2026 August 22/ 11:48: 22pm

मोतीराम तिमल्सिना
धुलिखेल

घटना १
    जिल्ला अदालत धुलिखेलमा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गरेका मण्डनदेउपुर नगरपालिका घर भएका एक ब्यक्ति श्रीमतीलाई अंश दिन तयार भए । दुबै जना अलग हुन सहमत भए । १५ वर्ष अघि विवाह गरेको उक्त जोडीबाट जन्मिएकी ९ बर्षिया छोरी आमासँग बस्न चाहन्छिन् । अदालत परिसर भित्रै छोरीले आमा म तपाईसँग बस्छु जसरी पनि राख्नुस् न प्लिज भन्दै रोईकराई गर्छिन् । आमाले उनको चित्कारलाई वास्ता गर्दिनन् । छोरीले बाबासँग बस्न पनि मन गर्दिनन् । बाबासँग नबस्ने, आमाले नराख्ने । यस्तो संकटमा हुर्किएका सन्तानको भविष्यको सुरक्षा ? सम्बन्ध विच्छेद पछि उब्जिएको यो प्रतिनिधिमूलक घटना हो । 

घटना २
    काभ्रेको रोशी गाउँपालिका घर भई राजधानीमा डेरा गरी बस्ने एक परिवार विवाहको २० वर्ष पछि सम्बन्ध विच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दर्ता भयो । विवाह गरेको केहि महिना देखि अलग भएका बाबुको अनुहार नदेखिकी १७ बर्षिया छोरीले अदालतमा बाबुलाई कयौं पटक विन्ति गरिन् । प्लिज बाबा आमा र मलाई नछाड्नस न । मैले आजसम्म कसैलाई बाबा भन्नै पाएको छैन । बल्ल चिनें । चिने लगत्तै तपाईलाई गुमाउनु पर्दाको पीडा ब्यक्त गर्न सक्दिनँ । आमाले तपाईको पर्खाईमा कति दुःख ब्यहोर्नु भयो होला ब्यक्त गरि साध्य छैन । बाबाले मान्दै मानेनन् । कुनैपनि हालतमा उनि अलग हुन चाहेका थिए । छोरी र आमाको कुरा नसुनेका उनले सम्बन्ध विच्छेद गरी अलग हुन चाहेको बताए । जन्मेका सन्तानले बाबु समेत भन्न नपाउने परिस्थितिको १७ वर्ष पछि अलग हुने निर्णयले समाजको अर्काे चरित्र उदांगो भएको छ । 

घटना ३
    तेमाल गाउँपालिका घर भई २००१ देखि बैदेशिक रोजगारीमा गएका एक युवक श्रीमतीको खोजीमा छन् । उनको छोरी १९ बर्षकी भईन् । बैदेशिक रोजगारबाट पटक पटक पठाएको रकम पनि छैन श्रीमती पनि छैनन् । श्रीमतीको खोजविन गरी सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका युवकले २ वर्ष देखि अदालतबाट न्याय नपाएको बताएका छन् । श्रीमती सँगै बस्न पनि नचाहने, सम्बन्ध विच्छेद पनि नदिने ? दुई वर्ष देखि लगातार अदालत धाईरहेका युवकले श्रीमतीकै कारण दुःख पाएको बताए । सम्बन्ध विच्छेदका लागि दर्ता गरेको मुद्दामा १४ पटक पेशी तोकिँदा पनि फैसला हुन नसकेको, श्रीमतीले म्याद नबुझेको, प्रतिउत्तर नलगाएको, पत्रपत्रिकामा समेत सुचना प्रकाशन गर्दा समेत न्याय पाउन नसकेको बताए । अदालतले पुनः अंशको संरक्षण गर्नुपर्ने भएकाले त्यसको लागि आदेश जारी गरेको छ । उनि तिनै श्रीमती चाहन्छन् । श्रीमती बस्न नचाहे अंश पनि दिन चाहन्छन् । त्यो दुवै नदिएकी श्रीमतीले अड्को थापेर संकटमा पारेकाले तत्कालै सम्बन्ध विच्छेद मार्फत न्याय चाहिएको बताएका छन् । 
