नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन भोली शुक्रबारबाट चितवनमा शुरु हुँदैछ भने नेपाली काँग्रेसको जिल्ला अधिबेशन भोलि हुँदैछ । एमालेको महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि, सुभेच्छुक तथा पार्टी कार्यकर्ताहरु चितवन पुगेका छन् भने काँग्रेसको अधिबेशनका लागि निर्वाचित प्रतिनिधिहरुले जिल्ला नेतृत्व चयन गर्नेछन् ।
एमालेको महाधिवेशन ऐतिहासिक हुने बताईएको छ । तयारी तथा सहभागिताका हिसाबले पनि महाधिवेशन ऐतिहासिक बनाउन एमालेका नेताहरुको सक्रियता छ । केपी ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने गरी महाधिवेशनको तयारी शुरु गरिएको हो । एमालेका केहि नेताहरु पार्टी फुटाएर अलग भए पछि एमालेलाई पार्टी भित्र निर्विकल्प नेताका रुपमा लिएको छ । निर्विकल्प नेतासँगै आगामी निर्वाचनबाट पुनः एकपटक मुलुकको नेतृत्व गर्ने गरी अघि सार्ने योजनामा एमालेका नेताहरु लागेका छन् । एमालेका अन्य पदहरुमा पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ । नीति र विचारको महाधिवेशन यसअघि सम्पन्न गरिसकेको नेकपा एमालेले चितवनमा गर्ने महाधिवेशनलाई हरेक हिसाबले ऐतिहासिक बनाउने गरी तयारी गरेको हो ।
‘दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकताको अन्त्य गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौँ’ भन्ने नाराका साथ एमालेको महाधिवेशन सम्पन्न हुँदैछ । झण्डै ५ लाख कार्यकर्ता सहभागी गराउने महाधिवेशनको लोगोमा गैँडाले पार्टीको झण्डा बोकेको छ । झण्डा सार्वजनिक कार्यक्रमा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई, स्थायी कमिटी सदस्य विष्णु रिमाल, केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ, प्रचार विभाग उपप्रमुख सूर्य थापा, बागमती प्रदेश अध्यक्ष आनन्द पोखरेल लगायतको उपस्थिति थियो । १० औँ राष्ट्रिय महाधिवेशनका लागि महाधिवेशन उद्घाटन स्थल चितवनको नारायणी किनार र बन्दसत्र स्थल सौराहा झकिझकाउ गराईएको छ ।
महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक एवं जनपरिचालन कमिटीका संयोजक सुरेन्द्र पाण्डेले ५ हजार स्वयंसेवक महाधिवेशनका लागि खटिएको बताउनु भएको छ । देशभरबाट बन्द सत्रमा झण्डै २ हजार ५ सय प्रतिनिधिहरुले नेतृत्व चयन गर्नेछन् । काभ्रेबाट केन्द्रिय सदस्य गोकुल बास्कोटाले सचिव र रेशम लामाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने तयारी छ । त्यस्तै मजदुर तर्फबाट उद्धव केसीले उम्मेदवारी दिने सम्भावना रहेको छ ।
जिल्ला सभापतिमा तीर्थ र अच्युतको प्रतिस्पर्धा
प्रदेश र प्रतिनिधि सभाको अधिबेशन सकिए लगत्तै नेपाली काँग्रेसको जिल्ला अधिबेशनमा कडा प्रतिस्पर्धा हुने भएको छ । क्षेत्र नम्वर १ मा तीर्थ लामा र क्षेत्र नम्वर २ मा अच्युत पौड्याल बलिया उम्मेदवारका रुपमा प्रस्तुत भएका छन् । भोली हुने जिल्ला अधिबेशनमा लामा र पौडेल बीच प्रतिस्पर्धा हुने भएको छ ।
