धुलिखेल/नेकपा एमालेको सरकार अथार्त केपी ओली नेतृत्वको सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी भएको छ । तर वर्तमान गठबन्धन नेतृत्वको सरकारले नागरिकहरुले अस्पतालबाट लिएको स्वास्थ्य बीमा बापतको सेवाको रकम अझै भुक्तानी गरेको छैन । सरकारले भुक्तानी नगरेकै कारण केहि अस्पतालले नागरिकहरुलाई दिएको सेवा बन्द गरेका छन् भने केहिले साँघुरो बनाएका छन् । जिल्लाकै सबै भन्दा धेरै धुलिखेल नगरपालिका भित्रका ७०.५४ प्रतिशत नागरिकको स्वास्थ्य बीमा गरिएको छ ।
धुलिखेल नगरपालिकाले स्वस्थ शहर कार्यक्रम घोषणा गरेको छ । नगरपालिका प्रमुख अशोक ब्याञ्जुले हरेक नागरिकहरुको स्वास्थ्य बीमा गरी नागरिकहरुलाई स्वस्थ राख्न खानपान, रहनसहन तथा अन्य कृयाकलापमा परिवर्तन गराई नागरिकहरुको आर्थिक स्तर बृद्धि गर्ने योजना अनुरुप स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाईएको बताउनु भयो । उहाँले नगरपालिकाले विपन्न नागरिकहरुको बीमा रकम ब्यहोर्ने गरी कार्यक्रमलाई प्रभावकारी बनाउन लागिएको बताउनु भयो । सरकारको असहयोगको बाबजुत नागरिकहरुमा प्रभावकारी बन्दै गएको स्वास्थ्य बीमा कार्यक्रम काभ्रेपलाञ्चोक जिल्लाका १ लाख ५ हजार ८२ नागरिकले बीमा गरेका छन् । बीमा बापत नागरिकहरुले ११ करोड ३५ लाख ४३ हजार ४ सय रुपैयाँ संकलन भएको छ । बीमाका लागि ११ हजार ४१ परिवारले नयाँ दर्ता गरेका छन् भने नविकरण ९ हजार ५ सय ३५ परिवारले गरेका छन् । बीमा गरिएका मध्ये जेष्ठ नागरीक विमित सदस्यहरुको संख्या ६ हजार २ सय ८८ जना, महिला स्वंसेवीका विमित सदस्यहरुको संख्या ४ सय ३५ परिवार, एचआईभी एड्स लागेका ५३ परिवार, कुष्ठ रोग लागेका २४ परिवार, पूर्ण अपाङ्ग भएका ४ सय ९ परिवार र एमडिआर टिबी भएका २ परिवारका गरी १ लाख ५ हजार ८२ नागरिकको बीमा भएको हो । अझै केहि पालिकाहरुमा बीमा अभिकर्ताहरु बीमा गराउन नगएका कारण नागरिकहरुले बीमा गराउन पाएका छैनन् ।
जिल्लामा बनेपा नगरपालिकामा २३ हजार ३ सय ११, धुलिखेलमा २२ हजार ६ सय ८९, पनौतीमा १७ हजार १ सय १४ जना, पाँचखालमा १२ हजार ९ सय ६ जना, मण्डनदेउपुरमा १० हजार २ सय ४९, नमोबुद्धमा ५ हजार ९ सय ८६ जनाले बीमा गराएका छन् भने भुम्लु गाउँपालिकामा ३ हजार ६ सय १० जना, रोशीमा २ हजार ४ सय ५७ जना, बेथान्चोकमा २ हजार ८७ जना, चौरीमा १ हजार ६ सय २८ जना, तेमालमा १ हजार ३ सय ५२ जना, महाभारतमा १ हजार ७० जना र खानीखोलामा ६ सय २४ जनाले बीमा गराएका छन् । जिल्लामा ३ लाख ५२ हजार ६ सय ७ जनसंख्यामा १ लाख ५ हजार ८२ अथार्त २९.८० प्रतिशत नागरिकको स्वास्थ्य बीमा भएको छ । सबैभन्दा धेरै धुलिखेलका ७० प्रतिशत नागरिकहरुको स्वास्थ्य बीमा भएको छ भने खानीखोलामा ४ प्रतिशत नागरिकको बीमा भएको छ ।