अदालतमा दर्ता भएका कयौं सम्बन्ध विच्छेदका घटनाहरुका यि प्रतिनिधि मात्रै हुन् । जिल्ला अदालत काभ्रेपलाञ्चोकले गरेको अध्ययनमा पनि सम्बन्ध विच्छेद पछिका समाजका विविध समस्याहरुको उजागार गरेको छ । मुलुकी ऐन, २०२० लाई प्रतिस्थापन गर्दै मुलुकी देवानी संहिता, २०७४ लागु भए पश्चात् पुरुषहरू समेतले सम्बन्ध विच्छेद मुद्दाहरू दर्ता गर्ने क्रम बढेको छ । सम्बन्ध विच्छेद हुनुको कारण, दर्ता भएपछिका अदालती प्रकृया, फछ्र्याैट हुँदा भएका केही निर्णयहरूको बारेमा तथ्याङ्क संकलन गरी विश्लेषण गरिएको उपसचिव श्रेस्तेदार गोविन्दप्रसाद घिमिरेले बताउनु भयो । जिल्ला अदालतमा पछिल्लो ५ वर्षमा औसत फैसला भएका मुद्दाहरुमा ८६ प्रतिशत सम्बन्ध विच्छेदका रहेका छन् । २०७३ श्रावण देखि २०७८ बैशाख मसान्त सम्मदर्ता भई फैसला भएका १ हजार १ सय ७७ थान मुद्दाहरू मध्ये अदालतको अभिलेख शाखामा उपलब्ध भएका १ हजार ६ थान सम्बन्ध विच्छेद मुद्दाको फैसला भएका मिसिलहरू अध्ययन गरिएको थियो । यो फैसला भएका मुद्दाहरूको करिब ८६ प्रतिशत हो । 
    विहावारीको महलको २ नम्बरको ९ दफामा वा ४ नम्बरमा लेखिएको र देहायको अवस्थामा बाहेक लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद हुन सक्दैन । त्यस्तो अवस्था परी सम्बन्ध विच्छेद गर्नु परेमा पनि कारण खोली निवेदन गरी अदालतबाट निर्णय भएपछि सो निर्णय बमोजिम मात्र सम्बन्ध विच्छेद हुन सक्छ । स्वास्नीले लोग्नेलाई मन्जुरी बेगर लगातार तीन वर्ष वा सो भन्दा बढी समयदेखि छोडी अलग बस्ने गरेमा वा लोग्नेको ज्यान जाने, अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको काम वा जाल प्रपञ्चा गरेमा वा स्वास्नीलाई निको नहुने यौन सम्बन्धी कुनै रोग लागेमा वा स्वास्नीले परपुरुषसँग करणी गराएको ठहरेमा त्यस्ती स्वास्नीसित लोग्नेले आफ्नो सम्बन्ध बिच्छेद गर्न पाउँछ । 
    लोग्नेले अरू स्वास्नी ल्याएमा वा राखेमा वा स्वास्नीलाई घरबाट निकालेमा वा खान लाउन नदिएमा वा स्वास्नीको खोज खबर नलिई हेर बिचार नराखी लगातार तीन वर्ष वा सो भन्दा बढी समयदेखि स्वास्नीलाई छोडी अलग बस्ने गरेमा वा स्वास्नीको ज्यान जाने, अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको काम वा जाल प्रपञ्च गरेमा वा लोग्ने नपुंसक हुन गएमा वा लोग्नेलाई निको नहुने यौन सम्बन्धी कुनै रोग लागेमा वा लोग्नेले परस्त्रीसंग करणी गरेको ठहरेमा वा जबर्जस्ती करणीको महलको ३ नम्बरको दफा ६ बमोजिम लोग्नेले स्वास्नीलाई जबर्जस्ती करणी गरेको ठहरेमा त्यस्तो लोग्नेसित स्वास्नीले आफ्नो सम्बन्ध विच्छेद गर्न पाउँछिन । यि बाहेक अरू अवस्थामा दुवै थरीको मञ्जुरी भएमा लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद हुन सक्छ । स्वास्नीले अर्कोसंग विवाह गरेमा त्यस्तो लोग्ने स्वास्नीको सम्बन्ध स्वतः विच्छेद हुन्छ । पति पत्नी दुवैले चाहेमा जहिले सुकै पनि पति पत्नीाको सम्बन्ध विच्छेद हुन सक्छ । जिल्ला अदालतमा फिरादीहरू मध्ये २० देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरू अत्यधिक छन ्। ४० वर्ष माथिका वादीहरूको संख्या न्यून छ । उनीहरूको औसत उमेर ३०.४१ वर्ष छ भने प्रतिवादीहरूको औसत उमेर ३२.९८ वर्ष छ । ७० वर्षभन्दा माथिका व्यक्तिले पनि सम्बन्ध विच्छेदको माग गरेका छन् । जिल्ला भित्रका पालिकाहरूमध्ये खानीखोला गाउँपालिकामा वसोवास गर्ने व्यक्तिहरूले सबैभन्दा कम प्रतिशत र पनौती नगरपालिकामा बसोबास गर्ने व्यक्तिले सबैभन्दा बढी प्रतिशत मुद्दा दायर गरेका छन् । तर त्यो भन्दा पनि बढी वादीहरूको संख्या जिल्ला बाहिरका छन् । गाउँपालिका मध्ये तेमाल गाउँपालिकाबाट सबैभन्दा बढी प्रतिशत मुद्दा दायर भएका छन् भने नगरपालिकाहरू मध्ये सबैभन्दा कम मण्डनदेउपुरका फिरादीहरू रहेका छन् । नमोबुद्ध नगरपालिका र पनौती नगरपालिकाका फिरादीहरूको संख्या अत्याधिक छ । 
    जातजातिका आधारमा मुद्दाको भार ५७ प्रतिशतभन्दा बढी मुद्दाहरू आदिवासी जनजातिहरूका छन् । ब्राम्हणहरू र क्षेत्रीहरू वादी भएका मुद्दाहरू करिब ३५ प्रतिशत छ । जिल्लामा जनजातिहरूको संख्या पनि बढी भएको हुँदा यो मुद्दाको भार स्वभाविकै देखिन्छ । समष्टिमा सम्बन्ध विच्छेद माग गर्ने महिलाको तुलनामा पुरूषहरूको अनुपात निकै कम छ । तर विवाहको प्रकृतिको आधारमा हेर्ने हो भने प्रेम विवाह गरेका पुरूषको तुलनामा सामाजिक विवाह गरेका बढी पुरूषले सम्बन्ध विच्छेद माग गरेका छन् । त्यस्तै प्रेम विवाह गरेका महिलाको तुलनामा सामाजिक विवाह गरेका कम महिलाले सम्बन्ध विच्छेद माग गरेका छन् । त्यसैले प्रेम विवाहमा पुरूष भन्दा महिलाले र सामाजिक विवाहमा महिलाभन्दा पुरूषले बढी अन्यायको अनुभूति गरेका छन् । हुन त विवाह भएको पहिलो वर्षमा नै सम्बन्ध विच्छेदको लागि फिराद गरेका छन् । विवाह भएको ६३ वर्षमा पनि फिराद गरेको पाइएको छ । तर विवाह भएको ५ देखि १५ वर्षको बीचमा अधिक सम्बन्ध विच्छेदको दावी पर्ने गरेको छ । विवाहदेखि सम्बन्ध विच्छेद मुद्दा दायर गर्दा सम्मको औसत समय भने १०.७६ वर्ष रहेको छ । विवाह भएको २० वर्ष पछि मुद्दा दायर गर्ने व्यक्ति भने निकै कम छन् । 
    अत्यधिक मात्रामा अर्थात् ८२.८० प्रतिशत फिरादमा शारीरिक वा मानसिक यातना दिएको कुरालाई सम्बन्ध विच्छेदको आधार बनाउने गरेका छन् । खान लाउन नदिएको वा घरबाट निकाला गरेको भन्ने विषय देखाएर सम्वन्ध विच्छेद गर्नेहरुको संख्या धेरै छ । सम्वन्ध विच्छेदका कारण समाजमा विचलन आउन थालेको छ । बालबालिकाहरुको मनोविज्ञानमा असर पर्न थालेको छ ।