिक समावेशीकरणको अवस्थाका बारेमा पहिलो पटक बनेपा नगरपालिकामा परिक्षण गरिएको छ । नगरपालिकाले वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु तथा शाखा प्रमुखहरुहरुलाई लैगिक समानता तथा सामाजिक समावेशीकरण तालिम दिदै स्वमुल्यांकन गराएको छ । स्वमुल्यांकनमा नगरपालिकाले ६८ प्रतिशत प्राप्त गरेको छ ।
लैगिक समानता तथा सामाजिक समावेशीकरणका लागि नीति, कानून र योजना, संस्थागत ब्यवस्था, मानव संसाधन तथा क्षमता विकास, सेवा प्रवाह र सुशासन तथा उत्तरदायित्व सम्वन्धी विषयमा २०÷२० वटा प्रश्नहरु समावेश गरी प्रत्येक प्रश्नमा १÷१ नम्वर पुर्णाङ्क राखेर स्वमुल्याकंन गराईएको थियो । हरेक मुल्यांकनमा प्रमाण भएका विषयलाई मात्रै नम्वर उपलब्ध गराईएको थियो । नगर प्रमुख लक्ष्मीनरसिं बादेले नगरपालिकाले हरेक क्षेत्रमा नागरिकहरुलाई सहज र सरल बनाउने उदेश्यले योजना निर्माण, कार्यान्वयन र सहिजरकण गरिरहेको बताउँदै लैगिंक समानता तथा सामाजिक समावेशीकरणमा विशेष ध्यान दिएको बताउनु भयो । ‘धेरै काम भएको छ, प्रकृयागत तथा शिर्षकमा शब्द नमिलेकै कारण मात्रै प्रतिशतमा कम देखिएको छ’– नगर प्रमुख लक्ष्मी नरसिं बादेले भन्नुभयो–‘जनप्रतिनिधि निर्वाचित भए लगत्तै नीति, नियम र कानुन निर्माणमा समय खर्चिएकाले केहि अभाव जस्तो देखिएको बताउनु भयो ।’
लैगिंक समानता तथा सामाजिक समावेशीकरणको सुचक विश्लेषण गर्दै उपप्रमुख रेखा सापकोटा दाहालले नगरपालिकाले महिला तथा बालबालिका र युवाहरुका लागि योजनाबद्ध रुपले कार्य गरेको बताउनु भयो । ‘युवायुवतीहरुका लागि समुह गठन, किशोरी शिक्षा, महिलाहरुका लागि क्षमता अभिवृद्धी तथा शिप सिकाई, जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिहरुका लागि विशेष सहयोग र सहजिकरण गरिएको छ’–नगर उपप्रमुख रेखा सापकोटा दाहालले भन्नुभयो–‘सुचकमा रहेका धेरै प्रश्नहरुको उत्तर भए पनि अखिलेखीकरण नभएकाले प्रतिशतमा केहि कमी हुन गयो । आगामी दिनमा ६८ प्रतिशतलाई ८० भन्दा माथी जाने गरी कार्य गर्न कार्यदल गठन गरिनेछ ।’ नगरपालिकाले विकास निर्माण लगायत नागरिकहरुको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि योजनाबद्ध रुपले कार्य गरिरहेको नगर उपप्रमुख दाहालले भन्नुभयो ।
प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले नेपालमै पहिलो पटक बनेपा नगरपालिकाले लैगिंक समानता तथा सामाजिक समावेशीकरण सम्वन्धी स्वमुल्याकन सार्वजनिक गरिएको बताउनु भयो । ‘धेरै सुचकहरु पुरा भएका छन्, त्यसलाई अझै ब्यवस्थित गरि सुचकांकका धेरै शर्तहरु पुरा गरिनेछ’–प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले भन्नुभयो –‘नगरपालिकाले नीति, कानुन र योजना, संस्थागत विकास, मानव शंसाधन तथा क्षमता विकास, सेवा प्रवाह र सुशासन तथा उत्तरदायित्व सम्वन्धी कार्यलाई प्राथमिकतामा साथ अघि बढाएको छ ।’ स्वमुल्यांकन सार्वजनिकीकरण कार्यक्रममा वडाअध्यक्षहरुले प्रकृयागत केहि कमिकमजोरी भए पनि धेरै कार्य भईरहेको बताएका छन् । वडा अध्यक्ष बलराम अधिकारी, शाखा प्रमुख धु्रर्वराज नेपालले अभिलेखीकरणलाई प्राथमिकता राख्नु पर्ने बताउनु भएको थियो ।
बालशक्ति नेपालका अध्यक्ष सुस्मा पोखरेल र नविन घिमिरेले तालिममा सहजिकरण गर्नु भएको थियो । बनेपा नगरपालिका महिला शाखा विजया सुवेदी र निर्मला कार्की लगायतले सरोकारवाला संघ संस्थाहरुका प्रतिनिधिहरु सहभागि थिए ।









