2026 August 22/ 01:20: 23am

विद्यार्थी भर्ना हुनै आएनन्
    अघिल्लो वर्ष विभिन्न कार्यक्रममा ४० जना विद्यार्थी भर्ना हुन नआउँदा सिट खाली राखेरै अध्ययन गराएका क्याम्पसहरुमा यो वर्ष १ हजार ७ सय ९० सिट मध्ये ५ सय ८२ सिटमा विद्यार्थी भर्ना हुन आएका छैनन् । सबैभन्दा धेरै विएस्सी नर्सिङ्ग कार्यक्रममा ३ सय ९ जना विद्यार्थी भर्ना भएनन् । अनुमति पाएका १० वटा क्याम्पस मध्ये २ देखि ९ जना विद्यार्थी भर्ना भएका छन् । भर्ना भएका मध्ये अधिकांश छात्रबृत्तिका छन् ।  काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साईन्सेस अन्र्तगतका कलेजहरुमा आब्हान गरिएका सिटहरुमा विद्यार्थीहरु भर्ना हुन आएका छैनन् । उच्च शिक्षा आयोगले विश्वविद्यालयको अधिकार कटौती गर्दै भर्नाका कार्यक्रमहरु ढिलाई गरेसँग विद्यार्थीहरु अन्य मुलुकतर्फ आकर्षण हुन थालेका छन् । भर्ना आब्हान गरिएका १७९० सिट मध्ये १२०८ जना विद्यार्थी मात्रै भर्ना भएका छन् । कुनैकुनै तहमा त ६ जना विद्यार्थी मात्रै एउटा क्याम्पसमा भर्ना भएका छन् । 
    काठमाडौं विश्वविद्यालय अन्तर्गत ९ वटा क्याम्पसमा एमविविएस तहमा खुलेको भर्नामा ८ सय ८८ जना विद्यार्थी मात्रै भर्ना भएका छन् । चिकित्सा शिक्षा आयोगले ९ वटा क्याम्पसका लागि ९ सय सिटमा भर्ना गर्न सक्ने कोटा तोकी विद्यार्थीको नामावली प्रकाशन गरेको भए पनि १२ जना विद्यार्थीहरु एमविविएस तहमा भर्ना हुनै आएनन् । कुम्समा १ जना, विएमसीमा ४ जना, एनओएमसीमा २ जना, केएमसीमा १ जना, एनजिएमसीमा २ जना र एमसिओएमसमा २ जना विद्यार्थी भर्ना हुन नआएका हुन् । विश्वविद्यालय मातहतका कलेजमा भर्ना हुन नआएका सिटहरु खाली नै रहे पनि अन्य विद्यार्थीलाई भर्ना गर्ने अवसर चिकित्सा शिक्षा आयोगले उपलब्ध गराएको छैन । केहि कलेजमा विदेशी विद्यार्थीको सिटमा शुन्य भएको छ । समयमै चिकित्सा शिक्षा आयोगले विद्यार्थीहरुको परीक्षा लिएर अध्ययन गर्ने अवसर उपलब्ध गराएको भए उक्त सिटहरु खाली हुने सम्भावना हुँदैन थियो । ‘नेपालमा उच्च शिक्षाको बास्केटमा विश्वविद्यालयले उत्पादन गरेको सख्या थोरै होला’–विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले भन्नुभयो–‘गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादनमा विश्वविद्यालयले पु¥याएको योगदान अतुलनिय छ ।’ मुलुकका लागि आवश्यक पर्ने शैक्षिक जनशक्ति काठमाडौं विश्वविद्यालयले उत्पादन गरेको बताउँदै उपकुलपति डा. थापाले पछिल्लो समय विश्वविद्यालयको अधिकार कटौती हुँदै विद्यार्थी भर्ना समेत हुन नसकेको दृष्टान्तका बारेमा भएका सरोकारवाला पक्षहरुले समयमै ध्यान दिनु पर्ने उहाँले बताउनु भयो । ‘राजधानीमा पाउने बस्तुको मुल्य र अन्यत्र फरक हुन सक्छ’–उपकुलपति डा. भोला थापाले भन्नुभयो–‘सबै क्षेत्रमा प्राप्त हुने सेवा र बस्तुलाई एउटै डालोमा राखेर गरिने निर्णयले शैक्षिक क्षेत्र धरासयी हुने छ ।’ अघिल्लो वर्ष विश्वविद्यालयले प्राप्त गरेको सिटमा विभिन्न विद्यामा ४० जना विद्यार्थी भर्ना भएका छैनन भने यो वर्ष झण्डै विश्वविद्यालय र विश्वविद्यालय अन्र्तगतका क्याम्पसमा गरी ५ सय ८२ सिट अझै खाली रहेको उपकुलपति थापाले बताउनु भयो । 
    विश्वविद्यालय अन्र्तगत हालसम्म भर्ना हुन बाँकी एमविविएस कार्यक्रममा १२ जना, विडिएसमा ८८ जना, विएससी नर्सिङ्गमा ३ सय ९ जना, विएनएस एण्ड वि मिडमा २८ जना, ल्याब मेडिसिनमा १८ जना, ल्याब मिटमा १९ जना, विपिटीमा १ सय ८ जना गरी ५ सय ८२ जना विद्यार्थी भर्ना हुन आएका छैनन । उनिहरु मध्ये अधिकांश अन्य मुलुकमा नाम निकालेर अध्ययनका लागि गैसकेका छन् । विश्वविद्यालय अन्र्तगत सबै भन्दा धेरै विएिससी नर्सिङ्ग कार्यक्रममा विद्यार्थीहरु भर्ना हुन आएका छैनन । अधिकाश कलेजमा १० जना विद्यार्थी कटेका छैनन । ४० सिट क्षमता भएका कलेजहरुमा २ जना विद्यार्थी भर्ना भएसँगै कलेज बन्द हुने अवस्थामा पुगेका छन् । विएससी नर्सिङ्गका लागि शिर मेमोरियलमा ४ जना, केयु एसएमएसमा ५ जना, विएमसीमा २ जना, एलएमसीमा ६ जना, एनओएमसीमा ४ जना, एनएमसीमा ५ जना, केएमसीमा ६ जना, एनजिएमसीमा २ जना, सिओएमएसमा ८ जना र एमसिओएमसमा ९ जना विद्यार्थी भर्ना भएका छन् । ति मध्ये भर्ना भएका अधिकांश विद्यार्थीहरु छात्रबृत्ति अन्र्तगतका मात्रै हुन् । विएससी नर्सिङ्गमा ४४ जना विद्यार्थीले छात्रबृत्तिमा अध्ययन गर्न पाउने छन् । हालसम्म ५१ जना विद्यार्थी भर्ना भएका छन् । 
    ल्याब मेडमा २० जना विद्यार्थीमा २ जना मात्रै भर्ना भएका छन् । उनिहरु दुबैजना छात्रबृत्तिका हुन् । विएसी अन्र्तगतकै एमआईटी कार्यक्रममा २० वटा सिटमा १ जना भर्ना भएका छन् । उनि पनि छात्रबृत्तिकै हुन् । विपिटी कार्यक्रममा १ सय ३० वटा सिटमा २२ जनाले मात्रै भर्ना गरेका छन् । कलेज संचालकहरु विद्यार्थी नै भर्ना नभए पछि कलेज बन्द गर्ने कि संचालन गर्ने भन्ने दोधारमा छन् । काठमाडौं विश्वविद्यालय र त्यस अन्तर्गतका कलेजहरुमा अहिले पनि विद्यार्थीहरुले अध्ययन गर्न पाएका छैनन् । चिकित्सा शिक्षा आयोगले परीक्षा लिन थाले पछि कलेजमा तोकिएका सिटमा विद्यार्थीहरु भर्ना हुने र अध्ययन गर्ने क्रम घट्न थालेको तथ्याङ्कले देखाएको छ । आयोगले स्वार्थ सहितको निर्णयहरु गर्ने र कार्यान्वयनमा ढिलाई गर्ने कारण विद्यार्थीहरुले अन्यत्र कलेजमा अध्ययन गर्न थालिसकेकाले नाम निस्किएर पनि भर्ना हुन नआएका हुन् ।