‘महाधिबेशन प्रतिनिधिमा विजयी गराउनु भएकोमा धन्यवाद । अब म सभापतिमा उठ्छु’–उपसभापति समेत रहेका अच्युत पौडेलले भने–‘सभापतिमा मेरो उम्मेदवारी र हाम्रो समुहको तर्फबाट विजयी सुनिश्चित छ ।’ उता तिर्थ लामाले मसिंर १ गते तामझामका साथ सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका थिए । महाधिबेशन प्रतिनिधिमा निर्वाचित हुनु अगावै जिल्ला सभापतिमा लामाले उम्मेदवारी घोषणा गरी आफु बलियो उम्मेदवार भएको दावी प्रस्तुत गरेका थिए । फलस्वरुप उनले १ हजार ६१ मत ल्याई सर्वाधिक लोकप्रिय बने । ‘मेरो उम्मेदवारीले सिंगो काभ्रे काँग्रेसलाई एकतामा बदल्नेछ’–उम्मेदवार तिर्थ लामाले भने–‘टिम शशक्त भएकाले जित निश्चित छ ।’ नेपाली काँग्रेसमा पहिलो पटक तामाङ समुदायबाट लामाले सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् । सभापति उठ्ने चर्चा भएका तिर्थ पसखललाई भने महाधिबेशन प्रतिनिधिमा नै पराजय गराएका छन् । आचार्य समुहका पसखल पराजय भए पछि अच्युत पौडेल निर्विकल्प उम्मेदवार भएका हुन् । अब शिव हुमागाई केन्द्रिय सदस्यमा, मधु आचार्य प्रदेशमा उठ्ने चर्चा छ ।
काँग्रेसका विजयी सभापतिहरु
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश सभा क मा केन्द्रिय सदस्य शिव हुमागाई निकट राम योञ्जन निर्विरोध निर्वाचित भएका छन् । योञ्जन हुमागाई निकट हुन् । जिल्ला सभापति मधु आचार्य समुहले उक्त क्षेत्रमा उम्मेदवारी नै दर्ता गर्न सकेन । सोहि प्रदेशका सबै पदाधिकारीहरु सर्वसम्वत भएका छन् । प्रदेश सभा ख मा हुमागाई निकट चन्द्रबहादुुर तामाङ र आचार्य निकट रोशनराज पाण्डे बीच प्रतिस्पर्धा भएको थियो । उक्त क्षेत्रमा हुमागाई निटक तामाङ विजयी भए ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को क मा हुमागाई समुहका हेमबहादुर तामाङ विजयी भएका छन् । त्यस्तै सोहि निर्वाचन क्षेत्रबाट प्रदेश सभा ख मा सभापति आचार्य समुहबाट रामहरी श्रेष्ठ वजयी भएका छन् । त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा दिनेश लामा र प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा सुन्दरमणी आचार्यले हुमागाई समुहबाट उम्मेदवारी दर्ता गराएका थिए । आचार्य समुहबाट क्षेत्र नम्वर १ मा विष्णुमाया पुलामी र क्षेत्र नम्वर २ मा महेश खरेलले उम्मेदवारी दर्ता गराएका थिए । पुलामीलाई दिनेश लामाले फराकिलो मतान्तरले पराजित गरेका छन् । दिनेश लामाको १०४१ मत प्राप्त भएको छ भने पुलामीको १ सय ३७ मत प्राप्त भएको छ । आचार्य समुहबाट उठेका केहि बाहेक अधिकांश पराजित भए । सचिव किशोरराज गिरी र विद्यासागर लामा अत्याधिक मतले विजयी भएका छन् । सहसचिव गणेश अधिकारी र पदमबहादुर लामा विजयी भए । सभापतिमा उम्मेदवार हुने चर्चा गरेका तिर्थ पसखल महाधिबेशन प्रतिनिधिमा पराजय भए । गणेश लामा र सिवी लामा आचार्य समुहबाट विजयी भए । आचार्य समुहबाट उम्मेदवार भएकाहरु मध्ये अधिकांशको लज्जासजनक पराजय भएको छ । कानुन विपरित शिक्षकहरु उम्मेदवार बनेका छन् । केहि शिक्षकहरु विजयी पनि भएका छन् । निर्वाचन आयोगले दल वा शिक्षक एक रोज्न अनुरोध गरिसकेको छ । डन भनिने बलराम सापकोटा ‘बले’ पनि आचार्य समुहबाट पराजय भएका छन् । केहि पदमा निर्विरोध भएको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा कडा टक्करका बीच आचार्य समुहका महेश खरेलले बीजय हासिल गरेका छन् । आचार्य समुहबाट अधिकांश पदाधिकारी, महाधिबेशन प्रतिनिधिहरु विजयी भएका छन् । हुमागाई समुहका ६ जना महाधिबेशन प्रतिनिधि विजयी भएका छन् भने १९ जना आचार्य समुहबाट विजयी भएका छन् । भोली जिल्ला अधिबेशनका लागि आचार्य समुहबाट सम्भवत अच्युत पौडेललाई उठाउने सम्भावना छ । यो समुहमा हुमागाई निकट प्रतिनिधिहरु कमजोर भए ।









