अपाङ्गता भएका ब्यक्तिहरुको पहिचानका लागि अनुरोध
धुलिखेल/कार्तिक २५ गतेबाट शुरु भएको १२ औं राष्ट्रिय जनगणना २०७८ प्रभावकारी बन्दै गएको छ । हरेक ब्यक्तिले सहि तथ्याङ्क उपलब्ध गराएर राष्ट्रिय जनगणना सफल बनाउन जिल्ला जनगणना कार्यालय काभ्रेका प्रमुख दिपक कोईरालाले अनुरोध गर्नु भएको छ ।
जनगणना २०७८ का बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कोईरालाले प्रत्येक घर घरमा आउने गणकहरुलाई सहि सुचना उपलब्ध गराउन अनुरोध गर्नु भएको हो । जिल्लामा ५ सय ११ जना गणकहरुले तथ्याङ्क कार्यालयले उपलब्ध गराएको फाराम भरिरहेको छ । फाराममा ८० वटा प्रश्नावली तयार गरिएको छ । सोहि प्रश्नावलीका आधारमा गणना भईरहेको कार्यालयले जनाएको छ । जिल्ला जनगणना कार्यालय, स्थानीय गणना कार्यालय स्थापना गरी सुपरिवेक्षक समेतको सहभागितामा जनगणना भईरहेको छ । राजनीतिक दल तथा विभिन्न संघ संस्था र तीनै तहका सरकारले जनगणना सफल बनाउन अनुरोध गरेका छन् ।
अपाङ्ग महासंघको आग्रह
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार संरक्षण र प्रबर्धनका लागि वि.स. २०५० सालदेखि निरन्तर कृयाशिल अपाङ्गता भएका व्यक्तिहरूको एक मात्र राष्ट्रियस्तरको छाता संस्था हो । यस महासंघको संरचनामा संघीय समिति र सातै प्रदेश समिति रहेका छन् भने ३ सय ३१ वटा भन्दा बढी सदस्य संस्थाहरू रहेका छन् । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशले विगत १ वर्ष देखि राष्ट्रिय जनगणनाको २०७८मा सवै प्रकारका अपाङ्गता भएको व्यक्तिहरुको सहि गणना सहि तथ्थाङ्क ल्याउनको लागि संघ प्रदेश स्थानिय तह सम्म निरन्तर पैरवी गर्दै आएको छ सँगै विभिन्न सुचनामूलक सामाग्रीको निर्माण गरी बागमती प्रदेश भरि नै प्रचार प्रसार गर्दै आएको छ । नेपालमा वि.स. १९६८ देखि राष्ट्रिय जनगणना हुन थालेको भएता पनि अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क लिन वि.सं. २०५८ देखि मात्र सुरु भएको हो । गत १० वर्ष अगाडि भएको जनगणनामा देशभर जम्मा ५,३१,३१३ जना मात्र अपाङ्गता भएका व्यक्तिहरू रहेको तथ्याङ्क उपलब्ध भयो । तर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन, अनुसन्धान तथा विवरणले हाम्रो जस्तो विकासोन्मुख देशमा १० देखि १५ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू हुने अनुमान गरेको छ भने माथिको तथ्याङ्कको आधार हेर्ने हो भने नेपालमा अपाङ्गता भएको व्यक्तिहरु २०५८ धेरै नै छुटिएको देखिन्छ । त्यसकारण राज्यले अवलम्बन गर्ने कुनै पनि नीति, योजना तथा कार्यक्रममा लक्षित वर्ग वा नीति कार्यक्रमले समेट्ने समुदायको जनसंख्या कति छ, हालसम्म अपाङ्गता भएका व्यक्तिहरू प्रति राज्यले गरेको लगानी अनुमानको भरमा आवश्यकताको पहिचान नगरी अनुत्पादक रूपमा खेर गएको अवस्था छ । नेपालमा हामीले गहन तरिकाले विश्लेषण गर्ने हो भने नीतिगत तहमा प्रभाव पार्न सक्ने गरी कुनै पनि ठाउँमा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता हुन सकेको छैन । यसको मूल कारण अपाङ्गता भएका व्यक्तिहरूको यकिन तथ्याङ्क नहुनु नै हो ।
राज्यले बनाउने हरेक योजना तर्जुमा र नीति नियमलाई अपाङ्गता मैत्री बनाउनको निम्ति अपाङ्गता भएका व्यक्तिहरु सहि पहिचान सहि तथ्याङ आवश्यकता पर्ने भएको हुनाले आजबाट हुँदै गरिएको (कात्तिक २५ देखि मंसिर ९ गतेमा हुने) १२ औ राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गगता भएका व्यक्तिहरुको सहि पहिचान सहित सहि तथ्याङ्क ल्याउनको लागि सम्पूर्ण सरकारी तथा गैरसरकारी संघ–संस्थाहरु, नागरिक समाज, संचारकर्मीहरु अपाङ्गता भएका व्यक्तिहरु विशेष गरी सुपरवेक्षक गणकहरुले अहम भुमिका निभाई सबै प्रकारका अपाङ्गगता भएको व्यक्तिको सहि तथ्याङ्क ल्याउनको लागि सहयोग गरिदिनु राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अनुरोध गरेको अध्यक्ष अश्विन लम्सालले अनुरोध गर्नु भएको छ ।









